गर्मी मौसममा अपनाउनुस् यी हेल्दी उपाय, रहनुहुन्छ सँधै स्वस्थ



Download our app to get more features

जाडोको मौसम सकिँदै गर्दा गर्मी मौसमको सुरुवात भइसकेको छ । काठमाडौं उपत्यकामा बिहान बेलुका सामान्य चिसो भएपनि तराईंसहितका क्षेत्रमा भने गर्मी सुरु भइसकेको छ । टन्टलापूर्ण घाम र तातो हावाका कारण मासिनमा विभिन्न किसिमका स्वास्थ्य समस्या र छालामा पनि विभिन्न समस्याले सताउन सक्छ । यस अवस्थामा तपाईंले आफ्नो खानपानमा नै विशेष ध्यान दिनु आवश्यक हुन्छ । किनकी सहि र सन्तुलित खानपानले नै तपाईंलाई गर्मीमा हुने र सताउन सक्ने विभिन्न स्वास्थ्य समस्याबाट राहत भेट्न सक्छ । 

सबैभन्दा पहिले त गर्मी मौसम सुरु हुनासाथ जाडो मौसममा भन्दा बढि पानी पिउने बानी बसाल्नु पर्छ । त्यसका साथसाथै तपाईंको खानपानमा पनि विशेष ध्यान दिनु पर्छ । मौसम अनुसार खानपानमा परिवर्तन गर्नुपनि आवश्यक हुन्छ । गर्मी मौसममा स्वास्थ्य समस्याबाट जोगिनका लागि यी कुरामा ध्यान दिनु आवश्यक छ:

१) धेरै मसालेदार खाना नखाने: मसलाले खानाको स्वाद बढाउँछ त्यसमा कुनै शंका छैन । तर, गर्मी मौसममा तपाईंले यदि धेरै नै मसला प्रयोग गरेको खाना खानुहुन्छ भने त्यसले तपाईंलाई विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ । जस्तै पेट पोल्ने, पेट दुख्ने, खाना अपच भएमा बान्ता हुने, झाडा पखाला लाग्ने । साथै यसले तपाईंको शरीरको तापक्रम पनि बढाउन सक्छ । त्यस कारण गर्मीमा सकेसम्म सादा र मसाला नहालेको खाना नै सेवन गर्नु उचित हुन्छ । 

२) मांसाहारी खानेकुराको कम सेवन: गर्मी मौसममा जति सम्भव हुन्छ त्यति मांसाहारी भोजनबाट टाँढा नै बस्नु उचित हुन्छ । तातो मौसममा मसालेदार र त्यसमा पनि मांसाहारी खाना खाँदा शरीरको तापक्रम बढेर जान्छ । जसले तपाईंलाई पसिना आउने, पाचन प्रणालीमा समस्या हुन सक्छ । 

३). जंक फूडः गर्मी मौसममा जंक फूड खानाले पनि तपाईंलाई विभिन्न स्वास्थ्य समस्या हुन सक्छ । फूड प्वाइजिनिङ मुख्यगरी हुने सम्भावना बढि हुन्छ । त्यस कारण यो मौसममा हरियो तरकारी र मौसमी फलफूलको अत्यधिक सेवन गर्नु राम्रो हुन्छ । यसले शरीरलाई आवश्यक पोषण दिनुका साथै रोगबाट पनि टाँढा राख्ने काम गर्छ । 

४) चिया र कफी: प्रायः जसो मानिसको बानी हुन्छ आफ्नो दिनको सुरुवात नै चिया र कफीको सेवनबाट गर्ने । तर, चिया र कफीको सेवनले शरीरको तापमानलाई बढाउने काम गर्छ । यसमा पाइने कैफिनले शरीरलाई डिहाइड्रेट गर्छ । त्यस कारण गर्मी मौसममा यी दुई कुराबाट टाँढा नै बस्नु पर्छ । 

५) चीज वा चिल्लोजन्य खाना: चीज प्रायः मानिसलाई मन पर्ने गर्छ । तर, गर्मी मौसममा यसको सेवा निकै कम मात्र गर्नु पर्छ । चीज वा चिल्लोजन्य सामानमा क्यालोरीको मात्रा धेरै हुन्छ । त्यसकारण यस मौसममा शरीरलाई अत्यधिक पोषणयुक्त खाना दिनुपर्छ । 

साथै गर्मी मौसममा खाना अपच हुने कुनैपनि किसिमका खानेकुरा खानबाट जोगिनुपर्छ । सकेसम्म सुख्खा गहुँ वा मकैको पिठोको रोटी, मौसमी साग, तरकारी, फलफूल, फलफूलको ताजा जुसको सेवन गर्नु पर्छ । त्यसका साथै यो मौसममा दिउँसो सुत्नबाट जोगिनुपर्छ । दिउँसो सुत्नाले कफ जन्य रोगले सताउन सक्छ । त्यतिमात्र नभई गर्मीमा धेरै अप्ठ्यारो हुने किसिमको व्याया गर्नु हुँदैन । सकेसम्म सामान्य किसिमका र योगा गर्नु राम्रो हुन्छ ।

Last modified on 2019-04-19 08:26:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts