दुई पटक विवाह गर्ने डा. दम्पति



Download our app to get more features

जीवनमा सुख र खुसी कसरी प्राप्त हुन्छ भन्नेमा हरेकको आ—आफ्नै बुझाइ र भोगाइ छन् । तर, परिवारमा एक अर्को प्रतिको बुझाइ, माया, सम्मान र सहयोग भए जीवन जिउन सहज हुने बुझाइ छ डाक्टर उज्वलराज चालिसे र डा. सृजना कोइरालाको ।  

हाम्रो डाक्टर मासिक पत्रिकाको नियमित स्तम्भ डक्टर कपलको लागि डा. चालिसे दम्पतिलाई समावेश गरेका छौं । डाक्टर उज्वल अलि गम्भीर स्वभावका छन् भने डा. सृजना बोली रहने र हक्की स्वभावकी छिन् । निकै हसिला र रसिला स्वभावका डाक्टर दम्पतिको बाल्यकाल, प्रेम जीवन र अनुभवलाई हाम्रो डक्टरले यस अंकमा समेट्ने कोशिस गरेको छ ।  

डा. उज्वलराज चालिसे पोखराको एउटा मध्यम परिवारमा २०३६ सालमा जन्मिएका हुन् । सानैदेखि पढाईमा मेधावी डा. चालिसेको सोच डाक्टर बन्ने थियो । आफ्नो लगनशिलता र परिवारको सहयोगले डा. चालिसेले सोचलाई सार्थक बनाएका छन् । उनले एबीबीएस मात्रै गरेनन् सन् २०१२ मा एमडी पनि गरेका छन् । उनी हाल भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत छन् । 

डा. चालिसेले सामान्य परिचय दिइ नसक्दै डा. सृजनाले पनि आफ्नो बाल्यकाल सुनाइन । उनले भनिन् ‘म पनि पोखरा मै जन्मेको हुँ । उहाँ भन्दा ६ बर्षपछि जन्मेको हुँ । तर म काठमाडौं मै हुर्किए ।’ मध्यम  परिवारमा जन्मिएकी सृजनाको सिंगो परिवार नै चिकित्सा पेशासँगै आबद्ध छ । उनका ४ दिदीबहिनी र भाई पनि डाक्टर हुन् । परिवारका सबै सदस्य डाक्टर बन्नुमा आफ्नो मेहेनत छ नै त्यस भन्दा पनि बाबुको ठुलो देन कहिल्यै नबिर्सने उनी बताउँछिन् । 

पहिलो भेट 
डा. उज्जलराज र डा. सृजनाको पहिलो भेट २०६८ सालमा विपि कोइराला क्यान्सर अस्पताल भरतपुर चितवनमा भएको उनीहरू बताउँछन् । तर भेट्नकै लागि भेनर उनीहरू त्यहाँ गएका भने होइनन् । दुबै जना कामको शिलशिलामा भरतपुर पुगेका थिए । 

डा. सृजनाले भनिन् ‘म एमबीबीएस सकेर त्यहाँ काम गर्दै थिए । डा. उज्वल एमडी गर्ने क्रममा आउनु भएको रहेछ । आफु भन्दा सिनियर भएकाले सम्मान गर्थे ।’ दुवै जनाले नेपालगञ्ज मेडिकल कलेजबाटै एमबीबीएस गरेकाले पनि निकट हुन अझै सहज भएको बताउँछिन् डा. सृजना । तर मनको कुनै ठाउँ पनि उहाँसगै विवाह होला भन्ने सोँच नबनेका उनी सम्झन्छिन् । ‘तर पछिपछि डा. उज्जलले मप्रति गरेको केयरले असल मान्छे हो भन्ने लाग्यो । ’ डा. सृजनाले भनिन् । यसैमा डा. उज्वलले थपे ‘सुरुमा त त्यस्तो केही फिल भएन् । तर, बिस्तारै उसको हक्की स्वाभव, काम प्रतिको लगाव र इमान्दारिताको कारण मन पर्दै गयो ।’ 

भेटेको दुई महिनामै विवाह
डा. उज्वल र सृजनाको अर्को घतलाग्दो कुरा के छ । उनीहरूले भेट भएको दुई महिनामै विवाह गरेका थिए । डा. उज्वल आफ्नो विवाह यसरी सम्झन्छन्, ‘हाम्रो विवाह हुनुमा साथीहरूको ठुलो देन छ ।  भरतपुर क्यान्सर अस्पतालमा काम गर्ने क्रममा उ (डा.सृजना) र मबीच नजानिदो प्रेम अन्कुराई सकेको रहेछ । डा. सृजनाको नाताले दाई पर्ने एक व्यक्ति पनि त्यही काम गर्नु हुन्थो । उहाँले पनि हाम्रो विवाहको लागि मौन समर्थन जनाउनु भएको थियो । यसै क्रममा मैंले परिवारमा कुरा राखेँ । परिवारका सदस्य चितवन आउनु भयो डा. सृजनालाई देखिपछि सबैले सहमति जनाउनु भयो । हाम्रो विवाह हुनुमा एकै ठाउँ पोखरामा घर हुनले पनि केही सहज भयो । मेरो र उनको बुबाको पहिलेदेखि कै चिनजान रहेछ । 

डा. उज्जले आफ्नो परिवारको कहानी सुनाएपछि डा. सृजनाले पनि आफ्नो परिवारको बारेमा भनिन्, ‘मेरो बुबा अलि कडा स्वभावको हुनुहुन्छ बुबालाई लभ गरेको, विवाह अगाडी गेट टुगेदर गरेको फिटिक्कै मन पर्दैनथियो । उहाँ (डा.उज्वल) को परिवारबाट सहमति भैसकेको थियो, त्यस पछि मेरो परिवारमा कुरा भयो । सबै कुरा बुझेपछि विवाह तुरुन्त गर्ने निर्णय गरेर चिनचान भएको दुई महिनाभित्र विवाह नै सकियो ।’

डा. दम्पतिको दुई पटक विवाह 
सायद कमै मानिसको जीवनमा मात्र यस्तो हुन्छ, जो एउटै दुलाहा दुलहीको दुई पटक विवाह हुन्छ । डा. उज्जल र डा. सृजनाले यस्तै अनुभव गरेका छन् । डा. सृजनाले सो घटना सम्झन्छिन् ‘घरमा विवाहको कुरा चलेपछि मेरो बुवाले की जागीर छोडेर काठमाडौं आउनु पर्ने नत्र विवाह गरिहाल्नु पर्ने भन्नु भयो । हामी दुबैै एकै ठाउँमा काम गर्ने भएकाले पनि बुवाले यस्तो भन्नु भएको हुन सक्छ । उता उहाँ (डा.चालिसे) को हजुरआमा बित्नु भएको थियो । तत्काल विवाहको सम्भावना नै थिएन ।’ डा.सृजना बोल्दै गर्दा डा.चालिसेले थपे ‘मेरो दाईको विदेशी केटीसँग विवाह भएको हो । म घरको कान्छो छोरा । यसर्थ पनि मेरो विवाह धुमधामका साथ गर्ने परिवारको इच्छा थियो । मलाई पनि एमडी सकेर मात्रै विवाह गर्ने इच्छा थियो ।’

डा. सृजनाको परिवारले डा. उज्जलको यो इच्छा र बाध्यतालाई ‘छिटै विवाह गर्ने’ बाहनामा स्वीकार ग¥यो । सोही अनुसार २०६८ सालमा उनीहरूको काठमाडौंमा विवाह भयो । तर डा. उज्जलको घरमा जूठो सक्किएको थिएन । घरमा जुठो सकिएपछि पोखरामा पुनः उनीहरूबीच विवाहको जस्तैं विधि पुर्यायर विवाह भयो । त्यो क्षण निकै रोमान्टिक र अविस्मरणीय रहेको उनीहरू सुनाउँछन् । 

डा. सृजनाको सबै भन्दा खुसीको क्षण सन् २०११ मा एमबीबीएस सकेर घरमा आउँदा बुवाआमाले फुलमालाले स्वागत गरेकोलाई सम्झन्छिन् । डा. सृजना हाल पोखरामा रहेको पोखरा क्यान्सर केयर सेन्टरसँग आबद्ध छिन् । डा. उज्वललको खुसीको क्षण भनेको विवाह र छोरा जन्मदा भएको बताउँछन् । 

घरपरिवार र व्यस्तता 
डा. उज्जले भन्छन् ‘अहिलेको जमानामा प्रायः सबै व्यस्त नै हुन्छन् । हाम्रो पेशा नै त्यस्तै भएकाले व्यस्त नहुने कुरै भएन । तर पनि दुबैको व्यस्तताको बीच घर व्यवहार चलाइरहेका छौं ।’ उनले जसले भ्यायो उसैले घरको काम गर्ने गरेको बताए । उनीहरू दुबैमा भ्याएसम्म एक अर्काको कामलाई सहयोग गर्ने बानीले परिवारमा थप सहज भएको बताउँछन् । डा. सृजनाले भनिन ‘परिवारका सदस्य पनि निकै सहयोगि हुनुहुन्छ । कामको साथसाथै पारिवारिक घेटघाट, घुमफिरको समय पनि म्यानेज गरिरहेका हुन्छौ ।’ उनीहरुको पाँच वर्षको एउटा छोरा छ । 

डा.सृजनालाई डा.उज्वलको मन पर्ने बानी 
•     सहयोगी ।
•      मिलनसार ।
•     आफ्नो काममा लगनशील ।
•     व्यस्तताको बाबजुत पनि परिवारलाई समय देने, कियर गर्ने ।
•     राम्रो र नराम्रोको पहिचान गर्नसक्ने ।
•     आफ्न्तको गेट्टुगेदरमा जान रुचाउने ।

मन नपर्ने बानी:
•    कम बोल्ने ।
•     भन्सामा काम त गर्ने तर भद्रगोल पार्ने ।
•     बर्थ डे, म्यारिज एनिभर्सरी भुल्ने ।

डा. उज्वललाई डा. सृजनाका मन पर्ने बानी 
•     मिलनसार ।
•     परिवारको सही व्यवस्थापन गर्ने ।
•     आफ्न्तलाई रिजाउन सक्ने ।
•     सहयोगी ।

मन नपर्ने बानी 
•     जिद्धी स्वभाव ।
•     झनक्क रिसाउने ।
•     कहीले काही धेरै बोल्ने ।
•     किनमेल धेरै गर्ने ।
•    पारिवारिक भेटघाट त्यती नरुचाउने ।

(हाम्रो डक्टर मासिक पत्रिकाबाट)

Last modified on 2018-03-18 07:31:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts