स्वास्थ्यचौकीमा चौबीसघण्टे ‘बर्थिङ सेण्टर



Download our app to get more features

फलेवास पर्वत, २३ माघ । महाशिला गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थामा चौबीसघण्टे गर्भवती र सुत्केरी सेवा विस्तार भएको छ । 

गाउँपालिकाका छ वटै वडामा रहेका स्वास्थ्यचौकीमा सो सेवा नियमित रुपमा सञ्चालन गर्न थालिएको हो । गाउँपालिकाअन्तर्गत वडा नं ५ लुखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि सो सेवा सञ्चालनमा आए पनि अन्य पाँच स्वास्थ्यचौकीमा भने यस वर्षदेखि सो सेवा थप गरिएको हो । 

स्थानीय तहमा जनप्रतिनिधि निर्वा्चित भएर आइसकेपछि उपचारका अभावमा गर्भवती र सुत्केरीले अकालमा ज्यान गुमाउन नपरोस् र तत्काल आफ्नै गाउँमा रहेको स्वास्थ्यचौकीबाट सेवा लिन पाऊन् भन्ने उद्देश्यले चौबीसै घण्टा आकस्मिक गर्भवती र सुत्केरी सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार विगतमा सञ्चालन हुँदैआएको प्राथमिक केन्द्रमा पनि जटिल किसिमका बिरामीको उपचार नहुने तथा दक्ष जनशक्ति नबस्ने समस्याले गर्दा स्थानीय महिलाले सास्ती खेप्दै आउनुपरेको थियो । गाउँपालिकाले यस वर्ष रु १७ लाख विनियोजन गरी सबै स्वास्थ्यचौकीमा सुत्केरी सेवा दिन सकिने पूर्वाधार तथा जनशक्तिको व्यस्थापन गरिएको हो । ग्रामीण भेगमा चौबीसै घण्टा यातायात पहुँच नहुने र सामान्य परिवारले अर्थ अभावका कारण तत्काल अस्पताल पु¥याएर सुत्केरी गराउन नसक्ने अवस्थालाई ध्यानमा राखी सो सेवा तत्काल थप गरिएको पौडेलले बताए । 

उनले भने, “आम महिला दिदीबहिनीलाई जनप्रतिनिधि आएपछिको पहिलो राहातस्वरुप यो सेवा थप गरिएको छ । गाउँपालिकाअन्तर्गत हाश्राङ्दी, भोक्सिङ, बालाकोट, पाखापानी र फलामखानीका स्वास्थ्यचौकीमा यो सेवा गत महिनादेखि सुचारु गरिएको हो ।” 

गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा जनशक्तिसमेत अभाव नहोस् भन्ने उद्देश्यले अनमी १२ र स्वास्थ्य संस्था सहयोगी १२ कर्मचारी पदपूर्तिसमेत गर्न थालेको छ । गाउँपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी कर्मचारी माग गरिएको पौडेलले जानकारी दिए । 

“जीर्ण भएका संरचना पुनःनिर्माण, औषधिको पर्याप्त व्यवस्था, प्रत्येक टोल टोलमा स्टे«चरको व्यवस्था, महिला स्वयंसेविकालाई समेत जिम्मेवारी प्रदान गरेर कुनै पनि नागरिक राज्यले प्रदान गर्ने स्वास्थ्य सेवाबाट वञ्चित हुन नपर्ने व्यवस्था गरेका छौँ”, अध्यक्ष पौडेलले जानकारी दिए । 

अहिले लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एमबिबिएस चिकित्सकसहितको सेवा र अन्य स्वास्थ्यचौकीमा अहेवको नेतृत्वमा कर्मचारी व्यवस्थापन गरिएको बताइएको छ । जिल्लाका अन्य स्थानीय तहभन्दा धेरै र प्रभावकारी रुपमा काम गरेको महाशिलाले शिक्षा क्षेत्रमा समेत सुधार योजना अघि बढाएको छ । 
 

रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts