पाल्पा:मुटुरोगीको गाउँमा नै उपचार



Download our app to get more features

पाल्पा, ४ वैशाख । मनमोहन कार्डियो सेन्टरका शल्यक्रिया विभागका प्रमुख तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालासँग मुटुरोग सम्बन्धी परीक्षण गराउन पाउँदा यहाँका बिरामी खुसी भएका छन् ।

दर्लमडाँडा गाविसस्थित दर्लम उमाविमा डा कोइरालासँग मुटुसम्बन्धी स्वास्थ्य परीक्षण गर्न पाएकोमा पाल्पा बराङदी–८ का मुटुरोगी गोविन्द बस्याल निकै खुसी मुद्रामा हुनुहुन्छ । मुटुको उपचारका लागि संधै काठमाण्डौं जानुपर्ने बाध्यतामा रहेका मुटुरोगीले ग्रामीण क्षेत्रमा नै मुटुसम्बन्धी परीक्षण गराउने मौका पाएकोमा बिरामी निकै खुसी देखिएका हुन ।

पाल्पाको दर्लमडाँडा गाविसस्थित दर्लमडाँडा उमाविमा शुक्रबारदेखि सञ्चालित हृदयरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा डा. भगवान कोइरालाको नेतृत्वमा २० जनाको स्वास्थ्यकर्मीको टोलीले ग्रामीण क्षेत्रका मुटु तथा अन्य बिरामीको परीक्षण गर्न पाएकोमा खुसी हुनुहुन्छ ।

बिरामीलाई शिविरबाट स्वास्थ्य परीक्षण, औषधि, इको र एसीजी सुविधाको निःशुल्क व्यवस्था गरिएको छ ।

खानीछाप–१ की मायादेवी अर्यालले पहिलो पटक डा.भगवान कोइरालालाई भेटेर औषधि गर्न पाउँदा आफूलाई आधा रोग नै निको भएको महसुस गर्नुभयो । नाम सुनेका डा. कोइरालासँग औषधि गर्ने उहाँको धोको गाउँमा नै पूरा भएको छ ।

दर्लमडाँडा गाविस, जिल्ला स्वास्थ्य कार्यालय, दर्लमडाँडा स्वास्थ्य चौकीको आयोजना र लुम्बिनी मेडिकल कलेज, मनमोहन कार्डियो सेन्टरको प्राविधिक सहयोग, त्रिभुवन विश्वविद्यालय, दर्लमडाँडा उमाविको सहयोगमा सञ्चालित शिविरमा ५ सय एक भन्दा बढीले स्वास्थ्य सम्बन्धी स्वास्थ्य परीक्षण गरेको स्थानीय बासिन्दा तथा प्रचार संयोजक भगवान भण्डारीले बताउनुभयो ।

डा कोइरालले मुटु तथा अन्य गम्भीर प्रकृतिका नौजना बिरामीलाई निःशुल्क औषधि उपचारका लागि काठमाडाँैं पठाउनु भएको छ । बिरामीलाई उपचारका लागि रु एक करोड भन्दा बढी खर्च हुने भए पनि उहाँले निःशुल्क व्यवस्था गरेर बिरामीलाई बचाउने प्रचार संयोजक भण्डारीले बताउनुभयो ।

शिविरमा पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जाका महिला, बालबालिका तथा वृद्ध स्वास्थ्य परीक्षण गराएका छन् । डा.कोइरालाले बिरामी तथा महिला, तथा वृद्धलाई सन्तुलित आहारा नियमित रुपमा सेवन गर्नुपर्ने र आराम समेत गर्न सल्लाह दिनु भएकोछ । 
रासस
 

Last modified on 2016-04-16 14:48:50

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts