गर्मी बढेसँगै भरतपुरमा आँखाका रोगी पनि बढे



Download our app to get more features

भरतपुर (चितवन), २१ जेठ । आँखा चिलाउन थालेपछि ७४ वर्षीया लक्ष्मी श्रेष्ठ बिहीबार भरतपुर आँखा अस्पताल पुगिन् । गर्मी बढेसँगै भरतपुर–९ की उनलाई टाउको दुख्ने, आँखा पोल्ने, चिलाउने समस्या देखिएको छ । ‘गर्मी बढेपछि टाउको दुख्ने, आँखा चिलाउने समस्याका बिरामी आउन थालेका छन्,’ लक्ष्मीको आँखा जाँचेपछि चिकित्सक पुष्पा गिरीले भनिन् । उनले बिरामीलाई घाम र धूलोबाट जोगिन सुझाव दिने गरेकी छन् । 

अस्पताल आउने दैनिक ३ देखि ४ सय जति बिरामीमध्ये एक सयभन्दा बढी आँखा चिलाउने, नानी रातो हुने, आँसु बग्ने, चिप्रा आउनेजस्ता समस्याले ग्रस्त भेटिएका छन् । चैतयता यस्ता बिरामीको चाप बढ्ने चिकित्सक बताउँछन् । ‘आँखा चिलायो, पोल्यो, आँसु बग्यो भने मिच्नु हुन्न,’ चिकित्सक गिरीले भनिन्, ‘तत्कालै जँचाएर औषधि प्रयोग गर्नुपर्छ ।’ 

समान्य रूपमा लिएर बसे आँखाको ज्योति गुम्नेसम्मको खतरा उनले औंल्याइन् । 

गर्मीमा अत्यधिक वायुप्रदूषणले गर्दा धूलोका कण तथा रसायन भित्रि भागसम्म पुग्ने भएकाले आँखालाई बढी असर गर्छ । ‘घाम र धूलो, धुवाँबाट बच्न गर्मी मौसमभरि चस्मा प्रयोग गर्नुपर्छ,’ गिरी भन्छिन्, ‘समस्या देखा पर्नासाथ जँचाइहाल्नुपर्छ ।’ 

अस्पतालमा दैनिक ५० को संख्यामा बालबालिकासमेत आँखासम्बन्धी समस्या लिएर आउने गरेका छन् । ‘तीमध्ये आधाजसोमा चिलाउने, आँसु बग्ने, चिप्रा आउने जस्ता समस्या देखा पर्छन्’ डा. विनोद पाण्डेले भने, ‘समयमा उपचार नगराए नानीमा घाउ हुने र अन्धोपनसम्मको सम्भावना बढ्छ ।’ अस्पतालको तथ्यांकअनुसार बर्से्नि आँखाका रोगी बढिरहेका छन् । आर्थिक वर्ष २०७२÷२०७३ मा ४८ हजार १ सय ७१ जना नयाँ रोगी फेला परेका थिए । उक्त अवधिमा १७ हजार ३ सय २० पुराना रोगीले नियमित जाँच गराइरहेका छन् । चालु आवको वैशाखसम्म ३९ हजार २ सय ९५ आँखाका रोगी फेला परेका छन् । भारतबाट समेत ठूलो संख्यामा बिरामी यो अस्पताल आउँछन् । तीमध्ये सबैभन्दा धेरै रेटिना (गम्भीर प्रकृतिको) रोगका हुने गरेको चिकित्सक बताउँछन् । 

भारतको बिहार र यूपीबाट रेफर गरिएका बिरामी आउने गरेको अस्पतालका व्यवस्थापक जयशंकर चौधरीले बताए । ‘गएको साउनयता दस महिनाको अवधिमा ७ सय भारतीयले अस्पतालबाट आँखा जाँच गराए,’ उनले भने, ‘यहाँ दिइने सुविधा भारतमा समेत छैन ।’

 

(आजको कान्तिपुर दैनिकमा समाचार छ)

Last modified on 2017-06-11 16:46:51

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts