शिरजन्य समस्या निर्मूल पार्ने नस्यकर्म 



Download our app to get more features

आयुर्वेदको पञ्चकर्म चिकित्सा अन्तर्गत पर्ने नस्यकर्म एक मुख्य संशोधन विधि हो । शिरप्रदेशको नेत्र, कर्ण, कण्ठ आदि अवयवहरूमा फिजिएर रहेका विकृत दोषलाई बाहिर निकाल्न, नासारन्ध्रद्वारा औषधिको प्रयोग गराउनु नै नस्यकर्म हो ।
द्वारं हि शिरसो नासा तेन तद् व्याप्य हन्ति तान् । शिरको द्वारनासा नाकलाई मानिएको छ । त्यसैले नस्य, नाकमा व्याप्त भएर शिरका रोगहरूलाई नाश गर्छ ।

विधि
प्रात अथवा मध्याह्नमा रोगीलाई सिरानी तल पारेर सुत्न लगाउने । त्यसपश्चात नाकबाट कफका साथ स्नेह पनि निकाल्नका लागि पहिले शिरमा स्वेदन गर्ने, नस्य दिने र फेरि स्वेदन गर्ने । नस्य राखेपछि तातो पानी खाने, पथ्य भोजन गर्ने र हावा बढी नलाग्ने ठाउँमा बस्ने । जानी राखौं ज्वर, शोक र मदात्यय भएको अवस्थामा नस्य दिनु हँुदैन ।

उपयोगीता
नस्यकर्म अवबाहुक, ग्रीवास्तम्भ आदि वातव्याधि, उर्ध्वजत्रुगत रोग र कफज रोगमा विशेष उपयोगी रहन्छ । कपाल झर्ने, कपाल फुल्ने, पिनास, मान्यस्तम्भ, शिरस्शूल, अर्दित आदि रोगमा नस्यकर्म लाभकर रहन्छ । शिरस्थ कफ नासाबाट स्राव गराई शिरको रक्तसंवहन बढाएर प्राणवह स्रोतको अवरुद्ध हटाउन नस्यकर्म फलदायी रहन्छ ।

अंस–कर्ण–नासा–अक्षि–दन्तशूल, स्वरभेद, गलगण्ड, मुखरोग, शिरो–गौरव, अपस्मार, अर्बुद रोगहरूमा नस्यकर्म उपयोगी रहन्छ । नस्यकर्मद्वारा स्नेहन, शोधन, विरेचन, तर्पण, शमन, बृंहण, प्रज्ञाप्रोबधन हुनुको साथै यसले यौवन समेत बढाउन मद्दत पुर्याउँछ । नस्यकर्मले शरीरमा हल्कापन ल्याउनुको साथै इन्द्रीय तथा मन प्रसन्न तुल्याउँछ । श्वासावरोध हटाउन उल्लेखनीय भूमिका खेल्ने नस्यकर्मले स्रोतो शुद्धि गर्दै शरीरमा हल्कापन ल्याउँदछ ।

(घिमिरे चिकित्सा शास्त्र अध्ययन संस्थानमा आवद्ध छन् ।)

Last modified on 2018-10-05 06:58:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts