डाक्टरको आन्दोलन: बसन्त चौधरीदेखि डा. केसीसम्म एउटै जुलुसमा !

(फोटो फिचर)



Download our app to get more features

काठमाण्डौ, १७ भदौ । मुलुकी ऐनलाई विस्थापन गर्न बनेको मुलुकी अपराध संहिता, मुलुकी फौजदारी संहिता तथा मुलुकी देवानी संहितमा उल्लेखित चिकित्सकीय कसुर सम्बन्धी व्यवस्थाको विरोधमा चिकित्सकहरुको आन्दोलन चलिरहेको छ । 

आन्दोलनको नेतृत्व गरिरहेको नेपाल चिकित्सक संघले आइतवार माइतिघर मण्डलामा विशाल विरोध जुलुसको आयोजना गर्यो । उक्त जुलुसमा यसअघि डाक्टरका आन्दोलनमा कहिल्यै सहभागी नहुने अनुहार पनि देखिए । प्रायजसो चिकित्सक संघले गर्ने आन्दोलनमा केही राजनीतिक पृष्ठभूमि भएका चिकित्सक तथा चिकित्सा शिक्षाका विद्यार्थीहरुको सहभागिता ज्यादा हुन्थ्यो । प्रायः गोविन्द केसीको अनशनलाई लिएर सडकमा उत्रने चिकित्सक संघलाई निजी अस्तपाल तथा त्यहाँ काम गर्ने चिकित्सकले खासै साथ दिँदैनथे । तर, आइतवारको जुलुसमा भने स्वास्थ्य सेवा निजीकरणको विरोध गर्ने डा. गोविन्द केसीदेखि निजी अस्पतालका संचालक बसन्त चौधरीसम्म एउटै जुलुसमा भेटिए । 

चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कार्यक्रमलाई चिकित्सकका अन्य विभिन्न पेशागत संगठनका साथै निजी अस्पतालहरुको संस्था अफिनले सम्म ऐक्यवद्धता जनाएको छ ।

ग्रान्डी, नर्भिक लगायत पनि बन्द 

यसअघि चिकित्सक संघले आह्वान गर्ने बन्दमा राजधानीका ठूला कर्पोरेट अस्पतालहरु खुल्थे । बरु, सरकारी बन्द भएको फाइदा उठाउन ओपीडी समय बढाउने गर्थे । तर, यो पटक भने ठूला अस्पतालका साहुजीदेखि डाक्टरसम्म माइतिघर पुगे । निजी अस्पताल एशोसियसनका अध्यक्ष एवं नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरी बानेश्वरको जुलुसमा देखिए । उनीसँगै उनको अस्पतालका मेडिकल डाइरेक्टर पंकज जलानपनि आन्दोलनमा देखिए । नर्भिक अस्पतालमा का मगर्ने थुप्रै चिकित्सक आन्दोलनका मोर्चामा भेटिए । ग्राण्डी अस्पतालका पनि मेडिकल डाइरेक्टर सहितका चिकित्सकले आन्दोलनमा भाग लिए । ग्राण्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे सहित चिकित्सकहरु जुलुसमा सहभागी थिए । काठमाण्डौ मेडिकल कलेज तथा शिक्षण अस्पतालका सिइओ डाक्टर दामोदर पोखरेलले पनि प्रदर्शनमा भाग लिए । निजी अस्पतालका चिकित्सकहरुलाई बोक्न अफिनका उपाध्यक्ष कुमार थापाको अस्पताल अल्का अस्पतालले गाडीको व्यवस्था गरेको थियो । चिकित्सकको लापर्वाही भन्दै भीड आइलाग्ने पीडामा गुज्रिएका अस्पताल संचालकले पनि आन्दोलनमा सहभागिता जनाएका हुन् ।  

एन्टरप्रेनर डाक्टरपनि जुलुसमा

चिकित्सा अभ्याँसका साथै चिकित्सा उद्यमी बनेका अन्नपूर्ण न्यूरो अस्पतालका अध्यक्ष एवं वरिष्ठ नशा शल्यचिकित्सक डा. बसन्त पन्तपनि अस्पतालको ओपिडी बन्द गरेर चिकित्सक सहित जुलुसमा पुगेका थिए । नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका अध्यक्ष क्यान्सर विशेषज्ञ डा. सुदिप श्रेष्ठ चिकित्सककोे समुह सहित चिकित्सक संघको आन्दोलनमा सहभागी भए । काठमाण्डौ मेट्रो अस्पतालका डा. अरुण कुवँरदेखि रिदम साइक्याट्री अस्पतालका डा. रितेश थापासम्म आन्दोलनमा उत्रिए । नेपाल मेडिकल काउन्सिलमा प्रमाणपत्र बुझाउनु अघि गरिएको विरोध प्रदर्शनमा यो पटक सरकारीभन्दा निजी क्षेत्रका चिकित्सक धेरै देखिए । 
 

 

Last modified on 2018-09-02 18:52:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts