थाहा पाउनुस् ‘नेपाली साकिरा’को हेल्थ सेक्रेट्स्...(भिडियो सहित)



Download our app to get more features

चौबन्दी चोली अनि रातो घांघर भनेर गाउँदै स्टेजमा नाच्ने इन्दिरा जोशीलाई अहिले यूवापुस्ताको ठूलो जमातले चिन्छ । झन् चर्चित रियालिटी सो नेपाल आइडलको निर्णायक सदस्य बनेपछि त जोशीको परिचय थप विस्तार भएको छ । 

इन्दिरा जोशी जति राम्रो गीत गाउँछिन् उति नै सुन्दर र स्वस्थ पनि देखिन्छिन् । ‘नेपाली साकिरा’ को उपनाम पनि पाएकी इन्दिराको प्रस्तुतिको फरक स्टाइल नेपाली संगीतप्रेमी माझ चर्चित छ । टेलिभिजन सो ‘नेपाली तारा’बाट गायनयात्रा थालेकी जोशी अहिले ‘नेपाल आइडल’को निर्णायक कमिटिका कारण पनि चर्चाको शिखरमा पुगेकी हुन् । 

जीवनमा सफल हुन, खुसी रहन तथा आफ्नो दैनिक कामलाई सजिलैसँग गर्नको लागि स्वस्थ रहन जरुरी हुन्छ भन्छिन् इन्दिरा । नृत्यमा पनि राम्रो दख्खल राख्ने गायिका इन्दिरा जोशीलाई नेपाली साकिरा भन्दापनि आफ्नै परिचयमा ज्यादा प्रेम छ ।

दर्जनौ गीतमा स्वर दिएर श्रोताको ढुकढुकीमा पसेकी इन्दिरा नृत्य मन पर्ने हुदा यसमै रमाउन चाहन्छिन् । स्कुले बेलादेखि नै नृत्य गरेकी उनलाई नृत्यले नै फुर्तीलो र तन्दुरुस्त बनाएको छ । 

आफ्नो करिअरलाई सफल बनाउन उनी सबैभन्दा बढी सचेत हुन्छिन् स्वास्थ्यमा । त्यसैले त उनी हरेकपल स्वस्थ रहन प्रयत्न गर्छिन । हरेक बिहान उठ्ना साथ एक लिटर पानी पिएर जोशीको दिनचर्या सुरु हुन्छ । योग र कपालभाँती उनको नियमित व्यायाम हुन् । ‘दैनिक कपालभाँतीले छालाको समस्या नहुने भएकाले दैनिक कपालभाँती गर्छु नियम मिलाएर गरे यस्ले राम्रो गर्छ मलाई राम्रो गरेकाले दैनिक आधाघण्टासम्म गर्छु’ हाम्रो डाक्टरसँगको कुराकानीमा उनले भनिन् ।

‘ममीको गालीले गर्दा होला बाहिरको जंकफुड कहिले पनि खान दिनु भएन । साथीहरुलाई चाउचाउ खुवाउँदा पनि घर आएका साथिहरुलाई यस्तो जंकफुड खुवाउने भनेर गाली गर्नु हुन्थ्यो । चकलेट खाएपनि गुणस्तरको मात्र खानु पर्ने, नाक थुनेर भएपनि बेलको जुस खानुपर्ने पारिवारिक नियमबाट आएकीले जंकफूडदेखी म धेरै टाढा छु । गाउँको मान्छे दुध, दही, घ्यु खाएको जसले गर्दा पनि अहिले स्वस्थ रहन साथ दिएको छ ।’ 

निधारको चोट देखाउँदै इन्दिराले भनिन्, ‘सानोमा निधारमा चोट लाग्दा अस्पताल गएको थिए, त्यसबाहेक सामान्य औषधि खानु बाहेक अस्पताल जानु परेको् छैन ।’ विदेशको कार्यक्रममा धेरै जानुपर्ने भएकोले स्वास्थ्यको ध्यान दिदै चिल्लो, पिरो तथा मसालेदार खानाबाट टाढै रहन्छिन् इन्दिरा । बरु उनको ध्यान ग्रीन भेजिटेवलमा बढी जान्छ । गर्मीमा कहीले काँही डिहाइड्रेसन हुने र चीसोमा सामान्य रुघा खोकी लाग्ने बाहेक इन्दिरालाई अन्य कुनै गम्भीर स्वास्थ्य समस्या छैन । 

भिडियो हेर्नुहोस् । 


पुनः प्रकाशित

Last modified on 2017-08-05 17:37:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts