के हो प्रोष्टेट क्यान्सर ?



Download our app to get more features
Spark_health_home

प्रोस्टेट क्यान्सर संसारका ८० भन्दा बढी देशमा व्यापक रोग हो । त्यसमध्ये पश्चिमा देशमा यो औधी व्यापक छ । नेपालमा पनि यो रोगको पहिचान पुरुषमा रोगप्रति चेतनाको विकास, चिकित्सकमा ज्ञान र अनुभवको वृद्धि र पीएसए जाँचको पहुँच इत्यादि धेरै कारणले बढ्दै आएको छ ।

प्रोस्टेट ग्रन्थी क्यान्सरको सुरु अवस्थामा लक्षण आधारित भएर रोग पत्ता लगाउन असम्भव प्रायः हुन्छ । प्रोस्टेट अर्वुद आफ्नो उत्पत्तिको सुरुवातमा यकिन भन्न सक्ने कुनै लक्षण दर्शाउँदैन । पिसाब सञ्चालनमा पुरुषले व्यक्त गरेका लक्षण मुत्र संक्रमण, प्रोस्टेट ग्रन्थीको सोथर प्रोस्टेट ग्रन्थीको उमेर संलग्न वृद्धिसँग आधारित हुन सक्छन् । क्यान्सर जति बढ्दै गयो, त्यति नै लक्षण व्यक्त हुने सम्भावना वृद्धि हुँदै जान्छ ।

यो रोगको कुनै कालखण्डमा वीर्यमा रगत देखापर्ने वा विनावीर्य मुत्रनलीबाट रक्त प्रवाह हुन सक्छ । केही बिरामी वीर्यको मात्रा घटेको र यौनइच्छा पनि जागृत नहुने व्यक्त गर्छन् । तर, यी लक्षण क्यान्सर विशेष मान्न सकिन्न । अर्वुद फैलिएर मुत्रनली बन्द गर्ने अवस्थामा पुगेर मुत्र सञ्चारमा अवरोध गर्न सक्छ । मुत्रबाहिनी नली वा नलीलाई थिचेर मिर्गाैला फुल्ने र कार्यक्षमता कम हुन सक्छ । हड्डीमा क्यान्सर फैलिँदा अल्परक्त र हड्डीमा पीडा देखापर्छ ।

 आजको दिनमा प्रोस्टेट क्यान्सर निदान गर्न निम्न चार कुराले सबैभन्दा बढी सहयोग पु¥याउँछन्:

  • बिरामीको उमेर ।
  • प्रोस्टेट ग्रन्थीको मलद्वारबाट औंलाले गरिने जाँच ।
  • पीएसए रक्तस्तरको परीक्षण ।
  • प्रोस्टेट ग्रन्थीको तन्तु जाँच ।

माथि उल्लिखित चार जाँचका आधारमा प्रोस्टेट क्यान्सर भनेर निदान भएपछि यो रोग ग्रन्थीभित्रै सीमित छ वा त्यहाँबाट निस्केर फैलिएको छ भन्ने थाहा पाउन विभिन्न रक्त परीक्षण, एक्स–रे, सिटिस्क्यान, अल्ट्रासोनोग्राफी, सम्पूर्ण अस्थिपञ्जरको विकीरण जाँच, एमआरआईजस्ता बिभिन्न महत्वपूर्ण तथा जटिल आधुनिक परीक्षणबाट उपचार तथा रोग व्यव्स्थापनको रेखा कोर्न अत्यन्त ठूलो सहयोग पुग्छ ।

पीएसए परीक्षण र प्रोस्टेट क्यान्सर :
पीएसए प्रोस्टेट ग्रन्थीको कोशिकाले बनाउने एकप्रकारको प्रोटिन हो । यसले स्खलन भएको वीर्यलाई पातलो बनाएर शुक्रकीटलाई निशेचनमा सहयोग पु¥याउँछ । पीएसएको ज्यादै थोरै भाग रक्तसञ्चारमा निकास हुने गर्छ । प्रोस्टेट क्यान्सरका तथा प्रोस्टेट ग्रन्थीका कोशिका पनि पीएसए बनाउँछन् । तर, प्रोस्टेट क्यान्सर उत्पत्ति भएपछि प्रोस्टेट ग्रन्थीबाट पीएसएको रक्तसञ्चारमा हुने निकास तथा चुवाहटमा वृद्धि हुन्छ । यो तथ्यलाई ध्यानमा राख्दै प्रोस्टेट क्यान्सरमा पीएसएको रक्त परीक्षण गर्ने गरिन्छ । प्रायःजसो अर्वुदग्रस्त प्रोस्टेट जाँचको सिलसिलामा पीएसए रक्त परीक्षण अनिवार्य मानिन्छ । तर पनि त्यस्ता प्रोस्टेट क्यान्सर पनि छन्, जसमा यो प्रोटिन रक्तसञ्चारमा उच्चस्तरमा देखापर्दैन । प्रोस्टेट क्यान्सर व्यवस्थापन गर्न पीएसएका विभिन्न जाँच रगतमा गरेर रोगको महत्वपूर्ण निचोड निकाल्न सहयोग पुग्छ ।

प्रोस्टेट क्यान्सर शल्यक्रियाको एक महिनापछि पीएसए रगतमा पत्ता लाग्न सक्ने स्तरभन्दा तल नझरे प्रोस्टेट क्यान्सरका कोशिका शरीरमा बाँकी भएको शंका हुन्छ । तर, विकीरण उपचारपछि सालाखाला १७ महिनापछि मात्र पीएसएको उपस्थिति रक्तसञ्चारबाट हराउन सक्छ । पीएसएको रक्त जाँच चिकित्साविज्ञानमा सन् १९८६ मा प्रवेश गरेपछि लाखौं प्रोस्टेट क्यान्सर बिरामीको पहिचान हुन सम्भव भएको र उनीहरूको उपचार तथा निगरानीमा पनि यसले ज्यादै ठूलो महत्वपूर्ण भूमिका खेलेको छ । तर, पीएसए रक्तस्तर जाँच प्रोस्टेट क्यान्सर रोग निश्चित भने होइन ।

प्रोस्टेट क्यान्सर प्रमाणित बिरामीको उपचार :

८० भन्दा पनि बढी प्रतिशत बिरामीमा प्रोस्टेट क्यान्सरले घातक रूप लिँदैन र लामो समय लगाएर विकसित हुने भएकाले शरीरमा भएका अरू नै जटिल रोगबाट रोगीको मृत्यु हुने गर्छ । बिरामीमा प्रोस्टेट क्यान्सर प्रमाणित भएपछि चिकित्सकलाई चुनौती हुन्छ (उपचार गर्नैपर्नेलाई मात्र प्रभावशाली तरिकाले त्यसको व्यवस्थापन गर्न । बिरामीले पनि उच्च मनोबल गरेर गहकिलो निर्णय लिनुपर्ने हुन्छ ।) उपचार गर्ने कि चिकित्सकको सक्रिय तथा निरन्तर निगरानीमा बस्ने भनेर । 

चिकित्सक र बिरामीबीच प्रस्ट बुझ्ने गरेर गहिरो परामर्श हुनुपर्छ । उपचार गर्ने हो भने कहिलेसम्म ? किन ? कुन प्रकारको ? परामर्श र विचारविमर्शको आवश्यकता पर्छ । किनभने करिब २० प्रतिशत प्रोस्टेट क्यान्सर घातक हुन्छ र त्यसकै कारणले बिरामीको मृत्यु हुने गर्छ । सुरुको अवस्थामा बिरामी हेरेर ठ्याक्कै यो बिरामीमा रोगले घातक रूप लिँदैन भनेर छुट्याउन सजिलो छैन । त्यसैले प्रायः कस्ता बिरामीमा रोगको विकास कसरी हुन्छ ? तथ्यांकले के भन्छ ? त्यो सबै केलाएर हेर्नेुपर्ने हुन्छ । उपयुक्त निर्णय लिनका लागि निम्नप्रश्नको निश्चितीकरण गर्नुपर्छ ।

  • बिरामीको उमेर
  • बिरामीको समस्त स्वास्थ्य अवस्था कस्तो छ ?
  • क्यान्सर कोशिकाको स्तर के छ ? के अर्वुदको सिकार रक्त तथा स्नायु नली प्रवेश गरेका वा संलग्न छैन ?
  • रोगीको प्रत्याशित आयु कति होला ?
  • बाँकी जीवनप्रति बिरामीको दर्शन र चाहना कस्तो छ ?

यी सबै कुरामा अत्यधिक ध्यान दिँदादिँदै पनि उपचार गरिएका प्रोस्टेट क्यान्सरका बिरामीमध्ये सबैको परिणाम एउटै हुँदैन । उपचारविधि शल्यक्रिया, हर्मोन, विकीरण, रसायन वा यिनीहरूको सम्मिश्रण जे भए पनि फाइदामात्र होइन, केही जटिल समस्या तथा कठिनाइ पनि निम्त्याउन सक्छ । जसलाई बिरामी आफैंले आत्मसात् गर्नुपर्ने हुन्छ ।

प्रोस्टेट क्यान्सर उपचारको सिद्धान्त :

  • पुरुषको उमेर जति बढी हुन्छ, प्रायः त्यति नै प्रोस्टेट क्यान्सरको उग्रता कम हुन्छ ।
  • वंशमा बुवा, काका वा दाजुभाइमा प्रोस्टेट क्यान्सर भएका पुरुषमा यो रोग कम उमेरमै देखापर्न सक्छ र त्यसको व्यवस्थापन प्रायः बढी झन्झटिलो र कम फलदायी हुन्छ ।
  • कम उग्र प्रोस्टेट अर्वुद पहिचान भएको बिरामीको समग्र स्वास्थमा जटिल समस्या भए सक्रिय उपचार औचित्यपूर्ण हुँदैन ।
  • प्रोस्टेट क्यान्सरको कारणबाट मुत्र सञ्चालनमा अवरोध देखापरे मुत्र निष्कासन सुधार्न मत्थर पार्ने शल्यक्रिया अनिवार्य हुन्छ ।
  • हड्डीमा फैलिएको प्रोस्टेट क्यान्सर संलग्न पीडा कम गर्न शल्य, हर्मोन, विकीरण तथा रसायन उपचार विधि सम्मिश्रणमा प्रयोग गर्नुपर्ने हुन सक्छ ।
  • धेरै जसो प्रोस्टेट क्यान्सर लामो समय लगाएर विकसित हुने भएकाले विस्तृत परीक्षणपछि मात्र आमूल उपचार सुरु गर्नुपर्छ ।
  • प्रोस्टेट क्यान्सर दबेर भित्र बसेको वा उग्र रूप लिएको जस्तो अवस्थामा भए पनि विशेषज्ञ चिकित्सकको सक्रिय निगरानी वाञ्छनीय हुन्छ ।

(प्रा. डा. भट्ट मेडिकेयर नेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर लि. चाबहिलका वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्ट हुन् ।) 


 

Last modified on 2017-07-07 17:21:35

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>
alka Norvic Hospital

1 Comments

  1. के यो रोग केटिलाई नि लाग्छ????

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts