हैजाका कारण नाइजेरियामा १७५ को मृत्यु, हजारौं प्रभावित



Download our app to get more features

लागोस, २७  कात्तिक । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा फैलिएको हैजा प्रकोपबाट कम्तीमा १ सय ७५ जनाको ज्यान गएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार हैजाको प्रकोपबाट दश हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । 

बोको हरामको हिंसाबाट पिडित भएकै क्षेत्रमा हैजा फैलिएको नर्वेली शरणार्थी परिषद्ले जनाएको छ । मानवीय सहायता सम्वन्धी समूहहरूले उत्तरपूर्वी प्रदेशहरू अडामावा, बोर्नो र योबेमा हैजाको प्रकोप छिटो छिटो फैलिएको बताएका छन् । नोभेम्बर महिनाको सुरुवाती दिनमै प्रकोप फैलिएको जनाइएको छ । 

‘शरणार्थी शिविरहरूमा ठूलो भीडभाडका साथ एकै ठाउँमा बस्नु परेकाले हैजाको प्रकोप छिटो छिटो धेरैतिर फैलिएको हो,’ बोर्नो राज्यको राजधानी मैडुगुरीमा एनआरसीका कार्यक्रम व्यवस्थापक जानेट चेरोनोले भने ।  
उनले एकै ठाउँमा बसेकाहरूका लागि पानी र सरसफाईको व्यवस्थापन राम्रो नहुँदा समस्या भएको बताए । नाइजेरियामा बोको हरामका कारण सुरु भएको हिंसासँगै सन् २००९ देखि नै हैजाको प्रकोप फैलिने गरेको छ । एजेन्सी


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts