चिकित्सक लाइसेन्स परीक्षा : विदेशमा पढेका ३६ पटकसम्म फेल



Download our app to get more features

काठमाडौं, ८ फागुन । नेपालको मेडिकल शिक्षाको गुणस्तरमाथि प्रश्न उठेका बेला विदेशमा अध्ययन गरेका चिकित्सक ३६ पटकसम्म फेल भएको तथ्य पत्ता लागेको छ ।

नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा विदेशमा अध्ययन गरेर आएका चिकित्सकले ३६ पटक अर्थात् १२ वर्षसम्म निरन्तर परीक्षा दिँदा पनि पास गर्न नसकेको तथ्य खुलेको हो ।

नेपालमा मेडिकल शिक्षाको गुणस्तर कामै नलाग्ने अवस्थामा रहेको भ्रम छरेर विद्यार्थी विदेश पढ्न जान बाध्य बनाउन थालेपछि मेडिकल काउन्सिलले नेपाल र विदेशमा अध्ययन गरेर आएका चिकित्सकको क्षमता मापन गरेको हो । काउन्सिलले बताएअनुसार चीन, पाकिस्तान, बेलारुस, कार्ज्किस्तान, जर्जिया र बंगलादेशमा अध्ययन गरेर आएका धेरै चिकित्सक लाइसेन्स परीक्षामा निरन्तर फेल भएका छन् । काउन्सिल स्रोत भन्छ, ‘१२ वर्षसम्म निरन्तर परीक्षा दिँदा पनि पास नभएपछि विदेशबाट एमबिबिएस पढेर आएका थुप्रैले परीक्षा दिन छाडेका छन् । केहीले अझै दिइरहेको पाइएको छ ।’

नेपालकै मेडिकल शिक्षा अब्बल
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटाले नेपालको मेडिकल शिक्षा अब्बल रहेको दाबी गरे । ‘नेपालको मेडिकल शिक्षाको गुणस्तरमा हालसम्म कुनै घुनपुत्ला लागेको छैन,’ उनले भने, ‘काउन्सिलले वर्षको तीनपटक चिकित्सक लाइसेन्स परीक्षा लिँदै आएको छ । नेपालमा अध्ययन गरेका चिकित्सकले बढीमा दुईपटकमा लाइसेन्स परीक्षा पास गरेका छन् । विदेश पढेर आएका कतिले धेरै पटकसम्म नि पास गर्न सकेका छैनन् ।

उनले फेल भएका चिकित्सकको नाम र संख्या भने बताउन चाहेनन् । उनले यसअघि नेपाल मेडिकल काउन्सिलले लिएको परीक्षाको नतिजा हेर्दा पनि सहज रूपमा अनुमान लगाउन सकिने दाबी गरे । नेपाल मेडिकल काउन्सिलले पछिल्लोपटक कात्तिकमा लिएको लाइसेन्स परीक्षामा पाकिस्तान, बेलारुस, कार्ज्किस्तान र जर्जियाको पासदर शून्य छ भने चीन, पाकिस्तान, बंगलादेश, फिलिपिन्समा पढेर आएका चिकित्सक न्यून मात्र पास भएका छन् ।

३६ पटकमा पास गरे पनि गुणस्तरमा शून्य
अध्यक्ष बाँस्कोटाले परीक्षा दिइरहन पाउने प्रावधानलाई हटाउने तयारीमा काउन्सिल लागेको बताए । ३६ पटक अर्थात् १२ वर्षसम्म निरन्तर विनाप्राक्टिस परीक्षा दिएर पास गरे पनि स्वास्थ्योपचारमा संलग्न हुन ज्ञानको पूर्ण अभाव हुने बाँस्कोटाले बताए । उनले भने, विदेशबाट पढेर आउनेको संख्या बढ्दै गएको छ । तर, चिकित्सक लाइसेन्स परीक्षा पास गर्न सक्दैनन्, सकेका पनि न्यून गुणस्तरका छन् । उनीहरूबाट हामीले कस्तो स्वास्थ्य सेवाको अपेक्षा गर्ने ?’

कहाँ जान्छन् फेल भएका डाक्टर ?
एमबिबिएस अध्ययन सके पनि मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षा पास नगर्दासम्म डाक्टरले स्वास्थ्योपचारमा संलग्न हुन पाउँदैनन् । यदि कोही बिरामी जाँच्ने कार्यमा संलग्न भएको पाइए त्यो गैरकानुनी ठहरिनेछ । तर, ३६ पटकसम्म फेल भएर परीक्षा दिन छाडेका डाक्टर के गरिरहका छन् भन्नेमा काउन्सिलका पदाधिकारीलाई नै कौतुहल जागेको छ । नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्मा गैरकानुनी रूपमा लुकेर स्वास्थ्योपचारमा संलग्न भएको हुन सक्ने बताउँछन् । ‘डाक्टर बन्ने नाममा करोडौँ रुपैयाँ सकेका छन् । तर, पटक–पटक लाइसेन्स परीक्षा दिँदा पनि असफल भएका उनीहरू लुकेर बिरामीको सेवामा लागेको हुन सक्छ,’ शर्माले भने ।

(आजको नयाँ पत्रिका दैनिकबाट) 
 

Last modified on 2018-02-22 12:17:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts