माल्दीभ्सका पूर्वराष्ट्रपति जेलमै, बिरामी गयुमको अवस्था थप जटिल



Download our app to get more features

माले, ७ भदौ । माल्दीभ्सका पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । जेल जीवन बिताइरहनु भएका ८३ वर्षीय गयुमको अवस्था थप बिग्रिदै गएको चिकित्सकहरूले जानकारी दिएका छन् ।

उनलाई राखिएकै ठाँउमा भेट्न गएको चिकित्सकहरूको टोलीले गयुमलाई विषेश उपचारको व्यवस्था गर्न सुझाव दिएको छ । एम्नेष्टी इन्टरनेशनलका थायीब इबु फैसलले सामाजिक सञ्जाल ट्वीटरमा ८३ वर्षीय वृद्ध पूर्वराष्ट्रपति गयुम धेरै बिरामी भएको लेखेका छन् ।

चिकित्सकहरूको टोलीले उनलाई थप उपचार आवश्यक भएको सिफारिश गरेको पनि फैसलले ट्वीटमा उल्लेख गरेका छन् । चिकित्सकहरूको सिफारिश र एम्नेष्टीको आग्रहलाई माल्दीभ्सको सुधार विभागले भने अस्वीकार गर्दै आइरहेको समाचारमा जनाइएको छ । 

गयुमकी छोरी तथा पूर्वविदेश मन्त्री डुन्या मौमुनले पनि ट्वीट गर्दै आफ्नो बुबाको स्वास्थ्य अवस्था राम्रो नभएको थाहा पाएको बताएका छन् । माल्दीभ्सको अदालतले १९ महीने जेल सजायको फैसला गरेकाले गयुम गत जुनदेखि काराबास जीवन भोगीरहेका छन् ।

आगामी निर्वाचनबाट पनि अर्को कार्यकालका लागि आफ्नो जितलाई सजिलो बनाउन वर्तमान राष्ट्रपति अब्दुल्ला यमिनको योजनाअनुसार अदालतले उनलाई जेल सजायको फैसला गरेको आरोप लागेको छ । 

गयुमसँगै तत्कालीन प्रधानन्यायाधीश अब्दुल्ला साइद र सर्वोच्च अदालतका न्यायाधीश अलि हमिदलाई पनि गत फेब्रुअरीमा नियन्त्रणमा लिइएको थियो । उनीहरूलाई फरक–फरक आरोप लगाइएको छ ।

गमुमलाई आतङ्कवादलाई सहयोग गरेको आरोप लगाइएको छ भने प्रधानन्यायाधीश र न्यायाधीशलगायत अन्य न्यायिक अधिकारीहरूलाई सरकार ढाल्न घुस लिएको आरोप लगाइएको छ । 

अभियोग लागेकाहरूले भने आफूहरूलाई लगाइएको अभियोग पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको भन्दै त्यसलाई अस्वीकार गर्दै आएका छन् । क्षेत्रफलको हिसाबले दक्षिण एसियाको सबैभन्दा सानो तथा केही वर्षअघिसम्म राजनीतिक स्थिरता रहेको मानिने माल्दिभ्समा पाँच वर्षयता राजनीतिक सङ्कट बढ्दै गएको छ । 

रासस/एएनआई
 

Last modified on 2018-08-24 07:37:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts