एमबीबीएस चिट चोरी प्रकरण

९ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड !



Download our app to get more features

काठमाडौं, २६ कात्तिक । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले चिटकाण्डपछि रोकिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्ने या रद्द गर्ने भन्ने विषयमा निर्णय लिन ढिलो गर्दा डाक्टर बन्ने सपना बुनेका ९ हजार विद्यार्थीको भविष्य संकटमा परेको छ। निर्णय ढिलाइले आईओएमअन्तर्गतका महाराजगन्ज मेडिकल कलेज, किस्ट, आर्मी, जानकी, गण्डकी, युनिभर्सल, नेसनललगायत मेडिकल कलेजको एमबीबीएस तह अध्ययनको एउटा सेसन नै सर्ने देखिएपछि विद्यार्थीको भविष्य संकटमा परेको हो ।
 
प्रवेश परीक्षामा चिट चोरी भएको प्रहरीको प्रारम्भिक प्रतिवेदन आइसकेकाले नतिजा सार्वजनिक गर्दा सर्वत्र विरोध हुन सक्ने र रद्द गर्दा आफूहरूको गल्ती ठहर हुने भयमा आईओएमका पदाधिकारी परेका छन् । नेपाल मेडिकल काउन्सिलका रजिस्टार डा. दिलीप शर्माले प्रवेश परीक्षाबारे समयमै निर्णय नहुँदा महँगो शुल्क बुझाएर विद्यार्थी बिदेसिन थालेको बताए। ‘कारण जे भए पनि आईओएमले निर्णय लिन ढिलाइ गर्दा त्यसको असर डाक्टर बन्ने उद्देश्य राखेका हजारौं विद्यार्थीमा परेको छ’, डा. शर्माले भने, ‘नेपालमा एक वर्ष खेर जाने सम्भावना देखिएपछि कन्सलटेन्सीलाई १० लाख रुपैयाँसम्म अतिरिक्त रकम बुझाएर विदेश जाने तयारी गरेको बुझिन्छ ।’ 

पुरानो प्रवेश परीक्षा रद्द गरेर अर्को प्रवेश परीक्षा लिनुपर्ने अवस्था आए योग्यता क्रम छान्ने, काउन्सिलिङ गर्नेलगायत काममा अझै ६ महिना धकेलिन सक्छ । त्यतिन्जेलसम्म अधिकांश विद्यार्थी कि महँगो शुल्क तिरेर विदेश जान्छन् भने कतिपय अन्य विषय अध्ययन गर्न बाध्य हुनेछन् । डा. शर्माका अनुसार एमबीबीएसको यो वर्षको सेसन तीन महिनाअगावै सुरु हुनुपर्ने थियो । 

महानगरीय प्रहरी परिसर काठमाडौंले उक्त परीक्षामा प्रश्नपत्र बाहिरिएपछि सोहीअनुसार केही विद्यार्थीले चिट चोरेको प्रतिवेदन आईओएमलाई बुझाइसकेको छ । आईओएमका डीन डा. जगदीश अग्रवालले चिटकाण्डका विषयमा त्रिभुवन विद्यालयका चिन्तामणि पोखरेलको संयोजकत्वको पाँच सदस्ययी समितिले छानबिन प्रतिवेदन बुझाउन समय लगाउँदा नतिजाबारे अन्योल छाएको दाबी गरे । प्रवेश परीक्षाबारे छानबिन प्रतिवेदन बुझाउन दुई साताको समय लिएको समितिले थप दुई साता बितिसक्दा पनि प्रतिवेदन बुझाएको छैन । डा. अग्रवालले त्रिविका उपकुलपति बाहिर भएकाले समय लागेको भन्दै अब केही दिनमै प्रतिवेदन आउने बताए। ‘प्रतिवेदन आउनासाथ त्रिविको कार्यकारी परिषद्ले लिने निर्णयअनुसार हामी अघि बढ्नेछौं,’ डा. अग्रवालले भने ।

असोज २८ गते आईओएमले लिएको एमबीबीएस प्रवेश परीक्षामा ‘म्याग्नेटिभ डिभाइस’बाट चिट चोराएको पुष्टि भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले परीक्षाको पहिलो दिन चिट चोराउने सप्तरीका नाइके समीर झा, डा. सुशील मण्डलसहित १६ जनालाई पक्राउ गरेको थियो। उक्त अप्रेसनमा केन्द्रीय अनुसन्धान ब्युरोले पनि सहयोग गरेको थियो । चिट चोराउनेमध्ये १० जनालाई प्रहरीले साइबर अपराध र ठगी मुद्दामा कारबाही अघि बढाइसकेको छ। त्यस्तै, दुई जनालाई शिक्षा ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको छ । घटनामा संलग्न केही व्यक्ति अझै फरार रहेको प्रहरीले जनाएको छ ।

कन्सलटेन्सको संलग्नतामा
उक्त चिटकाण्डमा कन्सलटेन्सी सञ्चालकको समेत संलग्नता रहेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीका अनुसार उक्त काण्डमा पुतलीसडकस्थित एडुमार्क कन्सलटेन्सीका सञ्चालक अभय मिश्र, बिजुली बजारस्थित एक कन्सलटेन्सीका सञ्चालक शैलेस झा पक्राउ परेका छन् । एसपी जोशीले उनीहरूमाथि साइवर अपराध र ठगीमा मुद्दा चलाइरहेको छ । उक्त प्रवेश परीक्षामा मुख्य योजनाकार समीर झाको सहयोगमा मि श्रले डा. सुशील मण्डलको सहयोगमा प्रश्नपत्रको उत्तर विद्यार्थी दिने काममा संलग्न थिए । शैलेस झाले पाँचवटा म्याग्नेटिक डिभाइस परीक्षार्थीलाई उपलब्ध गराएका थिए । प्रवेश परीक्षालाई विवादमा पारी परीक्षार्थीबाट कमिसन लिएर उनीहरूलाई विदेश पठाउन कन्सलटेन्सी सञ्चालकहरू लागिपरेको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त परीक्षामा ९ हजार विद्यार्थी सहभागी थिए । चिट चोरी काण्डको भोलिपल्टै असोज २९ गते उक्त परीक्षा खारेज गरी अर्को परीक्षा लिनुपर्ने मागसहित सोही परीक्षामा सहभागी विद्यार्थी आन्दोलनमा उत्रिएका थिए ।

‘विद्यार्थीको भविष्यमाथि खेलवाड हुन दिन्नँ’
प्राध्यापक डा. गोविन्द केसीले आईओएमको प्रवेश परीक्षा काण्डबारे छानबिन प्रतिवेदन सार्वजनिक गर्न ढिलो हुँदा हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड भएको भन्दै त्यसविरुद्ध आफू उभिने बताएका छन् । डा. केसीले आफ्नो मागअनुसार चिकित्सा शिक्षा अध्यादेश जारी भए पनि आईओएमको चिटकाण्ड, काठमाडौं नेसनल मेडिकल कलेजको घटनाविरुद्ध सत्याग्रह गर्ने चेतावनीसमेत दिएका छन् । ‘आईओएमको चिटकाण्डबारे प्रहरीले छानबिन गरिरहेको छ तर केही प्रतिवेदन बुझाएको छैन । त्रिविको छानबिन समितिले पनि केही गर्न सकेको छैन,’ डा. केसीले भने, ‘यहाँ ९ हजार विद्यार्थीको खेलवाड भइरहेको छ । एक हप्तामा बुझाउनुपर्ने प्रतिवेदन चार हप्ता बितिसक्दा पनि अत्तोपत्तो छैन । छानबिन तुरुन्त नभए पुनः म सत्याग्रहमा बस्छु ।’

(आजको अन्नपूर्णपोष्ट दैनिकमा दीपा दाहालले लेखेको समाचार)

यो पनि पढ्नुहोस् 

विवादित एमबीबीएस प्रवेश परीक्षा रद्द गर्न माग

छानबिन समितिले आगामी साता प्रतिवेदन बुझाउँदै

Last modified on 2017-11-12 13:23:10

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts