बाक्लो धुलोसहितको हुरीले दक्षिणपूर्वी इरानमा १७१ बिरामी



Download our app to get more features

इरान,  ११ भदौ ।  इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान तथा बालुचेस्तानमा चलेको बाक्लो धुलोसहितको हुरीका कारण १ सय ७१ जना बिरामी भएका छन् ।  उनीहरूलाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको इरानको राज्य सञ्चालित समाचार संस्था आइआरएनएले बताएको छ । 

धुलोसहितको कडा हावाहुरीका कारण ८ सय १० जनामा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको र उनीहरूमध्ये गम्भीर समस्या भएका १ सय ७१ जनालाई अस्पताल भर्ना गरी उपचार शुरु गरेको प्रान्तको विपत व्यवस्थापन केन्द्रले जनाएको छ । उनीहरूलाई सिस्तान तथा बालुचेस्तानका विभिन्न अस्पतालमा राखी उपचार भइरहेको केन्द्रका प्रमुख अबोल रहमान शाहनभाजीले पुष्टि गरे । धुलोको प्रभावका कारण केही विरामीहरूमा दृष्टिमासमेत समस्या देखिएको छ भने केहीमा मुटुसम्वन्धी समस्या देखिएको छ । 

उक्त क्षेत्रमा रेडक्रस समाज तथा स्थानीयको सहयोगमा प्रभावितहरूलाई खोजी पानी खाद्यान्नको विवरण तथा उपचारका लागि पठाउने काम भइरहेको साहनाभाजीलाई उद्धृत गरी आइआरएनएले जनाएको छ । 
सो प्रान्तका जाबोल, जाहक, हिरमान्द, हामुन र निमरुज शहरहरुमा अत्यधिक धुलोको समस्या देखिएपछि शैक्षिक संस्था तथा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने केही सरकारी कार्यालयहरूसमेत शनिबार एक दिन बन्द गरिएका छन् । हुरीका कारण केही उडानहरूसमेत प्रभावित बनेका छन् । इरानको मौसम विज्ञान महाशाखाले गत अगस्टमा सिस्तान तथा बालुचेस्तान प्रान्तमा धुलोको तहका कारण निम्तिने जोखिमहरूबारे नागरिकहरूलाई सचेत बन्न अनुरोध गरेको थियो । महाशाखाका अनुसार धुलोको मात्रा प्रति घनमिटर आठ हजार ७३ माइक्रोग्राम पुगेको र यो सामान्य अवस्थाभन्दा १५० माइक्रोग्राम प्रति घनमिटर बढी भएको महाशाखाका प्रमुख अलि मोलाशाहीले बताए । रासस

Last modified on 2018-08-27 15:10:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts