वीर अस्पतालको भिभिआईपी कक्षः २९ वर्षमा एकजना पनि गएनन् उपचारका लागि


Download our app to get more features
Spark_health_home Birat Hospital

काठमाडौं, २१ फागुन । वीर अस्पतालमा भिभिआइपी बिरामीका लागि लाखौँ खर्चेर बनाइएको सुविधासम्पन्न कक्षमा २९ वर्षदेखि ताला लगाइएको छ, देशका विशिष्टहरू भने सामान्य रोगको उपचारका लागि पनि विदेश धाउँछन् । चार वर्षमा विशिष्टको उपचारमा ६ करोड खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार यो वर्ष मात्रै विशिष्ट व्यक्तिहरूको उपचारका लागि सरकारी ढुकुटीबाट झन्डै २७ लाख बिदेसिएको छ ।

वीरको भिभिआइपी कक्ष आठ कोठाको छ । बिरामी बस्ने, आगन्तुकहरूसँग भेटघाट गर्ने, परिवारका सदस्य सुत्ने, सुरक्षाकर्मी कुर्ने छुट्टाछुट्टै कोठा छन् । त्यस्तै, डाक्टर र नर्सहरूका लागि छुट्टै कोठा छन् । यसबाहेक भान्सा र बाथरुम छन् । पञ्चायतकालमा दरबारका सदस्यलाई उपचार गर्न वीरमा भिभिआइपी कक्ष बनाइएको हो । ०४६ सालपछि भने यहाँ भर्ना भएर उपचार गर्न कुनै पनि भिभिआइपी पुगेका छैनन् । 

vayoda

bp_ad

अस्पतालका निर्देशक प्रा.डा. भूपेन्द्रकुमार बस्नेतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराष्ट्रपति डा. रामवरण यादव वेलावेला बहिरंग सेवा लिन वीर अस्पताल पुग्ने गरेका छन् । विशेषगरी उनीहरू दाँतको उपचारका लागि आउने गर्छन् । 

भिभिआइपी र भिआइपी क्याबिनको मर्मतमा ५० लाख 
भिभिआइपी र भिआइपी कक्षको मर्मतमा पछिल्लोपटक ५० लाख खर्च गरिएको छ । दुई वर्षअघि सम्पन्न सार्क शिखर सम्मेलनलाई लक्षित गरी सरकारले त्यसको मर्मतसम्भार गरेको थियो । त्यसअगाडि १३ लाख खर्च गरेर सो कक्ष सञ्चालनमा ल्याइएको थियो । 

यस्तो सुविधा छ भिभिआइपी र भिआइपी कक्षमा 
भिभिआइपी र भिआइपी कक्षमा सुविधायुक्त बेड, सोफा, एयरकन्डिसन, एटेच बाथरुम, राम्रा बत्ती तथा पर्दाहरू छन् । बिरामीको स्वास्थ्य अवस्था देखाउने ‘बेडसाइड मनिटर’ छ । जसले बिरामीको हृदयगति, श्वास–प्रश्वास, रक्तचाप, शरीरको तापक्रमको अवस्थाबारे जानकारी दिने गर्छ । कोठामा सेन्ट्रल अक्सिजन पाइपलाइन, सक्सन, ‘डिफिब्रिलेटरलगायत आपत्कालीन उपचारका निम्ति आवश्यक सम्पूर्ण औषधि तथा सामग्री छन् । नजिकैको कोठामा इसिजी मेसिन छ । यसका साथै भेन्टिलेटर र अक्सिजन पनि छ । 

वेलाबखत भिआइपीको उपचार
भिभिआइपी कक्षसँगै जोडिएको सुविधासम्पन्न भिआइपी क्याबिन पनि छ । जसमा बिरामी र कुरुवा बस्ने, आगन्तुकहरूसँग भेटघाट गर्ने र भान्सा गरी तीनवटा कोठा छन् । पछिल्लो समय केही भिआइपीले उपचारका लागि वीर अस्पताललाई रोज्न थालेका छन् । अस्पतालले भित्र्याएका अत्याधुनिक उपकरण, सबै प्रविधिको उपलब्धता र गुणस्तरीय सेवाका कारण सामान्य नागरिकदेखि भिआइपीहरूसम्म सेवा लिन आउन थालेको निर्देशक बस्नेतले बताए । पाँच वर्षयता वीर अस्पतालमा १२ जना भिआइपीले उपचार गराएको भिभिआइपी तथा भिआइपी इन्चार्ज सीता अर्यालले बताइन् । 

कुनै पनि वेला देशका विशिष्ट व्यक्तित्व उपचार गर्न आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अस्पतालले क्याबिनका लागि सफाइ कर्मचारी र नर्सिङ कर्मचारी तैनाथ गरेको छ । विगतमा रानी ऐश्वर्यले वीरको भिभिआइपी क्याबिनमै बसेर उपचार गराएकी थिइन् । राजा वीरेन्द्रका बहिनीज्वाइँ र सौतेनी आमापट्टिका छोराले पनि यही क्याबिनमा बसेर उपचार गराएको पुराना चिकित्सकहरू बताउँछन् । 

दैनिक बिरामी २५ सय स् शय्या संख्या ३८०
वीर अस्पतालमा दुई वर्षयता बिरामीको चाप बढेको छ । विगतमा दैनिक एक हजारदेखि १५ सयसम्म बिरामी आउने गरेकोमा हाल दुई हजारदेखि २५ सयसम्म पुग्ने गरेका छन् । ०७२ को भूकम्पअघिसम्म अस्पतालमा चार सय ८६ बेड थिए । अहिले तीन सय ८० बेडबाट मात्रै बिरामीलाई सेवा दिइरहेको छ । वीर अस्पताल एक सय २९ वर्षअघि पाँच शय्याबाट सुरु भएको हो ।

बेवारिसे बिरामी र शव एकै ठाउँ
वीर अस्पतालमा शवगृह (मर्चरी) नहुँदा शव व्यवस्थापनमा गम्भीर समस्या परेको छ । बेवारिसे बिरामी र शव एकै ठाउँमा राखिएका हुन्छन् । वीर अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. भोलाराम श्रेष्ठले बेवारिसे बिरामी र शव एकै ठाउँ राख्नु रहर नभएर बाध्यता भएको बताए । पुरानो भवन भएकाले अस्पतालमा शव राख्ने ठाउँ छैन । अस्पतालले इमर्जेन्सी बिरामी र कुरुवा आवतजावत गर्ने गेटमै शव राख्दै आएको छ । डा. श्रेष्ठका अनुसार बेवारिसे व्यक्ति मरेको खण्डमा शव उठाउन केही समय लाग्ने गर्छ । ढोकाछेउमा शव राख्दा अस्पतालमा आउने बिरामीमा मानसिक र शारीरिक समस्या पनि आउन सक्ने चिकित्सकहरू बताउँछन् । 

नयाँ भवनमा सुविधासम्पन्न मर्चरी बन्दै छ
डा. भोलाराम श्रेष्ठ,प्रमुख, इमर्जेन्सी विभाग, वीर अस्पताल
अहिले वीर अस्पतालमा शव राख्ने ठाउँ छैन । आफन्तले नलगुन्जेल ढोकैछेउमा पर्दाले छोपेर राख्नेबाहेक अरू गर्न सकिँदैन । दिनहुँ बिरामी र आफन्तको गुनासो आउनले गरेको छ । तर, समाधान गर्न सक्ने अवस्था तत्काल छैन । नयाँ सर्जिकल भवन बन्दै छ । त्यसमा शव राख्ने र निकालेर जाने भिन्नै स्थान हुनेछ । अहिले हामीले बेवारिसे बिरामी र शव सँगै राख्नुपरेको छ, त्यो हाम्रो बाध्यता हो । लामो समय शव राख्नुपर्ने अवस्था आए फरेन्सिक मेडिसिन विभाग महाराजगन्ज र पशुपति आर्यघाटमा फ्रिज रहेका छन्, त्यहीँ लैजाने गरेका छौँ । 

पूर्वसभामुख रानाभाटले ५४ हजार तिर्न बाँकी 
एक वर्षअघि वीर अस्पतालमा प्रोस्टेटको अप्रेसन गराएका पूर्वसभामुख तारानाथ रानाभाटले सेवा लिएबापत एक रुपैयाँ पनि तिरेका छैनन् । भिआइपी उपचार कक्षमा २१ दिन बसेर उपचार गर्दा उनको ५७ हजार बिल उठेको थियो । सुरुमा तीन हजार धरौटी राखेका उनले डिस्चार्ज हुँदा कत्ति पनि रकम तिरेनन् । उनको नाममा ५४ हजार बाँकी छ । उपचार गराएका अधिकांश भिआइपीको वीरमा बक्यौता छ । 

सुविधामा कुनै कमी छैन, हरेकस्तरका बिरामीको उपचार गर्ने क्षमता छ
प्रा.डा. भूपेन्द्रकुमार बस्नेत, कामु निर्देशक, वीर अस्पताल

वीर अस्पतालमा भिभिआइपी उपचार गराउन नआएको भन्ने होइन । वेलाबखत दाँतको उपचार गराउन अहिले पनि पूर्वराष्ट्रपति डा. रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आउँछन् । भिभिआइपी क्याबिनमा भर्ना हुने गरी मात्रै नआएका हुन् । सायद भर्ना हुने गरी बिरामी नभएकाले पनि नआएका हुन सक्छन् । वीरमा सुविधासम्पन्न उपकरण छन् । सोहीअनुसार विशेषज्ञ चिकित्सकहरू पनि छन् । जस्तोसुकै समस्यालाई समाधान गर्ने जनशक्ति हामीसँग छन् । त्यसैले वीरमा उपचार कस्तो होला भन्ने भ्रम कसैले पनि पाल्नुपर्ने अवस्था छैन । सुविधामा कुनै कमी छैन, हरेकस्तरका बिरामीको उपचार गर्ने क्षमता वीर अस्पतालसँग छ ।

विशिष्टको उपचारमा चार वर्षमा ६ करोड, यस वर्ष मात्रै अर्थ मन्त्रालयबाट २७ लाख निकासा
पूर्वराष्ट्रपति डा. रामवरण यादव, तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, प्रधानमन्त्री केपी ओली, तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहलगायतको उपचारमा राज्यले चार वर्षमा ६ करोड खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार यस वर्ष वैशाखदेखि माघसम्म विदेशमा उपचार गराएका विशिष्ट व्यक्तिहरूलाई २६ लाख ९८ हजार निकासा गरिएको छ । पछिल्लो समय चौतर्फी विरोध हुन थालेपछि उपचारका नाममा बाँडिने रकम घट्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको लेखा शाखाका उपसचिव मुक्तिनाथ न्यौपानेका अनुसार विगत दुई वर्षयता स्वास्थ्य मन्त्रालयले विशिष्टको उपचारका लागि कुनै रकम निकासा दिएको छैन । तर, मन्त्रिपरिषद्बाट सीधै पैसा निकासा हुने गरेको छ ।

मन्त्रिपरिषद्को ८ मंसिर ०७५ को निर्णयअनुसार पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई भारतमा उपचार गराउँदा लागेको दुई लाख, ३ माघ ०७५ को निर्णयअनुसार सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कार्यरत श्रीविष्णा जोशीको उपचार खर्च एएमसी अस्पताललाई १० लाख र १० साउन ०७५ को निर्णयअनुसार राष्ट्रकवि माधवप्रसाद घिमिरेको विभिन्न अस्पतालमा लागेको उपचार खर्चबापत १४ लाख ९८ हजार ६ सय ६९ रुपैयाँ निकासा भएको छ ।

 

(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2019-03-05 17:48:29

bnc bathrog

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

BlueCross_Dec12 Related Posts norvic_hospital