अपाङ्ग र ज्येष्ठ नागरिकको खुशी बटुल्दै वीर अस्पताल



Download our app to get more features

काठमाडौं, २० भदौ ।  एक ७६ वर्षीय वृद्ध वीर अस्पतालको प्राङ्गणमा छोराको प्रतीक्षा गरिरहेका थिए । धादिङ्ग उनको घर । विरामी भएपछि एकदिन अघिमात्र उपचारका लागि छोरासँग राजधानी आइपुगेका थिए । विरामी भएपनि उनको मुहारमा भने वेग्लैखालको उज्यालो थियो । हामीले ती वृद्धलाई भेट्यौ र सोध्यौं 'बुवा तपाईको उपचार भयो त ?' उनले खुसी हुँदै भने भयो बावु डाक्टरले औषधी लेखिदिनु भएको छ, औषधीले निको नभए ३ महिनापछि फेरि आउनु भन्नु भएको छ, अब घर फर्किने हो ।'

जो कोहीलाइ लाग्नसक्छ, वीर अस्पताल भनेपछि लथालिंग छ, सबैतिर भद्रगोल हुन्छ, लामो लाइन नबसी उपचार हुँदैन । सरकारी भएकाले विरामीको खासै वास्ता गरिदैन । अझ बूढा बूढीलाई त झन लाइनमा राखेर वीर अस्पतालमा उपचार गराउनै कठिन हुन्छ । वीर अस्पताल भन्दा वित्तिकै अहिलेपनि अधिकांशको मनमा यस्तै भ्रम उत्पन्न हुन्छ । तर वीर अस्पताल अब तपाईं हामीले सोचेजस्तो छैन । यहाँ वृद्धवृद्धाका लागि भनेर छुट्टै ओपीडी सेवा सञ्चालनमा ल्याइएको छ । सोही सुविधा अनुसार नै धादिङ्गका हर्कबहादुरले पनि समयमै उपचार गराएका हुन् ।

वीर अस्पतालले जेष्ठ नागरीक तथा अपाङ्ग वहिरंग सेवा सुरु गरेपछि गुरुङ्ग जस्ता धेरै वृद्धवृद्धाले सहजताको महशुस गरेका छन् । उपचारका लागि आउने वृद्धवृद्धा अस्पतालमा घण्टौ लाईन बस्नुपर्दैन । वीर अस्पतालले ज्येष्ठ नागरिक तथा अपाङ्गको सुविधालाई मध्यनजर गर्दै उनीहरुकै लागि भनेर २०६९ साल वैशाखदेखि जेष्ठ नागरीक तथा अपाङ्ग वहिरंग सेवा सुरु गरेको हो ।

१ वर्ष अगाडी सवारी दुर्घनामा परी खुट्टा गुमाएकी तनहुँकी रीता निरौलाले भनिन् 'सरकारी अस्पतालले यस्तो सेवा दिएकोमा आफूहरुजस्तालाई निकै सुविधा पुगेको छ । नियमित चेकजाँचका लागि आएकी उनी पनि लामो लाइन नबसी डाक्टरलाई भेट्न पाएकोमा खुशी थिइन् ।

अधिकांश विपन्न वर्गका विरामीहरु उपचारका लागि वीर अस्पताल आउने गरेका भेटिन्छन् । वीर अस्पतालमा विरामीहरुको चाप पनि अत्याधिक हुनेगर्छ । तर, सरकारी अस्पताल भइकन पनि विरामीहरुलाई प्रदान गर्ने सेवा र सुविधामा जस नपाएकोे यस अस्पतालले ज्येष्ठ नागरिक तथा अपाङ्ग विरामीहरुलाई लक्षित गरी यो सेवा सञ्चालनमा ल्याएपछि वीर अस्पताललाई हेर्ने आम मानिसको दृष्टिकोणमा परिवर्तन आएको छ ।

अस्पतालले सेवा विस्तार गर्दै जाने क्रममा जेष्ठ नागरिक तथा अपाङ्गलाई उपचारमा सहज होस् भन्नका लागि यो सेवा सुरु गरेको थियो  । वीर अस्पतालका निमित्त निर्देशक प्रा.डा. भुपेन्द्र बस्नेतले वीर अस्पतालमा लामो लाईन हुने र घण्टौ लाइन बस्नु पर्ने भएकोले जेष्ठ नागरिकलाई सहज होस् भन्नका लागि छुट्टै विभाग स्थापना गरी सञ्चालमा ल्याएको बताए । हाल वहिरंगमा दैनिक करीव १० देखि १५ जना उपचारका लागि आउने गरेको जेष्ठ नागरीक तथा अपाङ्ग वहिरंग विभागले जनाएको छ । विभागले हप्ताको ६ दिन सेवा दिदै आएको छ । 

यो सेवा सञ्चालनका सुरुका दिनमा ६५ वर्ष भन्दा माथिका नागरिकलाईमात्र उपचार दिइने गरिन्थ्यो । तर अस्पतालको यस विभागमा  चाप बढे पछि हाल ७५ वर्ष भन्दा माथिका नागरिक लाई मात्र सेवा दिदै आएको अस्पतालले बताएको छ  । ‘जेष्ठ नागरिकको चाप भएपछि सेवालाई व्यवस्थित बनाउन ६५ वर्षबाट बढाएर ७५ वर्ष भन्दा माथिका नागरिकलाई मात्र सेवा सुरु गरिएको छ’ निर्देशक बस्नेतले भने, ‘यसलाई सुधार गर्दै ७० वर्ष भन्दा माथिका लागि सेवा दिने तयारी भइरहेको छ ।’

२०७२ साल बैसाख १२ गतेको  विनाशकारी भूकम्पले क्षति पुर्याएपछि भने झण्डै ४ महिना सेवा अवरुद्ध हुन पुगेको थियो । सेवा अवरुद्ध हुँदा अपाङ्ग तथा ज्येष्ठ नागरिकहरुले सास्ती व्यहोर्नु परेका गुनासा आउन थालेपछि उक्त विभागलाई मर्मत गरी सञ्चालनामा ल्याइएको छ ।  सेवा पुनः सञ्चालनमा आएसँगै चाप बढेको विभागले जनाएको छ ।

जेष्ठ नागरिकका लागि विभागले निःशुल्क टिकटको व्यवस्था गरेको छ भने रुटिङ्ग टेष्टमा पनि निःशुल्क गरेको छ । यहाँ उपचारका लागि आउने विरामीहरुलाई  क्रिटिना ड्रिस्पेन्सरी संस्थाले निशुल्क औषधीको समेत व्यवस्था गरिदिएपछि विरामीहरु थप लाभान्वित भएका छन् । त्यतिमात्र नभई आफूसँग भएका औषधीहरु अस्पतालले पनि निशुल्क दिने गरेको छ ।

डा. बस्नेत भन्छन् 'अपाङ्ग तथा ज्येष्ठ नागरिकहरु यो सेवाबाट निकै खुसी छन् । वस्नेत भन्छन् विरामीको चाप र सुविधालाई मध्यनजर गर्दै यो सेवालाई थप विस्तार  गरी विशेषज्ञसहितको सेवा दिने दिने तयारी भइरहेको छ ।' बस्नेतले भने, ‘सर्जन वा फिजिसियनले हेर्नु पर्ने अवस्था आएमा त्यसलाई कसरी फास्ट ट्रयाकबाट हेर्न सकिन्छ, त्यसको गृहकार्यको तयारी गरिरहेको छु ।’

 

 

 

 

 

Last modified on 2016-09-06 15:36:49

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts