बिदा फारम नै नभरी जुम्ला पुगे डा. केसी, त्रिवि शिक्षण अस्पतालको नियम अवज्ञा

अनशन सुरु गरेपछि पठाए बिदा चाहिने भन्दै विभागीय प्रमुख लोहनीलाई एसएमएस



Download our app to get more features

काठमाडौं, २७ असार । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ सर्जन प्रा.डा गोविन्द केसी अस्पतालको नियमअनुसार बिदा स्वीकृत नै नगरी आफूखुसी जुम्ला गएको तथ्य खुलेको छ । अस्पताल प्रशासनले डा. केसीले बिदा फारम भरेको तथ्यांकसमेत दिन नसकेपछि डा. केसीको अस्पतालको नियमलाई ठाडै उलंघन गरी अनशनका लागि जुम्ला गएको तथ्य बाहिर आएको हो । डा. केसी जुम्लाको कभर्डहलमा १५औँ पटक अनशन बसिरहेका छन् ।

विधिको शासन कायम हुनुपर्ने भन्दै अनशन बसिरहेका डा. केसीले अस्पतालमा नआउनुको कारण उल्लेख गर्न नसकी बिदाको फारम नै नभरेका हुन् । त्रिवि शिक्षण अस्पताल प्रशासनका अनुसार डा. केसीले अनशन बस्न जुम्लामा जाँदा बिदा स्वीकृति मात्रै होइन, आफ्नै विभागबाट बिदा माग र सिफारिससमेत गरेका छैनन् ।

डा. केसीले अस्पताल प्रशासनको अनुमति नलिनुका साथै प्रशासनमा समेत कुनै निवेदन नदिएका हुन् । ‘डा. केसीले बिदा स्वीकृत गराउनुभएको छैन, उहाँले बिदा फारमसमेत भर्नुभएको छैन,’ कर्मचारी प्रशासन शाखाको भनाइ छ । त्रिवि शिक्षण अस्पतालको नियममा दुर्घटनाबाहेक जुनसुकै कारणले बिदा बस्नुपरे पनि कर्मचारी प्रशासनमा अनिवार्य निवेदन दिनुपर्ने प्रावधान छ ।

तर, केसीले कुनै निवेदन नदिएको प्रशासनले बतायो । ‘हामीले सबैतिर बुझ्यौँ, अर्थोपेडिक डिपार्ट (हाडजोर्नी विभाग) मा निवेदन छाड्नुभएको छ कि भन्ने विषयमा पनि सोधखोज भयो, तर उहाँले दुवैतिर निवेदन नै दिनुभएको पाइएन,’ कर्मचारी प्रशासन प्रमुख मानबहादुर भट्टले भने ।

त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख भट्टका अनुसार डा। केसीले निवेदन दिने र बिदा स्वीकृत गराउने काम नगरी आफूखुसी नियमविपरीत अस्पताल छाडेका हुन् । ‘प्रशासनमा निवेदन नदिए पनि बिदा बस्दा कर्मचारी प्रशासनमा अनिवार्य निवेदन दिनुपर्छ, यो हाम्रो अस्पतालको बाध्यात्मक नियम हो, तर डा. केसीले कुनै निवेदन दिनुभएको छैन,’ प्रमुख भट्टले भने ।

त्रिवि शिक्षण अस्पताल कर्मचारी प्रशासन प्रमुख उर्मिला शर्माले पनि डा। केसीले अस्पतालमा उपस्थित हुन नसक्ने भनी अहिलेसम्म कुनै जानकारी नगराएको बताइन् । ‘यसअघिका अनशनमा बाहिर जाँदा निवेदन दिएर जाने गर्नुभएको थियो, अहिले आफूखुसी हिँड्नुभएको छ, हामीसँग बिदा स्वीकृति, सिफारिस वा निवेदन केही आएको छैन,’ प्रमुख शर्माले भनिन्, ‘म प्रमुख भएर आएको धेरै समय त भएको छैन, तर यहाँ प्रशासनमा उहाँको निवेदन छैन । यसअघिचाँहि निवेदन दिने प्रणाली रहेछ ।’

शर्माका अनुसार निवेदनविना अस्पताल छाड्नु गम्भीर अनुशासनहीन काम हो । डा. केसीको बिदा सिफारिस हाडजोर्नी विभाग प्रमुख डा. अर्जुन लामिछानेले गर्नुपर्छ । लामिछानेलाई पनि केसीले बिदा सिफारिसका लागि निवेदन दिएका छैनन् । उनले विभागीय प्रमुख लामिछानेलाई समेत कुनै जानकारी नदिई अस्पताल छाडेका हुन् ।

बिदाका लागि सिफारिस गर्ने हाडजोर्नी विभाग प्रमुख डा. लामिछानेलाई डा. केसीले जुम्ला पुगेर मात्रै आफू अस्पताल आउन नसक्ने भन्दै एसएमएस पठाएका थिए । ‘बिदा सिफारिसका लागि कुनै निवेदन आएन, अस्पताल छाडेको केही दिनपछि भने मलाई एसएमएस आएको छ,’ डा. लामिछानेले भने ।

लामिछानेका अनुसार पहिलोपटक दुई हप्ताको बिदा चाहिने भन्दै डा. केसीले मोबाइलबाट एसएमएस पठाएका हुन् । ‘पहिलो एसएमएस दुई हप्ताको बिदा आवश्यक पर्ने भन्दै आएको थियो, दोस्रोपटक थप समय चाहिन्छ कि भन्ने एसएमएस पठाएका छन्,’ डा. लामिछानेले भने ।

चिकित्सा शिक्षा ऐन संसद्ले आफूखुसी नभई आफूले भनेअनुसार बनाउनुपर्ने अडानसहित डा. केसी अनशन बस्न जुम्ला गएको मंगलबार १२ दिन पुगेको छ । उनी अझै कति दिन अनशन बस्ने टुंगो छैन । बिदा स्वीकृतिविनै अस्पताल छाड्दा पहिला नै डा.  केसीसँग समय लिएर शल्यक्रियाका लागि आएका बिरामी भने बिचल्लीमा परेका छन् ।

विभागलाई पनि बिरामीको उपचारमा समस्या परिरहेको छ । ‘उहाँले बिदा स्वीकृत गराएको भए आवश्यक जनशक्ति म्यानेज हुन्थ्यो, एक्कासि हिँड्नुभएछ, समस्या हामीले झेल्नुपरेको छ,’ हाडजोर्नी विभागका चिकित्सकको गुनासो छ । 

 

(आजको सौर्य दैनिकमा यसिमा महतले लेखेको समाचार)

Last modified on 2018-07-12 08:04:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts