पुरुषले गर्दैनन् बन्ध्याकरण



Download our app to get more features

जनकपुरधाम, ८ पुष । ३० कात्तिकपछि जनकपुर अञ्चल अस्पतालमा एक सय ९६ जनाले बन्ध्याकरण गरे तर सबै महिलाले । यही अस्पतालमा गत वर्ष तीन सय ५० जनाले बन्ध्याकरण गरेका थिए, जसमा पुरुषको संख्या तीन मात्र रहेको परिवार नियोजन शाखाले जनाएको छ ।

पुष महिना सुरु भएसँगै धनुषामा परिवार नियोजनको स्थायी साधन बन्ध्याकरण गराउन स्वास्थ्य संस्था भरिभराउ हुन थालेका छन् । तर, सबै महिला मात्र । अञ्चल अस्पतालमै दैनिक २० देखि ३० जना बन्ध्याकरण गराउन आउने गरेकोमा पुरुष भने एक जना पनि नरहेको परिवार नियोजन शाखा प्रमुख राजकुमारी यादवले बताइन् ।

बन्ध्याकरणका लागि महिलाले मिनिल्याप र पुरुषले भ्याक्सेटोमी गर्छन् । यादव भन्छिन्, ‘भ्यासेक्टोमी सेवा लिन एक जना पुरुष पनि आएका छैनन् ।’

परिवार नियोजन गर्न नहुने धार्मिक मान्यता राख्ने मुस्लिम समुदायका महिलासमेत मिनिल्यापप्रति आकर्षित भइरहेका छन् । गत वर्ष जिल्लाबाट आठ मुस्लिम महिलाले मिनिल्याप सेवा लिएका थिए । एक मुस्लिम महिलाले पुरुषले परिवार नियोजनका अस्थायी साधन प्रयोग नगर्ने भएकाले बन्ध्याकरण गरेको बताएकी थिइन् । यो वर्ष भने अहिलेसम्म मुस्लिम महिलाले बन्ध्याकरण सेवा लिएका छैनन् । परिवार नियोजन सेवा लिने अन्य समुदायका पुरुष भने बन्ध्याकरण गर्ने ‘ठेक्का’ महिलाको ठानिरहेका छन् ।

स्वास्थ्यकर्मी सञ्जय चौधरी महिलाले बन्ध्याकरण गर्नुपर्ने सोचका कारण पुरुष यसबाट पन्छिरहेको बताउँछन् । ‘बन्ध्याकरण र्गयो वा परिवार नियोजनको साधन प्रयोग र्गयो भने ‘पुरुषत्व’माथि प्रभाव पर्ने संकीर्ण सोचका कारण पनि बन्ध्याकरण गर्न महिलालाई बाध्य पार्ने गरिन्छ’, उनी भन्छन् ।

अधिकांश पुरुषले बच्चा पाउने वा नपाउने मुख्य जिम्मेवारी महिलाको ठानेर बन्ध्याकरण वा परिवार नियोजनका साधन प्रयोगमा चासो नदेखाएको हुन सक्ने शाखा प्रमुख यादवको ठम्याइ छ । सन्तान पाउनका लागि महिला र पुरुषको जिम्मेवारी एकनासको हुने भएकाले बन्ध्याकरण पनि दुवैले गर्न सक्ने उनी बताउँछिन् ।

बन्ध्याकरण वा परिवार नियोजनका अस्थायी साधन प्रयोगमा पुरुषको दबाब हुने गरेको बन्ध्याकरण गर्न आउने महिला बताउँछन् । सामुदायिक अस्पतालमा बन्ध्याकरण गराउन आउनेलाई दुई सय ५० रुपैयाँ यातायात खर्च दिएर प्रोत्साहन गरिन्छ । यो नीतिले पुरुषलाई भ्यासेक्टोमीमा आकर्षित गर्न सकेको देखिएको छैन ।

 

(आजको अन्नपूर्ण पोस्ट दैनिकमा मनिका झाले लेखेको समाचार)

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts