वीरले जुराइदिएको विवाह

डक्टर कपल



Download our app to get more features

‘ठीक ७ बजे नै आइपुग्नुहोला है ।’ ‘डक्टर कपल’ स्तम्भका लागि हाम्रो डक्टर म्यागेजीन टिमले कुराकानीको लागि प्रस्ताव गर्दा जोशी दाम्पतीले समयप्रतिको सचेतता देखाए । उनीहरूलाई लाग्दो रहेछ, सफल जीवन व्यतित गर्न समयको व्यवस्थापन निकै महत्वपूर्ण छ । त्यसैले त टेलिफोन सम्वादको अन्त्यमा पुनः दोहोर्याए, ‘नभुल्नु होला ठीक ७ बजे ।’

बिहान ७ बजे स्तम्भकार झम्सीखेलस्थित डा. रविन जोशी दाम्पतीको निवासमा पुग्दा उनीहरू त कुराकानीका लागि तयारी थिए नै छोराहरू पनि स्कूल जाने तयारीमा थिए । त्यहीबीचको आधा घण्टाको समय निकालेर कुराकानी ।  

दाम्पत्य जीवन कस्तो चल्दैछ ? कुराकानीको सुरुवातमै उनीहरूले मिठो पारामा परिभाषित गरे ‘घर त्यो हो जहाँ मन बस्छ । जुन परिवारमा सुख, शान्ति, समझदारी र एकअर्काप्रति विश्वास हुन्छ ।’ उनीहरूले थपे ‘जीवनलाई रंगीन बनाउन विवाहको महत्वपूर्ण भूमिका रहन्छ । र, परिवारलाई सफल बनाउन विवाहपछिको दाम्पत्य जीवनलाई उस्तै सुखद् बनाउन सक्नुपर्छ ।’  

कुरा सन् २००० को हो । डा. बिनिता र डा. रविनको पहिलोपटक वीर अस्पतालमा भेट भएको थियो । डा. बिनिता इन्टर्नसिपमा थिइन् भने डा. रविन मेडिकल अफिसर । बिनिताको नम्र स्वभावले रविन निकै प्रभावित भए । 

डा. बिनिताको इन्टर्नसीप सकिनासाथ पारिवारिक सल्लाह र सहमति अनुसार चिनजान भएको एक वर्ष नबित्दै उनीहरू विवाहसुत्रमा बाँधिए । त्यसपछि स्नातकोत्तर (पिजी) अध्ययनका लागि सँगै जाने उद्देश्यले दुवै जनाले कोसीस गरे पनि डा. रविनले पाकिस्तानमा अध्ययनका लागि पहिला अवसर पाए । त्यहि वर्ष पहिलो सन्तानको रुपमा उनीको छोरो जन्मियो । यही बर्ष डा. बिनिताको न्याम्समा पीजी अध्ययनका लागि पनि नाम निस्कियो । 

संघर्ष

समय अहिलेको जस्तो थिएन । त्यो समय निकै कठिन थियो । रातीको ड्यूटी हुन्थ्यो । बच्चा सानो भएकाले काम गर्न डा. बिनितालाई सहज थिएन । ‘हामी दुबैको परिवार निकै सहयोगी भएका कारण बच्चाको तनाव भएन ।’ उनले भनिन् ‘सानो परिवार, बच्चाको पढाई अनि काम । उनले त्यो समय कसरी मिलाइन होला मलाई आज पनि अचम्म लाग्छ ।’ डा. रविन भन्छन्...

पाकिस्तानमा अध्यनरत डा. रविन ६ महिनाको अन्तरमा नेपाल आवतजावत गर्थे । त्यो समयमा अहिले जस्तो सामाजिक सञ्जालको थिएन । स्काइपमा कहिलेकाहीँ भिडियो कल हुन्थ्याँे । त्यो बेला पनि धेरै कुराकानी त कहाँ हुन्थ्यो र ?

डा. रविन तीन वर्षपछि नेपाल फर्किए । त्यसपछि उनलले युरोलोजी र बिनीताले बालरोग विशेषज्ञको रुपमा केएमसी अस्पतालमा काम थाले । त्यसको एक वर्ष नबित्दै जोशी दाम्पतीको दोश्रो सन्तान जन्मिए ।

तर, उनीहरूको पढ्ने र विशेषज्ञता हासिल गर्ने रहर पुरा भएको भने थिएन । दोस्रो छोरा जन्मिएको एक वर्ष नबित्दै डा. बिनीता बालरोग मै ग्यास्ट्रो र हेपाटोलोजी पढ्न र डा. रविन युरो अकोंलोजीमा सबस्पेशलाइजेशन गर्न भारत गए । डा. बिनिताले नयाँ दिल्लीस्थित गंगाराम अस्पताल र डा. रविनले राजीव गान्धी क्यान्सर अस्पताल एवं कलेजमा अध्ययन गरे । 

बालरोगमा ग्यास्ट्रो विषय नेपालको सन्दर्भमा नयाँ थियो । दिल्लीको अध्ययन सकेर डा. बिनिताले नर्भिकमा काम सुरु गरिन । नर्भिकमा काम गर्दागर्दै डा. बिनिताले झण्डै ६ महिना कान्ति बाल अस्पतालमा ‘भोलेन्टियर’को रुपमा काम गरिन् । ‘मलाई मेरो विषयको बारेमा बुझाउनु थियो, त्यो ठाउँ बच्चाको उपचार हुने र धेरै चिकित्सकहरू हुने मुख्य ठाउँ थियो ।’

भारतमा पढेर आएपछि डा. बिनितालाई उक्त बिषयको बारेमा बुझाउन निकै कठिन भएको सम्झन्छिन्, ‘डा. सोसाइटीमा पनि पिडीयाट्रिक ग्यास्ट्रो र हेपाटोलोजी चाहिँदो रहेछ । बच्चाको पनि इन्डोस्कोपी गर्नुपर्दोरहेछ भनेर बुझाउन गाह्रो थियो । तर, अहिले ४—५ वर्षको अवधिमा धेरै परिवर्तन आएको छ । अहिले धेरै अस्पतालले सो सेवा सुरु गरिसकेका पनि छन् ।’ डा. बिनीताले सुनाइन् ।

डा. रविनको पनि यूरोअंको (मुत्र क्यान्सर)  नयाँ विषय थियो । उनी आफुलाई युरो अंको पढ्ने नेपालको पहिलो व्यक्ति भएको दाबी गर्छन । ‘सर्जरी, युरोलोजी गरेपछि युरो अंकोमा सबस्पेशलाइजेशन गर्ने म नेपालमा पहिलो थिए । 

खुशाल दाम्पत्य जीवन

‘यस्तो नम्र स्वभावका पनि मान्छे हुन्छन् र भन्ने लाग्थ्यो मलाई ?’ छेउमा बसेर मुस्कुराइरहेकी डा. बिनितालाई हेर्दै डा. रवीनले भने, ‘उनको नम्र व्यवहार र मिठो बोली अहिले पनि उस्तै छ ।’ डा. रविनको कुरा नसकिदै डा. बिनिताले भनिन् ‘उहाँको पनि सँधै मुस्कुराइरहने बानी छ, जसलाई देखेर हरेक समयमा एक प्रकारको उर्जा मिल्छ ।’

चिकित्सक बन्न चाहदैनन् छोराहरू 
जोशी दाम्पतीका १३ र ८ वर्षीय दुवै छोरा स्पोर्ट्समा अब्बल छन् ।  कतिपयको परिवारमा पुस्तागत पेशा अपनाउने चलन हुन्छ । तर, जोशी दाम्पतीका दुवै छोरा चिकित्सक नबन्ने सोचमा छन् । 
‘१६— १७ वर्षको चिकित्सा पेशामा लाग्दा हामी दुबैलाई पेशाप्रति कहिल्यै अरुची भएन । तर छोराहरूलाई भने यस पेशाप्रति रुची जगाउन सकेनौं ।’ डा. रविन भन्छन् । 

परिवारलाई समय 
बिरामीकै उपचारमा अधिकांश समय बित्ने भएकाले सबैजसो चिकित्सकको परिवारलाई पर्याप्त समय दिन नसकेको गुनासो सुनिन्छ । तर, जोशी दाम्पती भने परिवारको लागि पर्याप्त समय दिँदै आएको बताए । ‘समय बिभाजन गर्ने गरेका छांै, हाम्रो फिक्स समय हुन्छ ।’ डा. बिनिताले भनिन्, ‘म बिहान छिटो निस्कन्छु, बेलुका चाँडो आउँछु, उहाँ बिहान केही ढिला निस्कनुहुन्छ र बेलुका ढिला आउनुहुन्छ । यसले गर्दा छोराहरूसँग हामी दुई मध्ये एक प्राय साथमै हुन्छांै ।’ 
कन्फरेन्स, मिटिङ जस्ता भेटघाटमा जोशी दम्पती कहिल्यै पनि सँगै नपार्ने गरेको बताउँछन् । डा. बिनिता जानु परे डा. रविनले घरपरिवार रेखदेख गर्छन्, डा. रविन गए बिनिताले । जोशी दम्पती भन्छन्, ‘हाम्रो सफल जीवनको रहस्य नै अन्डरस्ट्याण्ड र सर्पोट हो ।’ एउटै पेशामा भए पनि फरकफरक बिषय भएकाले एक अर्काको अनुभव साँटासाट गर्न निकै रमाइलो हुने बताउँछन् जोशी दाम्पती । घरमा दिनहुँ कामको कुरा हुन्छ । एउटै पेशा भनेर त्यस्तो बोरिङ महशुस कहिल्यै भएन । तर, बच्चाहरूले चाँही कहिलेकाहीँ निकै ‘इरिटेड’ मान्ने उनीहरूको अनुभव छ । ‘हामी छलफल गर्दा रमाइलो मानिरहेका हुन्छौं । तर, अस्पतालबाट फोन आउँदा, कत्ति फोन आएको भनेर बच्चाहरू रिसाउँछन् । त्यसैले बेलाबेला हामी घरमा चिकित्सा पेशा बाहेकका साथीहरूलाई पनि बोलाएर जमघट गरिरहेका हुन्छांै । जसबाट हामी मात्र होइन छोराहरू पनि खुसी हुन्छन् ।’ दम्पतीले रमाइलो पारामा सुनाए । 

बिदाको समय छोराहरूलाई

जोशी दाम्पतीले शनिवारको एक दिन छोराहरूका लागि छुट्टाएका छन् । लिटिल एन्जल्स स्कुलमा अध्ययनरत ठुलो छोरा क्रिकेटमा रुची राख्छन् । उनको गिटार बजाउँनमा पनि रुची छ । डा. रविन शनिवार दिनभर छोराको क्रिकेट तालिमका लागि छुट्टयाउँछन् । कान्छो छोरा पनि इन्टरस्कुलको अन्डर एट च्याम्पियन हुन् । उनलाई लिएर तालिमको लागि त्रिपुरेश्वर पुगेकै हुन्छन् । ‘हामीले आफ्नो करिअर मात्र हेरेका छैनौं । छोराहरूको पोटेन्सियल जे छ, त्यसलाई प्रोत्साहन दिन हामी बिदाको दिन छोराहरूको लागि छुट्टयाउछौँ ।’ डा. बिनिताले भनिन्, ‘उहाँ दिनभर तालिममा मा पु¥याउने ल्याउने गर्नुहुन्छ । म बिहान बेलुका उनीहरूसँगै हुन्छु ।’ 

डा. बिनिताको नजरमा श्रीमान डा. रविन 

उहाँका राम्रा बानी

♦     सबैसँग छिटो घुलमिल हुने, राम्रो श्रीमान पाएकी छु ।
♦     केयरिङ हुनुहुन्छ ।
♦     छोराहरूलाई पर्याप्त समय दिनुहुन्छ ।
♦     मलाई स्वतन्त्र भएर काम गर्न दिनुहुन्छ ।
♦     मेहेनती हुनुहुन्छ ।

उहाँलाई सुझाब
♦     सानो कुरामा पनि छिटो तनाव लिने बानी छ । 
♦     छिटै रिसाइहाल्ने बानी कम गरे हुन्थ्यो जस्तो लाग्छ । 
♦    अरुलाई छिटो विश्वास गर्ने बानी छ । जसकारण अरु गलत फाइदा उठाइरहेका हुन्छन् । 
♦     ड्राइभिङ गर्दा पनि निकै छिटो रिसाउनुहुन्छ । त्यसरी नरिसाइदिए हुन्थ्यो जस्तो लाग्छ । 
♦     घरमा हुँदा सोसल मिडियामा अलि भुल्ने बानी छ ।

डा रवीनको नजरमा श्रीमती डा. बिनिता  

♦    निकै नम्र स्वभावकी छिन् । 
♦    हत्तपत्त रिसाउँदिनन् । 
♦    परिवारप्रति निकै जिम्मेवार छिन् । 
♦    निर्णय गर्ने क्षमता मेरोभन्दा निकै अब्बल छ । 
♦     इनर्जेटिक छिन्, हरेक कुरामा एक्टिभ छिन् ।

उनलाई सुझाब
♦   जिद्धी स्वभाव छ । यसले कहिलेकाँही तनाव सिर्जना गरिदिन्छ । 
♦    हत्तपत्त रिसाउँदिनन् तर रिसाएपछि लामो समयसम्म रिस साच्ने बानी छ । 
♦    उनले गरेको काममा कसैले हस्तक्षेप गरेको पटक्कै मन पराउँदिनन् । 
♦    सपिङ गर्न धेरै समय लगाउँछिन् । एउटा सामान किन्नु पर्यो भने पटकपटक छान्ने बानी छ ।

एक अर्काको सकारात्मक गुणलाई चिन्ने कला नै जीवनलाई रंगीन बनाउने एउटा महत्वपूर्ण पक्ष हो  । कतिपय दम्पति एक अर्काको त्यस्ता केहि बानीबाट निकै प्रभावित भएका हुन्छन् । तर प्रशंसा गर्न सकिरहेका हुँदैनन् । साथै एक अर्काका केहि बानीबाट वाक्क भएका हुन्छन् । जुन बानीलाई कमजोरीको रुपमा लिएर पनि भन्न सकेका हँुदैनन् । 

(हाम्रो डक्टर मासिक पत्रिकाबाट)

Last modified on 2017-09-17 07:18:18

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts