तराईका १६ प्रतिशत बालबालिकामा कुपोषण



Download our app to get more features

बीबीसी,७ माघ । गत वर्षको बाढीयता पर्याप्त पोषणयुक्त खानेकुरा खान नपाएकाले तराईका १६ प्रतिशत बालबालिकामा कुपोषण देखिएको अधिकारीहरूले बताएका छन्।

बाल स्वास्थ्य महाशाखाका अनुसार भारतसँग सीमा जोडिएका तराईका कतिपय गाउँका ३५ प्रतिशत बालबालिकामा कुपोषण देखिएको छ।
गए वर्ष गएको विनाशकारी बाढीपछि तराईका प्रायः जिल्लाका बालबालिकाले पोषणयुक्त खानेकुरा नपाएको बताइन्छ।
जसका कारण बालबालिकामा हुने कुपोषण बढेको बाल स्वास्थ्य महाशाखा वरिष्ठ जनस्वास्थ्य प्रशासक राजकुमार पोखरेलले बताए।

तथ्याङ्क
उनले भने, “बाढीका कारण अन्न भिजेर वा बगाएर लामो समयसम्म पोषणयुक्त खानेकुरा खान नपाएपछि बालबालिकालाई कुपोषण भएको हो। बारा, रौतहट, सर्लाही, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सुनसरी, मोरङ, झापा लगायतका जिल्लामा कुपोषण बढेको पाइएको छ।“
भारतसँगको सीमा जोडिएका स्थानका धेरै बालबालिकामा कुपोषण देखिएको पोखरेलले बताए।
तर फरक–फरक स्थानमा कुपोषणको प्रतिशत फरक रहेको उनको भनाइ छ ।
पोखरेलले भने, “कुनै ठाउँमा ८ प्रतिशत छ। त्यसैगरी १०र१५ हुँदै ३५ प्रतिशतसम्म कुपोषण पाइएको छ।“

स्वास्थ्य मन्त्रालयले बाढीका बेलामा कुपोषण भएका बालबालिकाको तथ्याङ्क संकलन गरेको थियो।
त्यसपछि कुपोषित बालबालिका रहेका तराई आठ जिल्लामा पोषणयुक्त पिठो वितरण लगायतका विशेष कार्यक्रम सञ्चालन गरिरहेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।

जटिल
भित्री तराईका कतिपय बच्चामा कुपोषण मात्र नभइ जटिल किसिमका रोग समेत भएको पाइएको जनस्वास्थ्यकर्मीहरूले बताएका छन्।
त्यस्ता बच्चाहरूलाई पोषणयुक्त खानेकुराले मात्र कुपोषण नहट्ने उनीहरूको भनाइ छ।
जिल्ला जनस्वास्थ्य झापाका पोषण कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले भने, “जटिल रोग लागेकालाई पोषणयुक्त खानेकुराले मात्रै हुँदैन। तर अधिकांश बच्चाहरूको कुपोषण निको हुने प्रकारको छ।“
कुपोषण ६ महिनादेखि पाँच वर्षसम्मका धेरै बालबालिकामा देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन्।
पछिल्लो समय बालबालिकालाई लिटो, जाउलो र पर्याप्त स्तनपान गराउने बानी घट्दै गएका कारण कुपोषणको समस्याले ठूलो रुप लिन थालेको उनीहरूको भनाइ छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts