अबिचलित बुद्धिमान



Download our app to get more features

डा. बुद्धिमान श्रेष्ठ कान्तिपुर डेन्टल कलेज एण्ड हस्पिटलका संस्थापक अध्यक्ष हुन् । यसबाहेक उनी दन्त शल्यचिकित्सकका साथै सामाजिक अभियन्ता पनि हुन् । राजनीतिमा समेत उस्तंै सक्रिय बुद्धिमानले गतिशिल समयको पदचापसँगै एउटा सफल पेशाकर्मीका रुपमा समेत आफुलाई स्थापित गरेका छन् । अढाई दशकदेखि पेशामा निरन्तरता, लगनशिलता र धैयर्ताले उनले थुप्रै उपलब्धि हासिल गरेका छन् । उनको अनवरत् लगावको परीणामस्वरुप कान्तिपुर डेन्टल कलेज एण्ड हस्पिटल आज दन्तस्वास्थ्य शिक्षा क्षेत्रको अग्रणी संस्थाको रुपमा स्थापित भएको छ । 

भारतमा जन्म, नेपालमा पढाई, जापानी सिकाई
बुद्धिमानका बाबु भारतीय सेनामा कार्यरत थिए । सोही कारण उनी ०२४ सालमा भारतमै जन्मिए । आठ महिनाको हुँदा नेपाल फर्काइएका श्रेष्ठले स्याङ्जाको कुवाकोट गाविसको जनसामुहिक प्राविमा पूर्वप्राथमिक र चापाकोटको सुन्तलीटार गंगालाल माविबाट एसएलसीसम्म अध्ययन गरे । सुरुमा कम्यूनिटी मेडिकल असिस्टेन्ट पढेका बुद्धिमान सन् १९९२ ताका वीर अस्पतालमा डेन्टल असिस्टेन्ट थिए । त्यतिबेला उनको काम दाँत निकाल्ने मात्र हुन्थ्यो । जसको दाँत निकालिन्थ्यो उ थोते हुन्थ्यो । सर्वसाधारणको थोते अनुहार देखेर उनमा एउटा बुद्धि फु¥यो, अब दाँत उखेल्ने मात्रै होइन दाँत बनाउनु पर्छ । उनमा दाँत बनाउने चाहना मडारिन थाल्यो । सँगसँगै धेरैको ध्यानमा नपर्ने दन्त स्वास्थ्य शिक्षाको विस्तार गर्ने सपना पनि उनले देख्न थालिसकेका थिए । 

एकै पटक धेरै विषय र क्षेत्रमा संलग्नता जनाउँने बुद्धिमानमा राजनीतिक चेतनाको बेग पनि छिरिसकेको थियो । उनलाई अधिकार र समानता चाहिन्थ्यो । वीर अस्पतालमा कर्मचारी आन्दोलन चलिरहँदा अधिकारको पैरवी गर्दा उनी निलम्बनमा समेत परे । ज्ञान बढाउने हुटहुटी पालेका बुद्धिमानलाई त्यति बेलै तालिमका लागि जापान जाने अवसर मिल्यो । त्यो उनका लागि करिअर कै ‘टर्निङ पोइन्ट’ बन्यो । पाँच बर्से जापान बसाईमा उनले डेन्टल शिक्षाका बारेमा धेरै बुझ्ने अवसर त पाए साथै पैसा पनि कमाए । त्यतिञ्जेलमा उनमा अर्को चाहनाले डेरा जमाइसकेको थियो । त्यो थियो, जापानमा देखे भोगेको कुरालाई नेपालमा सुरु गर्ने । उनले जापानमा डेन्टल असिस्टेन्ट र डेन्टल हाइजेनिष्ट सम्बन्धी कोर्सहरु देखेँ बुझेका थिए । 

डेन्टल पढाइका क्षेत्रमा क्रान्ति
नेपालमा कलेजमार्फत डेन्टल सम्बन्धी शिक्षा दिएर दक्ष जनशक्ति तयार गर्ने उद्देश्य बनाएर उनी सन् १९९७ मा नेपाल फर्किए । सिटिइभिटीमा कलेजको अनुमति लिन गएका बुद्धिमानले नयाँ कोर्स सुरु गर्न कम्ता ‘पापड’ बेल्नु परेन । ‘३३ दिन त म लगातार सिटिइभिटी धाएँ ।’ उनले भने ‘ त्यहाँका सरोज देवकोटालाई म आज पनि सम्झन्छु । उनले नयाँ कोर्स भनेर पढाउन प्रेरित गरे ।’ बुद्धिमानले त्यसपछि त जबर्जस्त कान्तिपुर कलेज अफ डेन्टिस्ट्री सुरु गरे । तर, जब उनले कलेज सुरु गरे । सँगै उनले नेपालमै पहिलो पटक डेन्टल हाइजिनिष्टको पढाई सुरु गराए । यो दिन सम्झदा उनलाई अहिले पनि गर्वले छाती फुल्छ । कान्तिपुर कलेज अफ डेन्टिस्ट्रीले नेपालमै पहिलो पटक १५ महिने डेन्टल असिस्टेन्ट कोर्स सुरु भयो । त्यसको तीन ब्याचपछि दुई बर्से डेन्टल हाइजेनिष्ट कोर्स पनि सुरु भयो । पछि त्यो तीन बर्से कोर्स बन्यो । 

यही बीचमा भारतको ललितनारायण मिथिला विश्वविद्यालय दरभंगा अन्तरगतको मिथिला माइनोरिटी डेन्टल कलेज एण्ड हस्पिटलबाट दन्त चिकित्साबाट बुद्धिमानले स्नातक गरे । दन्तचिकित्सा पढेर आएसँगै व्यवस्थापनामा दख्खल बढाउन उनले पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबीए गरे । सन् ०११ मा काठमाडांै विश्वविद्यालयबाट एडुकेशन लिडरसीपमा एमफील पनि गरे ।

कान्तिपुर कलेजले उनको परिचय र प्रसिद्धिको जरा फैलाउँदै लग्यो । उनले एकैपटक चिकित्साकर्मका साथै कलेज र अस्पताल सञ्चालनलाई सँगसँगै अघि बढाए । ‘मध्यम वर्गीय डेन्टल जनशक्ति आवश्यक छ भन्ने लागेर कलेज खोलिएको हो । ५० प्रतिशत मात्र जनशक्ति गाउँ फर्के पनि गाउँगाउँमा मुख स्वास्थ्यको चेतना स्तर बढ्थ्यो भन्ने मोरो सोच थियो ।’ उनले भने ‘आधारभूत सेवा उतैबाट दिने र नभए केन्द्रमा रिफर गर्न सकिन्छ भनेर मैले कलेज खोलेको हो ।’ 

समयक्रमसँगै कान्तिपुर डेन्टल हस्पिटलले पोखरा, बुटवल, नारायणघाटमा, वीरगंज एवं धनगढीसम्म स्याटेलाइट सेन्टर पु¥यायो । देशका ५२ जिल्लामा कान्तिपुरले दन्तस्वास्थ्य सेवालाई विस्तार गरिसकेको छ ।  

चिकित्सा कर्मसँगै व्यवस्थापनमा बढी भूमिका खेलेका श्रेष्ठले दाँत तथा मुख स्वास्थ्य सेवा विस्तार गर्न भन्दै सन् ००७ मा अर्को ‘ब्रेक थ्रु’ गरे । अब कान्तिपुर डेन्टल हस्पिटलको आफ्नै डेन्टल कलेज पनि भयो । काठमाण्डौ विश्वविद्यालयको पहिलो डेन्टल कलेजका रुपमा सम्बन्धन लिएर कान्तिपुरमा त्यसयता बीडीएस दन्त स्वास्थ्यमा स्नातक र सन् ०१४ बाट एमडीएसको कोर्स पनि चलिरहेको छ । अहिलेसम्म डेन्टल कलेजले एक सय ५७ जना बीडीएस डाक्टर र तीन जना एमडीएस उत्पादन गरिसकेको छ । ‘चिकित्सक लाइसेन्स परिक्षामा पनि हाम्रो कलेजको शतप्रतिशत पास छ ।’ उनले गर्वका साथ भने । 

कान्तिपुरले विदेशी विश्वविद्यालयहरूबाट प्रविधी, विधी र विशेषज्ञ ल्याएर पनि पढाउने गरेको कलेजका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताए । ‘१३ वटा विषयमा पढाइ हुन्छ । अस्पतालमा नेपालकै पहिलो सीबीसीटी मेसिन छ । परीक्षण गर्न अत्याधुनिक मेसिन छ । गुणस्तरीय उपचार र पढाईमा सम्झौता गरेको छैनौं ।’ उनले दाबी गरे । उनले थपे, ‘आत्मसन्तुष्टि छ र नयाँ केही गरौं भन्ने सोच आइरहन्छ । नकारात्मक सोच पनि आउँछ कहिलेकाहीं । तर, आफ्नो कलेजबाट उत्पादन गरेर पठाएका जनशक्ति देशविदेशमा राम्रो काम गरिरहेका छन् । प्रगति गरेका छन् । यसैमा खुशी छु ।’  

यति मात्र होइन कान्तिपुर डेन्टल कलेजले आफ्नै जनरल अस्पताल पनि सञ्चालन गरेको छ । जसले गर्दा दाँतको मात्र उपचार नभइ अधिकांश विशेषज्ञ सेवा अस्पतालबाट उपलब्ध हुन्छ । 

राजनीति र सामाजसेवा
१९ वर्षमा प्रेम विवाह गरेका बुद्धिमान श्रेष्ठ ५० वर्षमा लाग्दा समेत उस्तै युवा र जोशिला देखिन्छन् । घरभरि नातानातिना भए पनि उनी अझै पढिरहेका छन् । लडिरहेका छन् । उठिरहेका छन् । 

कक्षा ६ पढ्दा नै एमाले निकट अनेरास्ववियूको सदस्यता लिएका बुद्धिमानले ०५८ बाट सक्रिय राजनीति थाले । बुद्धिमानले गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा स्याङ्जाको चापाकोट नगरपालिकामा मेयरको उम्मेदवारी दिएका थिए । राजनीतिक अंक गणितका हिसाबले उनी हारे । तर पनि उनी चापाकोटको सम्मृद्धिका लागि भन्दै सामाजिक र राजनीतिक सिपाहीको भूमिका निभाइ नै रहेका छन् । 

काठमाडांैमा सबै किसिमबाट स्थापित भइसकेका बुद्धिमानको जन्मभूमिप्रतिको लगाव उल्लेखनिय छ । उनलाई चापाकोटबासीले विभिन्न कारणले चिन्छन् । कारण, उनले त्यहाँ अस्पताल बनाएका छन्, स्वास्थ्यचौकी बनाएका छन्, सडक निर्माण गरेको छन् । केन्द्रमा बसेर उच्च राजनीतिक र प्रशासनिक लबिङ गरेर उनले गतवर्षदेखि २३ करोड रुपैयाँ लागतमा गल्याङ–चापाकोट सडक निर्माण गरिरहेका छन् । 

हिजोआज स्याङ्जा चापाकोटका बिरामीदेखि, अभिभावकसम्म कहाँ उपचार गराउने र छोराछोरी कहाँ पढाउनेसम्म सोध्न उनका आइपुग्छन् । उनले सके स्थानीयको निःशुल्क नसके सहुलियतमा उपचार गराउँछन् । जन्मभूमिको सेवा गरे मात्र सन्तुष्टि मिल्ने उनको विश्वास छ । 

जसरी कान्तिपुर डेन्टल कलेज एण्ड हस्पिटलले दन्त स्वास्थ्य शिक्षाको क्षेत्रमा क्रान्ति गरेको छ । त्यसैगरी त्यसका संस्थापक एवं अध्यक्ष बुद्धिमान श्रेष्ठले आफ्नो कर्मको दायरालाई फराकिलो पारेका छन् । 

Last modified on 2017-09-11 16:37:38

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts