डा. सुधा शाहीका चार गजल
            
१.
मन यहाँ हैरान हैरान छ 
उ भने परेशान परेशान छ
सोच के छ मेरो उ जान्दैन
उसको भने के के अनुमान छ
सवथोक भएर पनि किन लाग्छ यस्तो 
जिन्दगी यति धेरै सुनसान छ 
मेरो मुुस्कान मात्र प्यारो उसलाई 
यो आँसुदेखि भने अन्जान छ 
न बोल्छ  न सुन्छ न देख्दछ 
उ उस्तै छ जस्तो मेरो भगवान छ
२.
उसले आफुले आफुलाई चिनेको छैन 
उसलाई लाग्दैछ कसैले उसलाई बुझेको छैन 
मुस्कुराएरै सुनिरहेछु उसका सारा कुराहरु
मलाई उसका कुरा मन परेको छैन 
किताबमा खोजिरहेँ केही गंभीर उत्तरहरु 
उसले पक्कै जिन्दगीलाई पढेको छैन 
निकै उज्याला देखिन्छन् घरका भित्ताहरु 
तर यहाँ उज्यालो कहिल्यै पसेको छैन 
ढुंगाहरुको मन इश्वर होइन आमा बनाउ
एउटा यस्तो मन जो कहिल्यै निभेको छैन 
३. 
अनौठो तरिकाले उत्सव मनाउँदैछ 
पिजडामा थुनेर रहरहरु फेरि उडाउँदैछ 
बडो गंभीरताका साथ सुनिरहेछन् सबै 
पक्कै कोही कथाको अन्त्य सुनाउँदैछ 
केही चुपचाप केही बोले झै गरिरहेछन् 
सायद कोही बोल्न हिम्मत जुटाउँदैछ 
उसलाई यति खुशी कहिल्यै देखिन 
मानौं खेलौना पाएर बालक रमाउँदैछ 
निकै समय पछि भेटेको छु आफुलाई 
बर्षौपछि मेरो ऐना मुस्कुराउँदैछ 
उदेश्य दुबैको एउटै रहेछ आखिर 
म खुशी थप्दैछु, उ दुख घटाउँदैछ
४. 
चढ्नेहरु पहाड चढेर पनि झरिसके 
सोच्नेहरु हिजोपनि सोच्दै थिए आज पनि सोचीरहे 
यो दिलको मामला बडो नाजुक हुँदोरहेछ 
कोही जितेर हारे कोही हारेर पनि जितिरहे 
हिजोसम्म तिमीलाई भुलाउनु थियो र पिएँ 
धेरै पनि आज तिमीलाई सम्झनाको लागि पिइरहेँ 
डा. सुधा शाही काठमाण्डौस्थित बीर अस्पतालमा कार्यरत छिन् । 
 
                
                
                                    
                        
                        
                        
                        
                        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                
                
                
                
                
Reporter
View Other Stories by Author >>