विश्वास र मायाले जोडिएका डा. प्रभा र डा. सुजन



Download our app to get more features

निन्छ श्रीमान श्रीमती एक रथका दुई पाङ्ग्रा हुन् ।

दुबै पांग्राले सहज तरिकाले काम गरे रथ मज्जाले गुड्छ । एउटा मात्रै पांग्रामा गढबढी आए रथले काम गर्दैन् । श्रीमान् श्रीमतीबीचको विश्वास र मायाले जीवनमा आईपर्ने जस्तोसुकै समस्या पनि समाधान गर्न सक्ने र सफलता मिल्ने अनुभव छ डाक्टर सुजन सायमी र प्रभा मैनालीसँग । 

हाम्रो डाक्टर मासिक पत्रिकाको नियमित स्तम्भ ‘डाक्टर कपल’का लागि डाक्टर दम्पती सुजन र प्रभालाई मनमोहन मेमोरियल अस्पताल स्वयम्भुमा भेट्दा उनीहरूमा एक अर्कोप्रतिको माया र सम्मान प्रष्टै देख्न सकिन्थ्यो । झलक्क हेर्दा डा. प्रभाको मुहार हसिलो छ । उनको स्वभाव बोली रहने छ भने डा. सुजन अलि कम बोल्ने र भावुक । २०३१ सालमा काठमाडौंको कालिमाटीमा जन्मिएका डा. सुजनको बाल्यकाल काठमाडौंकै सेरोफेरोमा बित्यो भने डा. प्रभा झापाकी हुन् ।

पहिलो भेट बारे प्रश्न गर्दा डाक्टर सुजन १५ वर्ष अघिको घटना सम्झिन थाले । उनले भने ‘सन् २००२ मा एमबीबीएस पढ्न चीनको बेइजिङस्थित पेकिङ युनिर्भसिटि जानु अघि परिचयात्मक कार्यक्रम भएको थियो । त्यही पहिलो पटक प्रभालाई देखेँ ।’ डा. सुजनसँग पहिलो पटक भेट्दा कस्तो अनुभूति भयो भन्ने प्रश्नमा डा. प्रभाले हास्दै भनिन् ‘केही भएन् । एक असल साथीको रूपमा लिएको थिए । विवाह बारे त झन् सोचकै थिइन् ।’ 
 

एमबीबीएस र एमडीसँगसँगै
उनीहरूले पेकिङ युनिर्भसिटिमा एमबीबीएस र एमडीसँगै गरे । त्यहाँ पढ्ने क्रममै उनीहरू एकअर्कालाई मन पराउन थालिसकेछन् । ‘माया बसिसकेछ, थाहै भएन् ।’ डा. दम्पतीले हाँस्दै भने । यो बीचमा नेपाल आएको बेला उनीहरू एक अर्कोको घरमा जाने आउने गर्थे । परिवारका सदस्यहरूसँग चिनजान भयो । नेपाल फर्केपछि विवाह गर्ने सोच भने बन्दै गएको थियो । पढाइ सकेर फर्केपछि केही समय नेपालका विभिन्न अस्पतालमा प्रशिक्षार्थीको रूपमा काम गरेपछि उनीहरू पुनः चीन फर्किए । पढाई सकेर नेपाल फर्किएपछि उनीहरूले विवाह गर्ने अठोट गरेको सुनाए । तर, उनीहरूको विवाह सोचेजति सजिलो थिएन् । कारण डा. सुजन काठमाडौंका नेवार समुदायका थिए भने डा. प्रभा झापाकी ब्राम्हण समुदायकी । त्यसमाथि डा. प्रभाको अभिभावक नेपालको राष्ट्रिय राजनीतिसँग प्रत्यक्ष जोडिएका थिए । (डा. प्रभा सिपी मैनाली, निलम खड्का­की छोरी हुन्) उनीहरूको विवाहमा जात, धर्म, संस्कार तगारो बन्न सक्थ्यो । 

चोखो मायाको अगाडी सबै कुरा गौण हुन्छन् । मायाकै जीत हुन्छ भन्ने भनाई व्यवहारमा लागू भएको बताउँछन् डा. सुजन–प्रभा दम्पती । उनीहरूले सल्लाह मै परिवारमा विवाहको प्रस्ताव आफैले राखेँ । तर, परिवारले सहजै स्वीकार गर्ने कुरै थिएन । ‘मैलै स्पष्ट रूपमा आफ्नो कुरा राखेको र केटाको बानी व्यवहार राम्रो भएको थाहा पाएपछि परिवारका सदस्य विवाहका लागि राजी भए ।’ डा. प्रभाले भनिन् । यता डा. सुजनको अवस्था पनि डा. प्रभाको भन्दा फरक थिएन । संस्कार, रितीरिवाज नमिल्दा पछि सम्बन्ध नै टुट्ने त हैन भन्ने चिन्ता डा. सुजनको परिवारमा थियो । ‘तर केही दिनको प्रयासमा मैले परिवारको चिन्ता भगाए र विवाहको लागि सहमति पाए ।’ डा. सुजनले भने । परिवारकै सहमतिमा उनीहरूको २०६६ सालमा विवाह भयो । विवाहपछि एकअर्काको प्रत्यक्ष सहयोग, माया, सद्भावका कारण व्यवसायिक र पारिवारिक रूपमा अघि बढ्न झन सहज भएको सुनाउँछन् डा. दम्पती ।

‘भागेर हैन् जुधेर समस्याको समाधान गरे’
‘अन्तरजातिय विवाहपछि केही समस्या त भए होला नी ?’ हाम्रो आशंकालाई  डा.प्रभाले यसरी उत्तर दिइन् ‘अलिअलि समस्या त भयो । तर धेरै समस्या भएन । मैले समस्याको समाधान भागेर हैन जुधेर गर्नुपर्छ भनेर बुझेको थिए । विवाहपछि उनीहरूकै संस्कार अनुरूप काम गरे । कुनै घमण्ड गरिन ।’ डा. सुजनको परिवारका सबै सदस्य सहयोगी र श्रीमान्को साथ र भरोसा भएपछि सबै कुरा मिल्दै गएको डा. प्रभाको भनाई छ ।

विवाहको एक हप्तापछि नै यो जोडी पुनः चीन गयो । करिब ६ महिना चीनको बसाईपछि नेपाल फर्किए । नेपाल आएपछि दुबै पोखराको गण्डकी मेडिकल कलेजमा बाल रोग विशेषज्ञको रूपमा काम सुरू गरे । यहीबीच उनीहरूको एक छोरा एक छोरी भए । विवाहपछि सबै भन्दा खुसी लागेको क्षण बारे डा. सुजन भन्छन् ‘बाबु नानी जन्मदा धेरै खुसी भए ।’ डा. प्रभाले पनि डा. सुजनको भनाइमा थपिन्  ‘अभिभावकका लागि सबै भन्दा ठुलो कुरा सन्तान् नै हुन् । हाम्रा छोरीछोरा दुबै पोखरामै जन्मिए ।’ खुसीसँगै डा. सुजन–प्रभा दम्पतीले दुःखका दिन पनि सम्झिए ‘छोरी जन्मिएको केही समयपछि नै बिरामी परिन् । उनको उपचारको लागि विदेश लानु पर्ने अबस्था आयो । हामीले स्थायी जागीर छाडेर छोरीको उपचारमा गयौं ।’

जसले भ्याउँछौं उसैले गर्छौ घरको काम 
डा. सुजन र प्रभा दुबै व्यस्त छन् । ‘घर परिवार कसले हेर्छा होला ।’ हाम्रो प्रश्न खस्न नपाउँदै उनीहरूले भने ‘इच्छा शक्ति र मेहनत गरे सबै मिल्ने रहेछ । घरको काममा अर्काको बाटो हेर्दैनौ । जसले भ्यायो उसैले गर्छौ ।’ उनीहरू दुवै जना अहिले मनमोहन मेमोरियल अस्पतालमा कार्यरत छन् । डा. सुजन निजी अस्पतालमा पनि काम गर्छन् । झगडा चै कतिको पर्छ नी ? ‘को दम्पती होला र झगडा नगर्ने । कहिले काहि भइहाल्छ । तर सामान्य ।’ उनीहरूले भने ‘तर झगडा भन्दैमा धेरै समय नबोल्ने हुँदैन ।’ 

डा.प्रभालाई डा. सुजनको मन पर्ने बानीहरूः

  • कर्तव्य पुरा गर्ने ।
  • परिवारका सदस्यहरूको ख्याल राख्ने ।
  • सहयोगी ।
  • भावना बुझ्ने ।
  •  राम्रो कामको लागि सधै हौसला प्रदान गर्ने ।

डा.प्रभालाई डा. सुजनको मन नपर्ने बानीहरूः

  • कम बोल्ने ।
  • घुमफिरमा जान कम रुचाउने । 
  • कुनै पनि कुरा सोध्दा धेरै घच्घचाउनु पर्ने ।

डा.सुजनलाई डा. प्रभाका मन पर्ने बानीहरूः

  • असल जीवनसाथी ।
  • परिवारलाई मिलाएर राख्न सक्ने ।
  • समय अनुसार परिवर्तन हुन सक्ने ।
  • सकारात्मक सोच र व्यावहारिक ।

डा.सुजनलाई डा. प्रभाका मन नपर्ने बानीहरूः

  • सानो कुरामा पनि रिसाउने । छिट्टै खुसी भैहाल्ने ।
  • कहिलेकाहि जिद्दी गर्ने ।

Last modified on 2017-09-03 17:40:57

1 Comments

  1. bhagwan le banayara pathyako yo jodi, sachai nai manav sewa ma khatinu vayara.. hami haru dherai avari chau :)


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts