डा. थापा दम्पत्ति: आठ वर्ष बोलचाल भएन, बोलेको एक वर्षमै विवाह



Download our app to get more features

प्राडा लोकविक्रम थापा ८२ बर्षका भए । उनकी पत्नी प्राडा जून थापाको उमेर पनि ८१ वर्ष भयो । सरकारी सेवाबाट रिटायर्ड भएपनि यो दम्पती चिकित्सकीय सेवामा भने निकै सक्रिय छ । 

डा. लोकविक्रम थापा हिमाल अस्पतालका संस्थापक अध्यक्ष पनि हुन् । चिकित्सकीय सेवाबाट धेरै पहिले रिटायर्ड भइसके पनि डा. थापा दम्पती हिमाल अस्पताल सञ्चालनमा भने मुख्य भूमिका निर्वाह गर्दै आइरहेका छन् । अहिलेको हिमाल अस्पताल ४० बर्षअघि डा. थापा दम्पतीले क्लिनिकका रुपमा सुरु गरेका थिए । 

डा. लोकविक्रम क्षेत्री परिवारका थिए भने डा. जुनमैया मल्ल नेवार परिवारकी थिइन् । डा. मल्ल लोकविक्रमसँग विवाह गरेपछि डा. थापा भइन् । चिकित्सा क्षेत्रका यी पूराना पुस्ताका चिकित्सक दम्पतीसँग हाम्रो डक्टर टीमले उनीहरूको अनुभव पुर्नताजगी गर्ने प्रयास गरेको छ :— 

आठबर्षसम्म बोलचालै भएन 
सन् १९५६ मा डा. लोकविक्रम थापा र डा. जुन थापाले राजधानी काठमाडौंको त्रिचन्द्र क्याम्पसमा सँगै आइएस्सी अध्ययन गरेका थिए । त्यतिखेर डा. लोकविक्रम कक्षाको मनिटर थिए । त्यसैले उनको जिम्मा कक्षालाई अनुशासनमा राख्ने र लिडरको भूमिका निर्वाह गर्ने थियो । 

एउटै कक्षामा पढेर पनि डा. लोकविक्रम र डा. जुनको कहिले बोलीचाली भएनन् । कोलम्बो प्लान अन्तर्गत डा. लोकविक्रम इन्दौरमा एमबीबीएस पढ्न गए । त्यहाँबाट फर्केर डा. लोकविक्रम वीर अस्पतालमा काम गर्न थाले । डा. लोकविक्रम भन्दा ६ महिनाअघि डा. जूनको पोस्टिङ राजविराजको सगरमाथा अञ्चल अस्पतालमा भएको थियो । ६ महिनापछि डा. लोकविक्रमको पनि सोही अस्पतालमा पोस्टिङ भयो । आइएस्सी पढ्दादेखि एमबीबीएससम्मै सँगसँगै रहे पनि उनीहरूको आठ बर्षसम्म बोलचाल भने भएको थिएन । एक्कासी राजविराजमा पनि सँगै मेडिकल अफिसरका रुपमा पोस्टिङ भएपछि दुबैजना अचम्ममा परे । राजविराजमा एक्लै बस्न डा. जूनलाई समस्या भइराखेको थियो । अब डा. लोकविक्रम पनि सँगै भएपछि डा. जूनलै निकै सहज महशुस गरिन् । 

राजविराज अस्पतालमा हुने प्राय अपरेशनमा दुबै डाक्टरले मिलेर काम गरे । एकले नजानेको कुरा अर्कोले सिकाउने गर्थे । अपरेशन गर्दा कहिले डा. लोकविक्रमले एनेस्थेसिस्टका रुपमा काम गरेर डा. जून थापालाई सहयोग गर्थे भने कहिले डा. जूनले डा. लोकविक्रमलाई सहयोग गर्थिन् । 

यसरी एउटै क्षेत्रमा मिलेर काम गर्दागर्दै उनीहरू निकै निकट भइसकेका थिए । धेरै समय बिरामीको उपचारमा सँगै खटिने भएका कारण प्रायः दुबै जना सँगसँगै हुन्थे । डा. लोकविक्रमले भने ‘फुर्सदमा तास पनि खेल्ने गथ्र्यौ ।’ र, राजविराजमा खटिएको एक बर्ष भित्रमै श्रीमान्श्रीमती बन्ने निधो गरे । र, राजविराजमै विवाह पनि भयो । 

...अनि एउटै क्वाटरमा बस्न थाल्यौ
एउटै पेशाका साथी पाएकाले दुबै जना निकै खुशी थिए । एउटै पेशा अंगाल्ने बुहारी पाउँदा डा. लोकविक्रमका बुबाआमा पनि खुशी नहुने कुरै थिएन । बिहे गरेको कुरा उनीहरूले स्वास्थ्य मन्त्रालयमा समेत जानकारी गराए । र, अलगअलग क्वाटरमा बसिरहेका उनीहरू एउटै क्वाटरमा बस्न थाले । केही बर्षमा नै उनीहरूले छोरी जन्माए । राजविराजमा ६ बर्ष बसेका उनीहरूले त्यही घरजग्गा जोड्न समेत भ्याए । त्यही घरजम गरेर बस्ने डा. थापा दम्पतीको योजना भए पनि काम विशेषले उनीहरू काठमाडौं आउन बाध्य भए । 

अन्तरजातीय विवाह गरेपनि डाक्टरी पेशामा लागेका उनीहरूले मिलेर काम गरेको देखेर कसैको गुनासो सुन्न परेन । दुबै चिकित्सक मिलेर अस्पतालमा काम गरेको देखेर बिरामीहरू पनि निकै खुशी हुने गरेको डा. जूनले बताइन । कहिलेकाहीँ बिरामीको उपचार गरिरहँदा डा. लोकविक्रमलाई म्याम खोइ त भनेर बिरामीले सोध्ने गरेको डा. थापाले सुनाए । 

राजविराजमा ६ बर्ष बसेपछि डा. थापा दम्पतीलाई ०२३ सालमा स्वास्थ्य मन्त्रालयले डोटी सरुवा गर्यो । डोटी पुग्न डा. थापा दम्पतीलाई २१ दिन लागेको थियो । डोटीमा केही महिना काम गरेपछि मन्त्रालयले डा. जून थापालाई पोस्ट ग्रायाजुयट गर्न इंग्लयान्ड पठाउने निधो गर्यो । मन्त्रालयले डा. जूनलाई बेलायतको एडिनबरामा अब्स्टेरियस् एन्ड गाइनोकोलोजीमा एमआरसीएस गर्न पठायो । 

डा. जून बेलायत गएको ६ महिनापछि नै डा. लोकविक्रमलाई पनि मन्त्रालयले बेलायतमा एफआरसीएस गर्न पठायो । बेलायतबाट पढेर दुबै स्वदेश फर्के । फर्केर डा. लोकविक्रमले वीर अस्पतालमा काम सुरु गरे भने श्रीमती डा. जूनले प्रसूति गृहमा स्त्रीरोग विशेषज्ञको रुपमा काम सुरु गरिन् । 

६२ बर्षको उमेरमा डा. लोकविक्रम सरकारी सेवाबाट रिटायर्ड भए । केही समयपछि श्रीमती डा. जून पनि रिटायर्ड भइन् । 

रिटायर्डपछि डा. थापा दम्पती हिमाल अस्पताल सञ्चालनमा लागिरहेका छन् । डा. थापा दम्पतीका दुई छोरी रोशन र रिता छन् । छोरी रोशना चिकित्सक हुन् । अहिले बुबाआमाको बिँडो छोरी डा. रोशन थापाले सम्हालिरहेकी छिन् । 

डा. लोकविक्रमलाई डा. जून थापाको मनपर्ने बानी
मिठो पकाउने
सहनशील
मिलनसार
सहयोगी

डा.लोकविक्रमलाई डा. जून थापाको मन नपर्ने बानी
खाजामा चिल्लो र खुर्सानी राखेको
तयार नहुने 
घरको सबै काम आफैं गर्न खोज्ने
कहिलेकाहीँ धेरै बोल्ने
जिद्धी स्वभाव

डा.जूनलाई डा. लोकविक्रमको मनपर्ने बानी
सहयोगी
मिलनसार
समयको असाध्यै ख्याल गर्ने 
नरिसाउने 
महिलालाई सम्मान गर्ने 

डा. जूनलाई डा. लोकविक्रमको मन नपर्ने बानी
उसिनेको खाजामात्रै मन पराउने
भान्सामा सहयोग नगर्ने
जहिले पनि ब्यस्त रहने
कम बोल्ने 
 

Last modified on 2018-07-13 18:43:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts