निमोनियाबारे केही जान्नैपर्ने कुराहरू...



Download our app to get more features

जाडो मौसम सुरु हुनासाथ मानिसलाई विभिन्न रोग र संक्रमणले सताउन थाल्छ । त्यस मध्येको एक हो निमोनिया । निमोनिया भनेको फोक्सोको कुनै भागको संक्रमणबाट लाग्ने एक किसिमको श्वासप्रश्वास सम्बन्धि रोग हो । फोक्सोमा संक्रमण हुनाले त्यो भागले आफ्नो काम राम्रोसँग गर्न सक्दैन र यो रोगका लक्षणहरु देखिन थाल्छ । 

कसरी लाग्छ निमोनिया ?
हावामा हुने सुक्ष्म जीवाणुहरु हाम्रो सास फेर्ने नली हुँदै फोक्सोमा पुग्छ र त्यसले संक्रमण गराउँछ । केही निमोनिया भने हामीले खाएका खानेकुरा सर्केर सास फेर्ने नलिमा गएमा, अस्पतालको भेन्टिलेटरबाट सिधै फोक्सोमा गएमा वा कुनै रसायनहरु फोक्सोमा पुगेमा पनि लाग्न सक्छ । तर, मुलत निमोनिया गराउने मुख्य कारक भने हावामा हुने आँखाले नदेखिने सुक्ष्म जीवाणुहरु नै हुन । 

कुन उमेर समुहमा बढी देखिन्छ निमोनिया ?
बच्चा र वृद्धहरु निमोनियाको संक्रमणका निम्ति बढी जोखिममा हुन्छ्न । बच्चाहरुमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता राम्रोसँग विकास भइनसकेको कारणले र वृद्धहरुमा श्वासप्रश्वास सम्बन्धि अरु कुनै रोग पहिले नै रहेको हुनसक्ने कारण बढी जोखिममा पर्छन । तर यो रोग जुनसुकै उमेर समुहको मानिसहरुमा देखिन सक्छ । धुम्रपान गर्नेहरुमा निमोनिया लाग्ने सम्भावना बढी हुन्छ । 

जाडोयाममा किन निमोनिया बढी देखिन्छ ?
निमोनिया जाडो र गर्मी दुबै समयमा देखिन्छ । जाडो वा चिसोले मात्रै निमोनिया गराउने भन्ने होइन । निमोनिया गराउने भाइरसहरु जाडोमा बढी सक्रिय हुन्छ्न र एक स्वरुपबाट अर्को स्वरुपमा बदलिरहन्छ्न । साथै जाडोमा पुरानो दम, रुघा जस्ता रोगहरु पनि बल्झिने हुनाले त्यसकै निरन्तरता स्वरुप निमोनियाबाट संक्रमण हुन सक्छ ।

निमोनियाको लक्षणहरुः 
छाती दुख्नु ।
ज्वरो आउनु ।
सास फेर्न गाह्रो हुनु ।
सास फेर्न गाह्रो हुनु ।
खोकी लाग्नु ।
चाडो चाडो सास फेर्नु ।
घाँटी, छातीका मांसपेशीहरु बढी चल्नु ।
टाउको दुख्नु ।
रुघा लाग्नु वा श्वासप्रश्वास सम्बन्धि अरु लक्षणहरु देखिनु ।
निमोनियाको जाँच कसरी गर्ने र उपचार के हो ?
माथि भनिएजस्तो लक्षणहरु देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गइ निमोनिया भएको हो या हैन जाँच गराइहाल्नु पर्छ । रगत, खकार, छातिको एक्स रे आदिको जाँचपछि निमोनिया लागेको हो या हैन टुङ्गोमा पुग्न सकिन्छ । 

निमोनिया भएको रहेछ भने रोगको स्थिती हेरेर चिकित्सकको सल्लाहमा अस्पताल वा घरमा उपचार गर्न सकिन्छ ।

निमोनियाबाट कसरी बच्ने ?
धूम्रपान, मध्यपान, सुर्ती, खैनी आदि अम्मलहरु सेवन नगर्ने ।
बालबालिकाहरुलाई नियमित लगाउनुपर्ने खोपहरु समयमै लगाउने ।
फ्लू, रुघा, खोकी लागेकाहरुबाट बच्चा र वृद्धहरुलाई सकेसम्म टाढै राख्ने ।
श्वासप्रश्वास सम्बन्धि रोगहरु वा निमोनियाका शंका लागेमा सुरुकै स्थितिमा अस्पतालमा चिकित्सकको सल्लाह अनुरुप उपचार गराउने ।
 

Last modified on 2018-11-22 16:58:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts