विशेषज्ञ चिकित्सक नहुँदा सेवामा समस्या



Download our app to get more features

पथरी (मोरङ), २१ माघ । सर्वसाधारणलाई सहुलियतमा स्वास्थ्य सेवा दिइरहेको कोशी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नपठाउँदा समस्या भइरहेको छ । 

दरबन्दी पूर्ति हुन नसक्दा एघारौँ तहका विशेषज्ञ (कन्सलटेन्ट) चिकित्सकको सेवा आठौँँ तहका मेडिकल अफिसरले दिनुपर्ने बाध्यता छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालले जनाएको छ । कोशीमा एघारौँ तहका विशेषज्ञ (कन्सलटेन्ट) ४० र मेडिकल अफिसर ३४ गरेर ७४ जना चिकित्सकको दरबन्दी छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेलले ४० जनाको दरबन्दी रहे पनि एघारौँ तहका कन्सलटेन्ट चिकित्सक आधा पनि नरहेको बताए । आठौँ तहका मेडिकल अफिसर पनि ३० जना मात्रै छन् । 

मेसु पोखरेलका अनुसार दरबन्दी विशेषज्ञ चिकित्सकको भए पनि अस्पताल विकास समितिबाट मेडिकल अफिसरलाई नियुक्ति गरेर सेवा दिनु परिरहेको छ । उनले कन्सलटेन्टको दरबन्दी रहेका ठाउँमा मेडिकल अफिसरलाई करारमा अस्पताल विकास समितिबाट नियुक्ति दिएर काममा लगाउनुपर्ने अवस्था रहेकोले बिरामीले पाउने स्वास्थ्य सेवामा पनि समस्या हुने गरेको बताए । उनीहरुको सबै खर्च अस्पताल विकास समितिले नै बेहोर्नु पर्छ । सरकारले विभिन्न सेवा थप गर्दै औजार र उपकरण पठाउने गरे पनि दक्ष चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालले जनाएको छ । 

अस्पताल विकास समितिका अध्यक्ष डा आरएल करुवाले सरकारले दरबन्दीअनुसार चिकित्सक नपठाउँदाको भार विकास समितिको थाप्लोमा आउने गरेको बताए । अस्पतालको आन्तरिक आम्दानीले खर्च धान्न छाडिसकेको बताउँदै उनले करारमा राखिएका चिकित्सक र कर्मचारीलाई समयमा तलव खुवाउन नपाएर समस्या पर्न थालेको जानकारी दिए ।

 

रासस 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts