बाढीले बारामा विजोग, चिसो भुइँमा सुत्केरी



Download our app to get more features

बारा, ५ भदौ । पसाहा खोलाछेवैका दुई दलित बस्ती अहिले खण्डहरजस्तै छन् । बाढीले यहाँका सबैजसो कच्ची घर भताभुंग बनाइदियो । अहिले बाढी क्रमशस् घट्दै छ तर स्थानीयको सकस झन् बढ्दो छ । खास गरी सुत्केरी र नवजात शिशुको बिजोग छ । 

कलैया उपमहानगरपालिका–१४ का भौरा र बघवन बस्तीमा गरी ५० परिवार बस्छन् । बाढी पसेपछि उनीहरू ज्यान जोगाउन विद्यालयमा सरे । तर, त्यो पनि उपयुक्त आश्रय भएन । डोम, पासवान, धन्खार जातिको यो बस्तीमा सुँगुरपालन आयस्रोतको माध्यम थियो । तर, बाढीले सुँगुरसमेत बगाएपछि उनीहरू थप पीडामा छन् ।

ज्यालादारी काम र नाङ्लो बनाएर बेच्दा आउने पैसाले हातमुख जोर्ने उनीहरूसँग फुसको छाप्रोबाहेक केही छैन । दुई बस्तीमा गरी अहिले सात जना भर्खरका सुत्केरी छन् । 

थप तीन जना एक दुई दिनमै सुत्केरी हुने अवस्थाका छन् । तीन महिनायता बच्चा जन्माएकाको समेत हिसाब गर्दा यो संख्या ५ सय हाराहारी पुग्ने महिला तथा बालबालिका कार्यालयको अनुमान छ ।

सुत्केरीको हातखुट्टा, जीउ, अनुहार सुन्निएर पहेंलो भएको छ । शिशुलाई लगाइदिन कपडा छैन । सामान्य कपडाले बेरेर राखेका छन् । बाढीले खाद्यान्न, लत्ताकपडा सबै बगाइदियो । झुलसम्म छैन । जीउमा किराफट्याङ्ग्रा र लामखुट्टेले टोकेको डाबर देखिन्छ । सबैलाई घमौरा आएको छ । बस्तीका सबैजसो सुत्केरी यस्तै समस्याले पिरोलिएको कार्यालय प्रमुख अञ्जु ढुंगानाले बताइन् । 

बेहाल अवस्थामा रहेका सुत्केरीलाई तत्काल आवश्यक राहत उपलब्ध नगराइए उनीहरूमा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्ने उनको भनाइ छ । तर, सुत्केरी र पोषण क्षेत्रमा काम गर्ने निकाय, जनस्वास्थ्य कार्यालय र बहुक्षेत्रीय पोषण परियोजनाले नै राहतको पहल थालेका छैनन् । तिनका पदाधिकारी सुत्केरीलाई राहत सामग्री दिन आफूहरूसित बजेट नभएको बताउँछन् । 

‘तीन महिनाभित्रका झन्डै पाँच सय सुत्केरी रोगव्याधिको जोखिममा छन्,’ ढुंगानाले भनिन्, ‘उनीहरूलाई तत्काल राहत आवश्यक छ ।’ पोसिलो खानेकुरा चाहिने सुत्केरीहरू सुक्खा चिउरा, भात, बिस्कुट, चाउचाउले धानिएका छन् । हिलो अझै हटेको छैन । चिसै भुइँमा बसिरहेछन् उनीहरू । ‘नवजात शिशुलाई आमाको दूधबाहेक अरू खुवाउन मिल्दैन, तर आमाले पोसिलो खान नपाए दूध नै आउँदैन,’ ढुंगानाले भनिन्, ‘त्यसैले सबैको बिजोग छ ।’ 

पोषण परियोजनाले राहतमा खर्चने रकम नभएको जनाएको छ । युनिसेफको लगानी रहेको उक्त कार्यक्रमकी प्रमुख रीतिका दाहालले चेतनामूलक कार्यक्रमबाहेक राहत दिने बजेट नभएको बताइन् । जिल्ला जनस्वास्थ्य कार्यालयले पनि सुत्केरी र शिशुलाई राहत दिन असमर्थता जनाएको छ । ‘साधनस्रोत र बजेट छैन,’ जनस्वास्थ्य प्रमुख रोशनलाल चौधरीले भने, ‘महामारी नियन्त्रणको समेत बजेट छैन, सबै कटौती गरेर स्थानीय तहमा दिइएको छ ।’ 

बाढीले छाप्रोको बार भत्किसकेको छ । त्यसैमा बसिरहेकी छन् तीन दिनअघि सुत्केरी भएकी हिनादेवी धन्खर । हावा सोझै भित्र पसेर सुत्केरी र शिशुलाई असर र्पुयाएको आमा सुदामाले गुनासो पोखिन् । ‘मुस्किलले त्रिपाल पाए पनि त्यसमा सबै अटाइँदैन, हावा छेक्नै अप्ठ्यारो छ,’ उनले भनिन्, ‘विद्यालयबाट पनि हटाइदिए ।’ 

२० दिनकी सुत्केरी किरणदेवी सहनी, एकमहिने सुत्केरी रमावती पासवान र अर्की रीता पासवानको पीडा पनि फरक छैन । यी तीनै महिला शिशुलाई काखमा राखेर चिसो भुइँमा सुतिरहेको वडा स्वयंसेविका सहदबानी खातुनले बताइन् । ‘राहतका नाममा सुक्खा खानेकुरा, चामल र एकएक थान त्रिपालबाहेक छैन,’ उनले भनिन्, ‘चिसोले शिशुलाई निमोनियाँ हुने त्रास छ ।’ विद्यालयमा पढाइ सञ्चालन भएपछि उनीहरू ओसिलो छाप्रोमै फर्कन बाध्य भएका हुन् । छाप्रोको बार मात्र भत्किएको होइन, पानी पर्दा छानासमेत चुहिन्छ । ‘कच्ची घरको बार भत्किसकेको छ,’ खातुनले भनिन्, ‘भगवान् भरोसामा त्यस्तैमा बसिरहेका छन् ।’

 

( आजको कान्तिपुर दैनिकमा लक्ष्मी साहले लेखेको समाचार) 

Last modified on 2017-08-21 12:39:39

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts