अस्पतालमा आगलागी हुँदा ९ को मृत्यु



Download our app to get more features

ताइवान, २९ साउन । ताइवानको राजधानी ताइपेईस्थित एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको अग्नी नियन्त्रकहरूले पुष्टी गरेका छन् । ताइवानी सरकारी समाचार संस्थाले दिएको जानकारी अनुसार ३३ विरामीसहित ४४ जना अस्पतालभित्र रहेको समयमा नौतले सरकारी अस्पतालको सातौँ तलाबाट शुरु भएको आगलागीपछि अस्पताललाई खाली गरिएको छ ।

आगलागीबाट फैलिएको धुवाँको मुस्लोका कारण १६ जना विरामीलाई हृदयघात भएको थियो भने सात जना उपचारपछि सामान्य अवस्थामा आएका छन्, सरकारी समाचार संस्थाले स्थानीय अस्पताल स्रोतलाई उद्धृत गरी जनाएको छ । आगलागीको कारण खुलेको छैन ।

अस्पतालमा रहेको विद्युतीय सामानमा भएको विद्युतीय गडबडीपछि आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान रहेको अग्नी नियन्त्रक हुङ लियाङ चेनले बताए । आगलागीको कारण अस्पतालको विद्युतीय खाट वा विरामी कुरुवाले प्रयोग गर्ने हावा भर्ने विद्युतीय तन्नामा गडबडीका कारण भएको हो अनुसन्धान भइरहेको छ, चेनले भने ।  

स्थानीय समयानुसार सोमवार बिहान ४ः३६ बजे न्यू ताइपेई सिटीस्थित अस्पतालको सातौँ तलाबाट सो आगो फैलिएको थियो । राज्यद्वारा सञ्चालित सेन्ट्रल न्यूज एजेन्सीका अनुसार आगो सुरु भएको वार्डमा धूवाँ बाहिर निकाल्ने उपकरण नभएको पाइएको प्रहरीले जनाएको छ । सन् २०१२ मा एउटा अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको थियो भने कम्तीमा पनि ६० जना घाइते भएका थिए । 

(रासस/एएफपी)

Last modified on 2018-08-14 17:25:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts