जिका भाइरस : लामखुट्टेले सार्ने भाइरस संक्रमणको जोखिममा नेपाल

What's This?


Download our app to get more features

काठमाडौं, फाल्गुन ०३ - विशेषज्ञहरूका अनुसार, नेपालसमेत जिका भाइरस रोगको सम्भावित जोखिममा छ । दिउँसो टोक्ने लामखुट्टेले सार्ने यो संक्रमणको सम्भावनालाई दृष्टिगत गरी सरकारले समेत टाउको सानो भएका बालबालिका जन्मिए वा एक्कासि हातखुट्टा लुलो हुने शारीरिक समस्या ‘गुलियन बेरी सिन्ड्रोम’ को निगरानी थालेको छ । यी दुवै समस्यालाई हाल जिका भाइरस संक्रमणसँग जोडेर हेर्ने गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, जिका भाइरस अफ्रिका, अमेरिका, एसिया र प्रशान्त क्षेत्रमा फैलिरहेको छ । हालसम्म ३३ मुलुकमा यो भाइरसको विस्तार भइसकेको छ । यसबाहेक छ मुलुकमा समेत स्थानीय रूपले रोग सरेको अप्रत्यक्ष प्रमाणहरू फेला परेका छन् ।

‘हामी जिका संक्रमणबाट अछूतो रहन सक्दैनौं, यो रोगको विस्तार तीव्रतम् गतिमा भइरहेकोले बचाउको पूर्वतयारी आवश्यक छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘यो रोगविरुद्घ हाम्रो रणनीति लामखुट्टेको टोकाइबाट जोगिनु, यसको प्रजनन स्थल नष्ट गर्नु र यसबारे जनचेतना फैलाउनु हो ।’

एडिस एजेप्टी लामखुट्टेले सार्ने जिका भाइरस सन् १९४७ मा पत्ता लागेको हो । तर धेरै वर्षसम्म अफ्रिका र दक्षिणी एसियामा यसको फाट्टफुट्ट संक्रमण मात्र पाइएको थियो । यसको पहिलो प्रामाणिक प्रकोप प्रशान्त क्षेत्रमा भएको हो ।

सन् २०१३ देखि जिकाकोकेस र प्रकोप अमेरिका, पश्चिमी प्रशान्त क्षेत्र र अफ्रिकामा हुन थालेको छ ।  विश्वव्यापी रूपमा धेरै सहरी क्षेत्रमा जिका भाइरसको महामारी हुन सक्ने सम्भावना रहेको डब्लूएचओले चेतावनी दिएको छ ।

एडिस लामखुट्टेले एक क्षेत्र वा देशबाट अर्को क्षेत्र वा देश भ्रमण गर्न सक्ने औँल्याउँदै डा. मरासिनी भन्छन्, ‘यो लामखुट्टे उड्नमा कमजोर भए पनि मानिस वा अन्य कुनै माध्यमले नजानीकनै एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्छ ।’

यो लामखुट्टे पुगेको ठाउँको वातावरण यसको लागि उपयुक्त भए त्यहाँ यसले आफूलाई विस्तार गर्नुका साथै रोगसमेत सार्न सक्ने डा. मरासिनी बताउँछन् ।
लक्षण 

जिका भाइरसको संक्रमणको लक्षण कति दिनपछिदेखि देखिन थाल्छ भन्ने स्पष्ट छैन । तर सामान्यत: यसको लक्षण अन्य ‘अर्बोभाइरस’ संक्रमण जस्तै :  डेंगु, ज्वरो, छालामा बिमिरा, आँखा पाक्ने रोग, जोर्नी र मांसपेशीको दुखाइ, टाउको दुखाइ, असजिलोपन आदि हुन सक्छ । यस्तो लक्षण दुई दिनदेखि एक सातासम्म देखा पर्न सक्छ ।
बचाउ
यो रोगबाट बाँच्ने मुख्य उपाय नै लामखुट्टेको टोकाइबाट बच्नु हो । लामखुट्टे र यसको प्रजनन स्थल जिका भाइरस संक्रमणको लागि अत्यन्त जोखिमपूर्ण छ । लामखुट्टे र यसको प्रजनन स्थल नष्ट गर्नुको साथै लामखुट्टे र आमव्यक्तिको सम्पर्कलाई कम गर्नुसमेत बचाउको महत्त्वपूर्ण उपाय हो ।

झुलभित्र सुत्नु, घरका झ्यालमा जाली लगाउनु, कीरालाई टाढा भगाउने ‘इन्सेक्ट रिपेलेन्ट’ को उपयोग, जिउलाई राम्ररी छोप्ने हलुका लुगा लगाउनु, लामखुट्टेको प्रजनन स्थल रोक्न पानी भर्न सक्ने, खाली बट्टा, टायर आदिलाई नष्ट गर्नु आदि गर्न सकिन्छ ।

बालबालिका, बूढापाका र बिरामीलाई समेत लामखुट्टेको टोकाइबाट बाँच्न विशेष प्रबन्ध गर्नुपर्छ ।
उपचार
जिका भाइरस रोग सामान्यत: मध्यम हुनुको साथै कुनै विशेष उपचार आवश्यक हुँदैन । यसको कुनै खास उपचार र खोप छैन ।

यो रोगले संक्रमितहरूले ज्वरो र दुखाइको सामान्य औषधिले उपचार गर्नुको साथै पर्याप्त आराम गर्नुपर्ने उल्लेख गर्दै डा. मरासिनी भन्छन्, ‘संक्रमित व्यक्तिले प्रशस्त मात्रामा तरल पदार्थ सेवन गर्नुको साथै लक्षण नराम्रो भए चिकित्सकीय स्याहार आवश्यक हुन्छ ।’
सम्भावित जटिलता

डब्लूएचओका अनुसार, सन् २०१३ र २०१५ को फ्रेन्ज पोलिनेसिया र ब्राजिलको प्रकोपमा जिकासँग सम्बन्धित तन्त्रिकासम्बन्धी र अटो इम्युन (स्वरोग प्रतिरक्षा) मा जटिलता देखिएको थियो । हालसालै ब्राजिलमा स्थानीय स्वास्थ्य निकायले आमव्यक्तिमा जिका भाइरसको प्रकोपसँगै एक्कासि हातखुट्टा लुलो–लंगडो हुने अर्थात् पक्षाघातजस्तै हुने गुलियन बेरी सिन्ड्रोमको समस्यामा समेत वृद्घि भएको औंल्याएको छ । योसँगै उत्तरपूर्वी ब्राजिलमा माइक्रोसेफली भएका बालबालिकाको जन्म हुने क्रम बढ्यो । जिका भाइरस र माइक्रोसेफलीबीच सम्बन्ध देखिएको छ । तर यसबारे अझ खोजी आवश्यक छ ।

रोग सर्ने स्थिति
जिका भाइरस बढी गर्मी हुने ठाउँ अर्थात् उष्णप्रदेशमा मुख्य रूपमा संक्रमित एडिस लामखुट्टेको टोकाइले मान्छेमा सर्छ । यो लामुखुट्टे दक्षिण–पूर्वी एसियाका अन्य मुलुकसँगै हाम्रो मुलुकमा समेत प्रशस्त छ । जिका भाइरस सार्ने लामुखुट्टेले चिकनगुनिया, डेँगु, एलो फिभरसमेत सार्छ । यसले मुख्य रूपमा साँझबिहान टोक्ने गर्छ ।
रोग निदान
डब्लूएचओका अनुसार जिका भाइरस संक्रमणको आशंका लक्षण र वर्तमान भ्रमण इतिहासमा आधारित हुन्छ । अर्थात् व्यक्तिले जिका भाइरस भएको ठाउँमा हालसालै भ्रमण गरेको वा बसोबास गरेको छ वा छैन । जिका भाइरसको पहिचान प्रयोगशाला परीक्षणले मात्र हुन्छ । यसअन्तर्गत जिका भाइरसको ‘आरएनए’, रगत वा अन्य शरीरको द्रव्यजस्तै पिसाब, रर्‍याल आदिमा भए/नभएको पहिचान गरिन्छ ।

गर्भवती वा गर्भधारण गर्न खोज्नेले सचेत हुन आवश्यक

जिका भाइरस रोग गर्भवती महिलाबाट गर्भमा रहेको शिशुमा सर्छ । रिपोर्टहरू अनुसार, गर्भावस्थामा जिका भाइरसको संक्रमण देखिएका महिलाहरूको सन्तानमा मस्तिष्कसम्बन्धी जन्मजात दोष माइक्रोसेफली हुने उल्लेख गर्दै स्वास्थ्य सेवा विभागकी महानिर्देशक एवं वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा. पुष्पा चौधरी भन्छिन्, ‘जिका र जन्मजात दोषमा सम्बन्ध देखिए पनि अझ धेरै थाहा पाउन बाँकी छ, तर हाललाई गर्भवती महिलाको विशेष बचाउ आवश्यक छ ।’

गर्भवती महिलाहरूले जिका भाइरस फैलिरहेको मुलुकको भ्रमण गर्न नहुने औंल्याउँदै चौधरी थप्छिन्, ‘भ्रमण गर्नुपर्ने बाध्यता भए स्वास्थ्य सेवा प्रदातासँग सम्पर्क गरेर लामखुट्टेको टोकाइबाट बच्ने उपाय कडा रूपमा अपनाउनुपर्छ ।

गर्भवती हुने चाहना बोकेका महिला र निजका पुरुष साथीले समेत जिका प्रभावित मुलुकमा जानुअघि स्वास्थ्य विशेषज्ञसँग सम्पर्क गर्नुपर्छ । पुरुष र महिला दुवैजनाले आफूलाई लामखुट्टेको टोकाइबाट बचाउनुपर्छ किनभने शारीरिक सम्पर्कका पनि यो संक्रमण हुन सम्भव छ ।’

- अतुल मिश्र,कान्तिपुर दैनिकमा समाचार छ । 

Releted vedio's

 

 

 

Last modified on 2016-03-13 10:02:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts