डेंगु पोजेटिभ भेटिएपछि सतर्कता अपनाउन आग्रह



Download our app to get more features

रत्ननगर, चितवन, १३ वैशाख । चितवनको भरतपुर महानगर र विभिन्न नगरपालिकाको बजार क्षेत्रका सयौँ घर डेंगु पोजेटिभ रहेको पाइएको छ । 

यहाँ सञ्चालन भएको डेंगु सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानका क्रममा यस्तो पाइएको हो । गएको फागुन २८ देखि चैत ३ गतेसम्म जिल्लाको भरतपुर महानगरपालिका, कालिका र राप्ती नगरपालिकामा उक्त अभियान चलाइएको थियो । 

सो अभियान (सर्वेक्षण)को प्रतिवेदनबारे जानकारी दिँदै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले खोजी अभियान चलाइएको क्षेत्रका घर हेर्दा ५ दशमलव २८ प्रतिशत घर डेंगु पोजेटिभ रहेको पाइएको बताए । कुनै पनि घरमा डेंगु सार्ने लामखुट्टेका लार्भा र प्यूपा भेटिए उक्त घर डेंगु पोजेटिभ सूचीमा राखिन्छ । 

उनका अनुसार राप्ती, कालिका नगरपालिका र भरतपुर महानगरको बजार क्षेत्रका सात हजार ३०६ वटा घरमा स्वयंसेविका खटाएर डेंगु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने अभियान चलाइएको थियो । उक्त अभियानका क्रममा ३८६ घर डेंगु पोजेटिभ देखिएको केसीले बताए । 

भरतपुर महानगरपालिकाको चार हजार ६०५ घरमा खोजी अभियान चलाउँदा १४४ घर पोजेटिभ देखिएको केसीले बताए । स्थानीयले घर वरपर सरसफाइमा ध्यान दिने कुनै पनि भाँडाकँुडामा पानी जम्न नदिने र जमेको पानी नष्ट गर्दा रोगबाट बच्न सकिन्छ ।    पछिल्लो तथ्यांकअनुसार चितवनमा चालू आर्थिक वर्षको अहिलेसम्म एक हजार १६३ जनामा गरिएको परीक्षणमा ५८ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ । यो बीचमा मकवानपुरका एक व्यक्तिको डेंगुले ज्यान लिएको थियो । 

मुुख्यगरी एडिस एजेप्टाइ नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्ने चिकित्सक डा भोजराज अधिकारीले बताए । 
 

   रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts