आफ्नै रुचीले डाक्टर बनेका प्रजापती दम्पत्ति



Download our app to get more features

डाक्टर चन्द्रमान प्रजापती न्यूरोसर्जन हुन् । किष्ट मेडिकल कलेजसहित काठमाडौंका विभिन्न अस्पतालमा उनी कार्यरत छन् । यस्तै एनेस्थेसियोलोजिष्ट  डा. आरती राई प्रजापती भक्तपुर क्यान्सरसहितका विभिन्न अस्पतालमा कार्यरत छिन् । 

डा. चन्द्रमान काठमाडौंको सामान्य परिवारमा र डा. आरती विराटनगरको एक शिक्षित परिवारमा जन्मिएकी हुन् । सत् इच्छाशक्ति, लगनशीलता र मेहेनत भयो भने असम्भव केही छैन भन्ने कुराको प्रतिनिधि पात्र हुन् डा. प्रजापती दम्पती । 

डा. चन्द्रमान सानैदेखि कम बोल्ने, पढाइमा जेहेन्दार र असल स्वभावका थिए । पुस्तौदेखि काठमाडौंकै बासिन्दा भएपनि डा. चन्द्रमानको परिवारमा डाक्टर, पाइलट जस्तो पेशामा कोही पनि थिएनन् । यही कारण पनि डा. चन्द्रमानको मनमा सानै उमेरदेखि ठुलो मान्छे बन्छु भन्ने संकल्प थियो । डा. चन्द्रमान भन्छन् ‘विद्यायल तहदेखि नै शिक्षकहरूको प्रेरणाले मलाई डाक्टर बन्ने रहर जाग्यो । परिवारमा कोही डाक्टर नभएकाले डाक्टर बन्छु भन्दा सबैलाई उत्साह थियो ।’ डाक्टर बन्ने संकल्प गरे पनि उनको परिवारमा छोरालाई डाक्टर पढाउन त्यति सहज थिए । छोराको इच्छा मार्ने आट पनि प्रजापती परिवारमा थिएन । एक छिन रोकिएर डा. चन्द्रमान विगतमा फर्किए, ‘डाक्टर पढ्न धेरै पैसा चाहिन्थ्यो । मेरो इच्छा र रहर मार्न नसकेर मेरो परिवारले एक रोपनी खेत बेच्ने निर्णय गर्यो । यो मेरो जिन्दगीमा कहिल्यै नबिर्सने घटना हो ।’ 

उनले प्लस टु सम्मको अध्ययन काठमाडौंको बागमती बोर्डिङ स्कुलबाट गरेका हुन् भने एमबीबीएस काठमाडौं यूनिर्भसिटीबाट गरे । पछि न्युरो सर्जनमा एमडी फिलिपिन्सबाट गरे । 

‘भाईको मृत्युले डाक्टर बन्न उक्सायो’
यस्तै, डा. आरतीको परिवार विराटनगरको शिक्षित र सम्पन्न मध्ये नै पर्थो । उनले बिगत सम्झिइन, ‘म सानोमा पनि राम्रो विद्यार्थी थिए । विद्यालय तहको पढाई लिटिल एन्जल्स् स्कूलबाट पुरा गरे भने एमबीबीएस काठमाडौं मेडिकल कजेलबाट, यस्तै एमडी सिंगापुरबाट गरेकी हुँ ।’

सरल स्वभावकी डा. आरती पनि आफ्नै रुचीले डाक्टर बनेकी हुन् । उनलाई डाक्टर बन्न नत कसैले दबाब दियो न त प्रभावमा नै पा¥यो । तर, कलिलै उमेर भएको भाइको मृत्युले कतैकतै डाक्टर बन्नु पर्छ भनेर प्रेरित गरेको उनी अहिले महशुस गर्छिन । उनले भनिन्, ‘मलाई त्यही बेलादेखि भविष्यमा डाक्टर बन्छु भन्ने लागेको थियो । कतै म डाक्टर भएको भए मेरो भाइ बाच्ने थियो की ? जस्तो लग्थ्यो यद्यपि, जुन सम्भव त थिएन ।’ 

पहिलो भेट 
एमबीबीएस पढ्नको लागि सन् २००१ मा डा. चन्द्रमान र डा. आरती सँगै काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए । डा. आरतीले भनिन् ‘सायद त्यही नै पहिलो भेट होला । डा. चन्द्रमान त्यती खेर निकै सोझो, इमान्दार साथी हुनुहुन्थो । त्यही मिलानसार स्वभाव मलाई मन पर्थो ।’ त्यसको करिब ८ बर्षपछि उनीहरू विवाह बन्धनमा बाँधिए । 

डा. आरतीको भनाइलाई थप्दै डा. चन्द्रमानले भने, ‘मलाई पनि उनको साधारणपन, कामप्रतिको लगनशीलता मन पर्थो । यही बानीबाट म प्रभावित थिए । हाम्रो जात फरक परे पनि आफ्न्तकै सहमतिमा सन् २००८ मा विवाह गरेका हौं ।’ 

एउटै पेशा र पारिवार सञ्चालन 
डा. प्रजापती दम्पतीको साझा धारणा के छ भने मानिसले जसरी जीवन चलाउन चाह्यो त्यसैगरी चल्छ । तर, आत्मसन्तुष्ट भने हुनुपर्छ । डा. आरतीले भनिन्, ‘हामी संयुक्त परिवारमा बस्छौ परिवारको साथ र सहयोग धेरै छ । त्यसकारण पनि दुबै जाना व्यस्त भएर पनि परिवार सञ्चालनमा समस्या छैन् ।’

साथै आफ्नो पेशा र कामप्रति दुबै जना सचेत भएकाले दुबै जनाले जिम्मेवारीबोध गरेको डा. प्रजापती दम्पतीको भनाइ छ ।  डा. आरतीले भनिन् ‘डा. चन्द्रमान र मेरो भावना, इच्छा उस्तै छन् यसकारण पनि त्यती बिमती हुँदैन । हामी सन्तुष्ट छौं । ’

डाक्टर बन्न चाहनेलाई सुझाव 
डा. चन्द्रमान भन्छन्, सबै भन्दा ठुलो कुरा त उ स्वयंमा इच्छा हुनुपर्यो । अरुको देखासेखी गरेर भन्दा पनि मैले डाक्टर किन पढ्ने, भोलि यसको सम्भावना के कस्तो छ, भविष्यमा आउन सक्ने जटिलता बारेमा बुझेर मात्र पढ्नुपर्छ ।’ डा. चन्द्रमानको भनाईमा डा. आरतीले पनि साथ दिइन । उनले भनिन्, ‘डाक्टर पेशा धैर्य, लगनशील र हर समय सचेत रहनु पर्ने पेशा हो । यो पेशामा घर परिवारको साथ सहयोगको धेरै नै आवश्यक छ । समय, खर्च, संवेदनशीलता हरेक दृष्टिले पहिले नै सोच्नुपर्छ ।’

डाक्टर बनेर एकै चोटी ठुलो बन्छु, धेरै पैसा कमाउँछु भन्ने सोच भन्दा पनि सेवामुलक भावले धैर्य गरेर पढ्न चाहनेले यसमा लाग्दा हुने डा. आरतीको सुझाब छ । अन्यथा पछि पश्चाताप नहोला भन्न पनि नसकिने उनीहरूको निश्कर्ष छ । 

डा. चन्द्रमानलाई डा. आरतीको मन पर्ने र नपर्ने बानी 
सरल स्वभाव ।
सरल जीवनशैली ।
सहयोगी ।
घरपरिवार सबैलाई रिझाउन सक्ने ।
कामप्रति आत्मविश्वासी ।

मन नपर्ने बानी
रिसाउने ।
घुम्न धेरै रुची राख्ने ।
अरु केही छैन् ।

डा.आरतीलाई डा. चन्द्रमानका मन पर्ने नपर्ने बानी
सहयोगी ।
हरेक काममा सहयोग गर्ने ।
परिवारको ख्याल गर्ने ।

मन नपर्ने बानी 
खासै छैन् ।

Last modified on 2018-07-30 12:02:16

1 Comments

  1. Simple living high thinking friends


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts