छोराको पर्खाइमा छोरीलाई गर्भमै ‘त्याग’



Download our app to get more features

काठमाडौँ, १०  माघ । छोरा पर्खंदापर्खंदै उनले ९ वटी छोरी जन्माइन । ४५ वर्षको उमेरमा उनी १६ पटक गर्भवती भइसकिन । भन्छिन, ‘भिडियो एक्सरे गर्दा छोरी भन्ने थाहा पाएपछि कति गर्भ अस्पतालमा तुहाएँ, कति खानपान र आराम नपुगेर खेर गए ।’

उनी हुन, कञ्चनपुरकी एक मध्यमवर्गीय महिला । छोराको चाहनामा उनले गर्भमा आएका पाँचवटी छोरी त्यागिन, प्राविधिक भाषामा भन्दा पाँचपटक ‘गर्भपतन’ गराइन । 

परिवारको दबाबमा उनले भारत गएर गर्भपतन गराएको सुनाइन । धेरैपटकको असुरक्षित गर्भपतनका कारण अहिले उनी रक्तश्राव भइरहने, कमजोरी हुनेजस्ता स्वास्थ्य समस्या भोगिरहेकी छन । भारत गएर लिंग पहिचान गरी पाँचपटक गर्भपतन गराउँदा उनले एक लाख खर्च गरेको सुनाइन । ‘ऋणको पैसा लिएर भारत पुगेँ, भएको पैसा छोरी जन्मनै नदिन खर्च गरेँ, जन्मिएकालाई पढाउन पैसा छैन,’ उनले भनिन ।

समाजमा छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने चलन व्याप्त हुँदा छोराको पर्खाइमा गर्भमै छोरी तुहाउने प्रवृत्ति बढ्दो छ । अस्पतालहरूको जन्मदर तथ्यांक हेर्दा बालक र बालिकाबीच जन्मदर अन्तर फराकिलो हुँदै गइरहेको छ ।

यसले भ्रूणको लिंग पहिचान गरी गर्भपतन गराउने प्रवृत्ति बढेको संकेत गर्छ । धेरैले भारतमा गई भ्र्रूणको लिंग पहिचान गर्छन् र नेपालमा आएर डाक्टरको सल्लाहबिनै गर्भपतनका औषधि किनेर खाने गरेका छन । डेढ दशक अघिदेखि नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको छ ।

(आजको कान्तिपुरबाट)
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts