जीका भाइरसको संक्रमण फैलने अनुमान

What's This?


Download our app to get more features

विश्व स्वास्थ्य संगठनले जीका नामक भाइरस क्यानडा र चिले बाहेक अमेरिकी महादेशहरुका सबै देशहरुमा फैलिन सक्ने सम्भावना रहेको बताएको छ। सो भाइरसको संक्रमणलाई सानो मष्तिष्क हुने शारिरीक खराबी सहित गरी बालबालिकाको जन्मका लागि जीम्मेवार ठानिएको छ। लामखुट्टेबाट सर्ने उक्त भाइरसको महामारी गत बर्षको मे महिना देखि ब्राजीलमा तीव्र गतिमा फैलिरहेको छ। जीका एइडीज प्रजातिको लामखुट्टेबाट सर्ने गर्दछ तर अनुसन्धानकर्ताहरु अन्य तरीकाबाट पनि सो भाइरस सर्ने सम्भावना रहेको बताउंछन्।
 

लक्षण
हल्का ज्वरो आउने, आंखामा संक्रमण हुने र टाउको दुख्‍ने जस्ता लक्षणहरु देखिने उक्त भाइरस संक्रमण क्यारिबीयन, उत्तर र दक्षिण अमेरिकाका विभिन्न २१ देशमा देखा परिसकेको छ।
सो भाइरसका कारणका मष्तिष्क पूर्ण रुपमा विकास हुन नसकेका बच्चाहरु जन्मने गरेकाले कतिपय संक्रमणग्रस्त देशहरुले महिलाहरुलाई गर्भवती नहुन समेत आग्रह गरेका छन्।
कोलम्बीया, एक्वेडोर, एल साल्भाडोर र जमैकाले उक्त भाइरसका बारे थप जानकारी प्राप्त नहुञ्जेल महिलाहरुलाई गर्भवती नहुन गत हप्ता आह्वान गरेका थिए।

उक्त संक्रमणका विरुद्ध कुनै उपचार र खोप उपलब्ध छैन।
 

तीव्र
अफ्रीकाको मौलिक उक्त भाइरस सन् २०१५ को मे महिना देखि अमेरिकी महादेशहरु र ब्राजीलमा तीव्र गतिमा फैलिरहेको छ। अमेरिकी महादेशमा उक्त भाइरस प्रतिरोधी कुनै पनि क्षमता प्राकृतिक रुपमा नहुंदा नै त्यसको संक्रमण तीब्र गतिमा फैलिरहेको विश्वास गरिन्छ। सो जीका भाइरस फैलाउन जीम्मेवार ठानिएको एइजीज प्रजातिको लामखुट्टे त्यस क्षेत्रमा क्यानडा र चिलेमा मात्र पाईंदैन। एउटा बक्तव्य जारी गर्दै विश्व स्वास्थ्य संगठनको क्षेत्रिय कार्यालयले भनेको छ, यो भाइरसको संक्रमण फैलंदै गएर अन्तत: एइडीज लामखुट्टे पाइने सबै देशमा पुग्नेछ। यो संक्रमणको सबैभन्दा ठूलो चिन्ता भनेको गर्भमा रहेको बच्चाहरुमा त्यसको प्रभाव नै हो।

सानो मष्तिष्क
गत अक्टोबर महिनायता ब्राजीलमा मात्रै माइक्रोसेफाली भनिने सानो मष्तिष्क सहित बच्चाहरु जन्मने चार हजार घटनाहरु भैसकेका छन्। विश्व स्वास्थ्य संगठनले गर्भवती महिलाहरुलाई विशेष सावधान रहन भन्दै भाइरस संक्रमण भएको क्षेत्रको भ्रमण गर्नु अघि र पछि चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउन भनेको छ। उक्त भाइरस संक्रमणका लक्षणहरु सामान्यतया मध्यम खाले देखिन्छन् तर ब्राजीलमा देखिएको तीव्र महामारीको कारण भने थाहा हुन सकेको छैन।

Source: http://www.bbc.com/nepali/news/2016/01/160125_zika_transmission.shtml

Hamro Doctor
Last modified on 2016-01-26 00:59:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts