नवजात शिशुलाई भेट्नुअघि ध्यान दिनुहोस यी कुरामा...



Download our app to get more features

नवजात शिशु भन्ने वितिक्कै उसलाई विशेष हेरचाहको आवश्यकता हुन्छ । यदि शल्यक्रिया गरेर जन्मेको शिशु हो भने उसलाई कुनैपनि सङ्क्रमण छिटै हुन सक्ने सम्भावना हुन्छ भने सामान्य जन्मेको नवजात शिशुलाई पनि जोखिम उच्च हुन्छ । त्यसकारण नवजात शिशुको विशेष हेरचाहमा सबैले ध्यान दिनुपर्छ । 

नवजात शिशुको अवस्था निकै संवेदनशील हुने भएकाले उनीहरूलाई भेट्नुअघि विशेष ध्यान पुर्याउनुपर्छ । तपाईं पनि यदि नवजात शिशुलाई पहिलो पटक भेट्दै हुनुहुन्छ भने भेट्नु अगाडी केही महत्वपूर्ण विषयमा विचार पु¥याउनुहोस् । नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.लव कुमार साह नवजात शिशुलाई भेट्नुअघि यी कुरामा ध्यान दिन सुझाव दिन्छन्ः 

  • नवजात शिशु र उसको परिवारलाई भेट्नुपूर्व तपाईंले आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ । कारण, तपाईंलाई यदि रुघाखोकी वा अन्य कुनै रोग लागेको छ भने त्यसको सङ्क्रमण शिशुलाई पनि हुन सक्ने सम्भावना बढी हुन्छ । त्यसकारण त्यस अवस्थामा तपाईंले शिशुलाई नछुनु नै राम्रो हुन्छ भने उसलाई अस्पतालमा भेट्न नगएकै राम्रो ।
  • शिशु जन्मेपछि ६ देखि ७ सातासम्म शिशुको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ । तसर्थ, बच्चाको नजिक पुग्दा वा बच्चालाई हेर्दा तपाईंको हातखुट्टा राम्रोसँग साबुन पानीले धुनु पर्छ ।
  • बच्चाको पहिलो पटक मुख हेर्दा पैसा दिने प्रचलन हाम्रो समाजमा अझैपनि विद्यमान छ । पैसा चलायमान वस्तु हो । त्यसैले यसमा रोगका किटाणुहरू हुन सक्छन् । जसबाट बच्चामा विभिन्न किसिमको सङ्क्रमण हुने डर हुन्छ । तसर्थ, यो चलनलाई आजैबाट निरुत्साहित गर्नु जरुरी छ ।
  • शिशुलाई भेट्दा न्यानो, सफा र सुती वा ऊनीको लुगा लैजानुहोस् । लुगा एकचोटि धोएर इस्त्री गरेर लगेको खण्डमा माडको एलर्जी कम हुन्छ । यदि लुगा लिएर जाने सोच बनाउनुभएको छ भने बच्चाको छालालाई उपयुक्त हुन्छ वा हुन्न भन्ने विषयमा पनि ख्याल पु¥याउनुहोस् । 
  • शिशु भेट गर्नुअघि चुरोट–बिडी लगायत सुर्तिजन्य पदार्थ उपभोग नगर्नुहोस् । यदि चुरोट पिउनुभएको छ भने मुख बेस्सरी कुल्ला गर्नुहोस् । किनकि, तपाईंको मुखको गन्धले शिशुलाई असर गर्नसक्छ । 
  • बच्चालाई चुम्बन पनि नगर्नुहोस् । तपाईंको मुखमा भएको ब्याक्टेरिया शिशुमा सर्ने प्रबल सम्भावना हुन्छ । नवजातलाई गन्धप्रति त्यति कडा चेतना नभए पनि शरीरमा अत्यधिक अत्तर छर्केर जाँदा शिशुलाई एलर्जी हुने भएकाले सकभर अत्तर छरेर नजानुहोस् ।

 


(डा. साह मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्राध्यापक हुनुका साथै प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत छन् ।) 
 

Last modified on 2023-07-05 08:50:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts