के भएको हो पूर्वराजा ज्ञानेन्द्रलाई ? उपचार गर्ने चिकित्सकसँगको कुराकानी...

What's This?


Download our app to get more features

काठमाण्डौ, ४ साउन । नियमित जाँचका क्रममा अघिल्लो हप्ता मुटुको एउटा धमनीमा अवरोध भएको पाइएपछि पूर्वराजा ज्ञानेन्द्र शाहको नर्भीक अस्पतालमा एन्जिओप्लाष्टि गरिएको छ ।

उनलाई आज बिहान नर्भीक अस्पताल भर्ना गरिएको थियो । भर्ना गरिएपछि उनलाई मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट नेतृत्वको चिकित्सकको टोलीले मुटुको बन्द भएको धमनी खुलाउन एन्जिओप्लाष्टि गर्नुका साथै स्टेन्ट पनि राखिएको अस्पतालले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्रसँग अस्पतालमा पूर्वरानी कोमल, पूर्वयुवराज पारस, पूर्वयुवराज्ञी हिमानीलगायत परिवारका अधिकांश सदस्य साथै रहेका छन् । 

ज्ञानेन्द्रको उपचारमा मुटुरोग विशेषज्ञ तथा शल्यचिकित्सक डा. यादवदेव भट्ट सहित ६ जना चिकित्सक सहभागी छन् । उपचार टोलीको नेतृत्व गरिरहेका डा. भट्टले पूर्वराजा शाहको उपचारका बारेमा हाम्रो डक्टरलाई यस्तो बताए । 

के भएको हो पूर्वराजालाई ? 
उहाँको यो नियमित चेकजाँचपछिको उपचार हो । अघिल्लो हप्ता उहाँ नियमित जाँचका लागि अस्पताल आउनुभएको थियो । त्यसपछि मुटुको धमनीमा समस्या देखिएपछि आज एन्जिओप्लाष्टी गरिएको हो । 

के जटिलता छ उहाँको मुटुमा ? 
उहाँको हिँड्दाखेरी धमनीबाट मुटुसम्म कम रगत प्रवाह हुने समस्या छ । त्यसैलाई ‘ब्लकेज’ भनिएको हो । हामीले एन्जिओप्लाष्टी गर्नुका साथै स्टेन्ट पनि राखिदिएका छौं । अब सामान्य भएको छ । 

के हो एन्जिओप्लाष्टि र स्टेन्ट भनेको ? यो किन गरिन्छ ? 
मुटुको नशा सांघुरियो भने त्यसलाई शल्यक्रिया नगरी खुलाउनका लागि एन्जिोप्लाष्टि गरिन्छ । त्यो खुलाइएको धमनीमा पुनः अवरोध नआओस् भनेर स्टेन्ट राखिन्छ । यो एउटा स्प्रिङ हो जसले नशालाई खुलाइराख्छ । 

यसको आयु कति हुन्छ ? 
यो एकपटक गरेपछि सोही ठाउँका लागि सँधैका लागि हुन्छ । स्टेन्ट राखिसकेपछि पुन अवरोध उत्पन्न हुने सम्भावना जम्मा ८ प्रतिशतमात्र हुन्छ । त्यसैले यो भरपर्दो र सुरक्षित उपचारविधि मानिन्छ ।

 उहाँको त पहिलेपनि एन्जिओप्लाष्टि गरिएको हो नी होइन ? 
हो । उहाँको पहिले मुटुको अर्को धमनीमा अवरोध आएका थियो । त्यसमा पनि एन्जिओप्लाष्टि गरिएको हो । त्यसमा कुनै समस्या छैन । अहिले त्यो धमनीमा होइन । अर्को धमनीमा समस्या आएको हो । 

उहाँको अवस्था अहिले कस्तो छ ? केही जोखिम बाँकी छन् ?
ठीक छ । सामान्य भएको छ । उहाँ सिसियुमा हुनुहुन्छ । आराम गर्ने बेला हो यो । उहाँलाई तत्काल कुनै जोखिम छैन । 

अस्पतालले गर्यो पत्रकार सम्मेलन
यसैबीच अस्पतालले पत्रकार सम्मेलन गरेर पूर्वराजा शाहको स्वास्थ्य अवस्था सुधार भएको र केहीदिन आरामको खाँचो रहेको भन्दै अस्पतालमै राखिने बताएको छ । 

पूर्वराजा शाहको मुटुको सफल एन्जियोप्याष्टी गरिएको छ । स्वास्थ्य परिक्षण गर्दा मुटुमा समस्या केहि समस्या हुनसक्ने देखिएको हुदाँ अस्पतालका मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट र राजाको पारिवारिक चिकित्सक डा. किशोर जंग राणाको सल्लाहमा कोरोनरी एन्जियोग्राम गर्दा एउटा नशामा अवरुद्द भएको देखिएको थियो । 

Last modified on 2017-08-01 13:48:27

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. सिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts