पाठेघरको क्यान्सर रोक्न १० हजार रुपैयाँको खोप !

What's This?


Download our app to get more features

काठमाडौं: सरकारले पाठेघरको मुख वा यौन अंगमा हुने क्यान्सर रोकथामका लागि नेपाली बालिकाहरूलाई आगामी फागुनदेखि सबैभन्दा महँगो र प्रभावकारी मानिएको खोप लगाउने भएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र ग्लोबल अलाइन्स फर भ्याक्सिनेसन्सको सहयोगमा एचपीबी (ह्युमन प्यापिलोमा भाइरस) नामक खोप निःशुल्क रूपमा दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका अनुसार गत वैशाखमै सुरु गर्ने भनिएको एचपीभी कार्यक्रम भूकम्प, तराई आन्दोलन, भारतीय अघोषित नाकाबन्दीलगायतका कारण झन्डै ११ महिना पर सरेको हो । 

 

चिकित्सकका अनुसार एचपीभी भविष्यमा भारसका कारण पाठेघरको मुख वा यौन अंगमा हुन सक्ने क्यान्सरबाट बचाउने प्रभावकारी माध्यम हो, जुन विदेशमा लामो समयदेखि लगाउँदै आइएको छ । 

महाशाखाअन्तर्गतको खोप शाखाका प्रमुख मुकुन्दप्रसाद गौतमले गाभीले निःशुल्क प्रदान गरेको १७ हजार ६ सय भाइल एचपीभी खोप नेपाल आइपुगेको बताए । ‘मुलुकको वातावरण असहज हुँदा दाताबाट समयमै खोप आउन सकेन,’ उनले भने, ‘अब त खोप आइसकेको छ, लगाउनका लागि हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ । बेल्जियमको ग्लास्कोमिथेक्लिन बायोलोजिकल एसएबाट ल्याइएको खोप पहिलो चरणमा चितवन र कास्कीका कक्षा ६ मा अध्ययनरत र विद्यालयबाहिर रहेका नौदेखि १४ वर्ष उमेरका बालिकालाई एचपीभी दिन लागिएको हो ।'

गौतमले भने-'उक्त खोप पहिलो चरणमा कास्की र चितवनका १५ हजार बालिकालाई ६/६ महिनाको अन्तरमा दुईपटक दिइन्छ । अत्यन्त महँगो खोपको सूचीमा पर्ने यो खोपको एक डोजको मूल्य करिब १० हजार रुपैयाँ पर्छ । पाठेघरको मुखको क्यान्सरबाट सबैभन्दा धेरै नेपाली महिलाको ज्यान जाने गरेको छ । हरेक वर्ष ६ हजार महिलाले पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउने गरेको चिकित्सकको अनुमान छ ।'

उक्त खोप अमेरिका, क्यानडा, श्रीलंका, भुटानलगायत विश्वका ६० वटा मुलुकमा प्रयोग भइरहेको डब्लूएचओको केन्द्रीय कार्यालय जेनेभाका टेक्निकल अफिसर पाउल ब्लोइमले बताए । 

‘यौन क्रियाकलापमा संलग्न हुनुपहिले नै यो खोप लगायो भने महिला पाठेघरको मुखको क्यान्सरबाट बच्ने देखियो,’ डा. ब्लोइमले भने, ‘यो खोपको प्रयोग भइरहेका मुलुकमा उक्त क्यान्सर न्यूनीकरण भएको पाइएको छ ।’ उक्त खोपले ७० प्रतिशतभन्दा बढी पाठेघरको मुखको क्यान्सर रोक्ने गरेको नेपाल क्यान्सर केयर फाउन्डेसनकी महासचिव स्त्री क्यान्सर रोग विशेषज्ञ डा.सरिता घिमिरेले बताइन् ।

खोप लगाएपछि सामान्य दुखाइ, सुन्निने र ज्वरो आउनेबाहेक अन्य कुनै ठूलो प्रतिअसर अहिलेसम्म नदेखिएको डब्लूएचओले जनाएको छ । ‘यो अन्त्यन्तै महँगो खोप हो । कुनै पनि मुलुकका मानिसले किनेर लगाउने अवस्था छैन’, ब्लोइमले भने, ‘त्यसैले अन्तर्राष्ट्रिय समुदायले सबै मुलुकमा निःशुल्क हुनुपर्छ भन्नेमा जोड दिएका छन् । उक्त खोप कार्यक्रम प्रभावकारी भएमा मुलुकभरका बालिकालाई दिने योजनासमेत बालस्वास्थ्य महाशाखाले बनाएको छ ।'

पाठेघरको मुखको क्यान्सर ४० वर्ष उमेर समूहका महिलामा सबैभन्दा बढी देखिने गरेको छ । एचपीभी १६ र १८ भाइरसले यो क्यान्सर गराउँछ । नेपालमा सरकारी क्षेत्रबाट ठूलो अध्ययन नभए पनि छिमेकी भारतमा गरिएको अध्ययनमा यिनै भाइरस धेरै भेटिने गरेको छ । त्यसैले नेपाली महिलालाई उक्त क्यान्सरबाट बचाउन यो खोप महत्त्वपूर्ण मानिएको हो ।

खोपले मृत्यु भएको होइन:अध्ययन

झापामा तीन साताअघि खोप लगाएको चार दिनपछि मृत्यु भएका भनिएका बालकको खोपका कारण मृत्यु नभएको सरकारी अध्ययन टोलीले ठहर गरेको छ । 

नियाविरुद्धको पीसीभी र डीपीटीको पहिलो खोप लगाएका शन्तिनगर–१ का दुईमहिने शिशु सुलभ राईका मृत्यु भएको भन्दै परिवार र स्थानीय बासिन्दा आक्रोशित भएका थिए । 

सरकारले गठन गरेको ‘खोपपछि हुने अवाञ्छित घटना अध्ययन समिति’ का सदस्य डा. निशा भट्ट, बाल स्वास्थ्य महाशाखाका खोप कार्यक्रमका प्रमुख मुकुन्दप्रसाद गौतमलगायतको टोलीले घटनाको अध्ययनपछि यस्तो ठहर गरेको हो । 

अध्ययनअनुसार ती बालकको शरीरमा रगत जम्ने रोगका कारण मृत्यु भएको हो । उक्त घटनापछि झापामा बालबालिका तथा गर्भवतीलाई अनिवार्य गरिएको खोप सेवा तीन सातादेखि ठप्प भएको थियो । सेवा रोकिएपछि झापामा एक हजारभन्दा बढी नवजात शिशु नियमित खोप सेवाबाट वञ्चित भएका थिए ।

अन्नपूर्ण पोष्टमा दीपा दाहालले समाचार लेख्नुभएको छ । 

Last modified on 2016-02-14 11:07:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts