अपाङ्ग बालबालिकाको सारथी: अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र



Download our app to get more features

जन्मजात दुबै खुट्टा बाङ्गो भएका जनकपुर धनुषाका ९ वर्षीय चन्दन यादव चार सातादेखि विकलाङ्ग मित्र समूह अपाङ्गता बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र काभ्रेमा उपचारत छन् । उनलाई चिकित्सकले कम्तिमा तीन महिना केन्द्रमै बसेर उपचार गराउनु पर्ने बताएका छन् । शुरूमा उनको परिवार त्यति लामो समय केन्द्रमै राखेर उपचार गराउनु पर्ने भएपछि डराएका थिए । मध्यम वर्गीय यादवको परिवार त्यति लामो समय उपचार गराउन निकै खर्च हुने हो कि भनेर ससंकित भएका थिए । तर, केन्द्रले उनीहरूलाई सक्ने भए पैसा दिनु नभए पर्दैन भनेपछि उपचारका लागि अनुमति दिए । चन्दनको परिवारले केन्द्रलाई गक्ष्य अनुसार दश हजार रुपैयाँ सहयोग स्वरुप दिएका छन् ।

चन्दन जस्तै १८ वर्षमुनिका विभिन्न किसिमका अपाङ्गता भएका हजारांै बालबालिका उपचारका लागि प्रत्येक वर्ष यस केन्द्रमा आइपुग्छन् । उपचारका लागि आएका कुनै पनि बालबालिकाको परिवारले आर्थिक अभावकै कारण फर्किनु परेको छैन । उपचार मात्रै नभएर उनिहरूलाई परामर्श पुर्नस्थापना र सामाजिक समायोजन पनि केन्द्रले गराउँदै आएको छ । ‘यहाँ उपचार गर्न आउने बालबालिकाको अभिभावकले उपचार खर्च व्यहोनु पर्दैन, आर्थिक अवस्था राम्रो भएका अभिभावकले समेत स्वइच्छाले दिनुहुन्छ ।’ केन्द्रका प्रशासकीय अधिकृत राजिव श्रेष्ठ भन्छन ‘उपचार अघि परामर्शदेखि उपचार पछिको पुर्नस्थापनाको लागी समेत केन्द्रले सहयोग गर्छ ।’

नेपालमा आठ हजार भन्दा बढी अस्पताल छन् । सबै अस्पतालमा बिरामी आफै आउँछन तर यो अस्पताल नै बिरामीको घर घरमै पुग्छ । अस्पतालका कर्मचारी बिरामी खोज्न गाउँगाउँ पुग्छन । समाजमा बालबालिकाले अपाङ्ग भएकै कारण पछि पर्नु नपरोस् भनेर ५ सेप्टेम्बर १९८५ मा विकलाङ्ग मित्र समूहले अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र शुरू गरेको हो  ।

३२ वर्षमा ८३ हजार बालबालिका लाभान्वित 
केन्द्रले स्थापनाको ३२ वर्षमा ८३ हजार बालबालिकाको उपचार गरिसकेको छ । विशेषगरी हाडजोर्नी सम्बन्धी समस्या, नशा सम्बन्धी समस्या र लामो समय थेरापीमार्फत गनुपर्ने उपचार सेवा केन्द्रमा उपलब्ध छ । गतवर्ष मात्रै २६ हजार ६ सय ५४ बालबालिकाले केन्द्रमा आएर उपचार गरेका थिए । जसमध्ये ८ हजार ३ सय ४० नयाँ बिरामी थिए भने १८ हजार ३ सय १४ पुराना थिए । २ हजार ३ सय ३३ जनाको शल्यक्रियामार्फत उपचार भएको थिए भने ९ हजार ७७ जनाले फिजीयो सेवा लिएका थिए ।

७७ जिल्लामा सम्पर्क कार्यालय 
केन्द्रले ७७ ओटै जिल्लामा सम्पर्क कार्यालय स्थापना गरेको प्रशासकीय अधिकृत श्रेष्ठ बताउँछन् । हस्पिटल भन्ने बितिकै उपचार गर्न बिरामी आफै आउने भन्ने बुझाइ रहे पनि यो संस्थाले भने बिरामी खोजेर ल्याएर उपचार गर्ने गरेको दावी गर्छन । ‘जो बिरामी अस्पताल आएर उपचार गर्न सक्दैन त्यस्ता बिरामीको उपचार हुन्छ ।’ उनी भन्छन ‘बिरामी खोज्न संस्थाका कर्मचारी गाउँ गाउँमा पुग्छन ।’ गाउँबाट खोजेर ल्याएका बिरामीको उपचारपछि उनिहरूलाई गाउँमै लगेर पुर्नस्थापना गर्ने गरिन्छ । यसका लागि प्रत्येक जिल्लामा पुर्नस्थापन सहायक  कर्मचारी रहेका छन् । त्यतिमात्रै नभएर केन्द्रले प्रत्येक वर्ष कम्तिमा १२ ओटा  मोबाइल क्याम्प सञ्चाल पनि गर्दै आएको छ । जहाँ अपाङ्गता भएका बालबालिका खोज्ने गरिन्छ । 

केन्द्रले अपाङ्गता भएका र अन्य बालबालिकाको अधिकार संरक्षणको लागि त्यहाँ उपचार गर्न आउने अभिभावक, कार्यरत कर्मचारी र अन्य सरोकारवालाको लागि २१ बुँदे आचारसंहिता बनाएको छ । जसमा अस्पतालको हाताभित्र पुग्ने जो कोहीले पनि अनिवार्य रुपमा संहिता पालना गर्नुपर्छ । आचार संहितामा कुनै पनि बालबालिकासँग एकान्त वा ढोका बन्द गरी बस्न नपाइने । अपाङ्गता भएका बालबालिकासँग कुरा गर्दा वा छलफल गर्दा बालबालिकालाई मन नपर्ने गरी बोल्न कुराकानी गर्न वा जर्बजस्ती उनिहरूको भनाइ लिन फोटो खिच्न वा भिडियो लिन पाइदैन । 

कसरी दिइन्छ सेवा 
केन्द्रमा आउने प्रायः बिरामी लामो समय उपचार गर्नुपर्ने हुन्छन् । बिरामी फेला परेपछि अभिभावक र बालबालिकालाई परामर्श दिइन्छ । बिरामीको स्वास्थ्य परीक्षणपछि उपचार प्रक्रिया सुरु हुन्छ । उपचार पश्चात बिरामीको छोटो अवधि र लामो अवधिका लागि पुर्नस्थापना र समाजमा स्थापित गर्ने खालका काम संस्थाले गर्छ ।

केन्द्रमा एक्स रे, ल्याब, औषधि, फिजीयो सेवा प्रदान हुन्छ भने कृत्रिम अंगहरू अस्पताल आफैले बनाउँदै आएको छ । यी अंग पनि केन्द्रले निःशुल्क उपलब्भ गराउँछ । केन्द्रमा आउने सबै बिरामीको उपचार निःशूल्क छ । यहाँ उपचार गर्न आउने बालबालिकालाई कम्तिमा दुई महिना उपचार गर्नु पर्ने हुन्छ । यसकारण केन्द्रको हाता मै बिद्यालय पनि छ । बहुकक्षा संचालन गरी १ देखी १० कक्षासम्म पढ्ने बालबालिका पढाउदै आएको शिक्षिका नारायणी अधिकारी बताउँछिन् । उपचारका क्रममा परीक्षा दिनु परे केन्द्रले सम्बन्धित विद्यालयसँग समन्वयन गरी परीक्षा दिने ब्यवस्था गर्छ । 

सहयोगी संस्थाहरू 
बलबालिकालाई निःशुल्क उपचार दिएर समाजमा सक्षम बनाउने भूमिका खेल्दै आएको यो संस्थाका लागि अमेरीकन हिमालयन फाउन्डेसन, डाइरेक्ट रिफिल, सिबिएम, स्टार अवार्ड, मार्सल फिड, यूनिसेफ, वल्र्ड अफ चाइल्ड अवार्ड, प्लेन इन्टेल अवार्ड, वन्डर वर्क, फ्रेण्डस अफ एचआडीसी फाउण्डेशन, गिभ टु एसिया र जो एण्ड फिल ग्रोस फण्डले सहयोग गर्दै आएका छन् । 

 

(हाम्रो डक्टर मासिक पत्रिकाबाट)

Last modified on 2018-03-15 08:49:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts