विश्व धुम्रपानरहित दिवस

सूर्तिजन्य पदार्थको लतबाट यसरी छुटकारा पाउन सकिन्छ



Download our app to get more features

अंग्रेजीमा एउटा भनाइ छ: “Tobacco Companies are killing their best customers” अर्थात् “सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरुले आफ्ना सर्वश्रेष्ठ ग्राहकको नै हत्या गरिरहेका छन्” l माझीले बल्छीमा आहारा राखेर माछालाई आकर्षित गरेजस्तै सुर्ती उत्पादक कम्पनीहरुले विभिन्न माध्यमबाट आफ्ना ग्राहक खोजी उनीहरुलाई धेरैभन्दा धेरै आकर्षित पार्न खोजिरहेका हुन्छन् l कहिले कन्सर्टबाट त कहिले गल्फ प्रतियोगीताबाट अनि कहिले सिनेमाबाट त कहिले फेसन कार्यक्रमबाट यस्ता कम्पनीहरुले विशेषगरी युवा-पुस्तालाई आफ्नो निशाना बनाइरहेका हुन्छन् l

कतिपयले कलेज पढ्ने विद्यार्थीहरुलाई विभिन्न प्रलोभन देखाएर उनीहरुको शारीरिक, मानसिक यवं सामाजिक अपरिपक्कताको फायदा लिइरहेका हुन्छन् l कुनै महापुरुषले भनेका छन्: “A friend indeed won’t make you smoke that weed” अर्थात् सच्चा मित्रले कहिल्यै पनि धुम्रपान गर्न सिकाउदैन l यस्ता कम्पनीहरुका दलालहरु कलेज पढ्ने बिद्यार्थीहरुका मित्र बन्न खोजेर बिस्तारै उनीहरुलाई सुर्तीजन्य पदार्थ तथा अन्य लागु पदार्थको लततिर धकेल्छन् l

डोनाल्ड लिन फर्स्ट ले भनेका छन्, “Drugs take you to hellDisguised as heaven” l सुर्तीजन्य पदार्थको लतले त्यस्तो नर्करुपी दुनियाँमा लैजान्छ जसको गेटमा सिंगारपटार गरी “यो स्वर्ग हो” भनी लेखिएको हुन्छ तर त्यस दुनियाँभित्र नर्क नै हुन्छ l लतमा परेको मान्छेले त्यो गेटको झुक्याउने सूचना पढेर बिश्वास गर्छ अनि त्यसमा फस्छ l त्यो नर्कभित्रको दानवरुपी लतले उसलाई सिक्रीले बाँधेर राख्न खोज्छ, उसको फोक्सो र मुटु अनि विस्तारै अन्य अंगहरुमाथि हमला गर्छ; उसको खल्ती रित्याउन थाल्छ; उसको मस्तिष्कमा आक्रमण गर्छ, उसको आफन्त र परिवारको बारेमा भ्रम छर्न थाल्छ; बिस्तारै उसलाई आत्मसमर्पण गराउन खोज्छ अनि आफ्नो स्वार्थ पूरा गरी ज्यान लिनसमेत पछि पर्दैन l

त्यसैले यस्तो लतबाट छुटकारा पाउनु अत्यन्त आवश्यक छ; यस्तो नर्कबाट बाहिर आएपछि बल्ल भान हुन्छ, “साच्चै, स्वर्ग त यो पो रहेछ जहाँ आफ्नो समाज छ, आफ्ना साथीभाइ छन्, जहाँ आफ्नो परिवार छ र जहाँ आफ्ना शुभचिन्तकहरु छन् l  

आफूमा दृढ-आत्मविश्वास भए सुर्तीजन्य पदार्थको लतबाट छुटकारा पाउन सकिन्छ; खाँचो छ त केवल सच्चा माया अनि विश्वासको, को जुन केवल आफैलाई र आफूमाथि गरे पुग्छ l विभिन्न अनुसन्धानहरुले सुर्तीजन्य पदार्थहरुको लतबाट छुटकारा पाउन अवलम्बन गर्नुपर्ने थुप्रै तरिकाहरु पत्ता लगाएका छन् l यी अनुसन्धानहरुको आधारमा केही सरल अनि सफल उपायहरु तल दिइएको छ l

 १. तीब्र इच्छा उत्पन्न हुने माहोल बाट टाढा रहने:

सुर्तीजन्य पदार्थ सेवन गर्ने सबैभन्दा तीब्र इच्छा उत्पन्न हुने अवस्था वा माहोल वा समयलाई अंग्रेजीमा ट्रिगर (trigger) भनिन्छl आफ्नो बिगतको व्यवहारबाट कस्तो बेला सबैभन्दा धेरै सुर्तीजन्य पदार्थको सेवन गरियो भनी याद गर्ने; (जस्तै: पार्टीमा जाँदा, कन्सर्टमा जाँदा, एक्लै कोठामा टि.भी हेरेर बस्दा, कसैसँग धेरैबेर फोनमा गफ गर्दा वा गरिसकेपछि आदि) र सकेसम्म त्यस्तो काममा सहभागी नहुने र हुनै परेको खण्डमा पनि अन्य तरिकाले आफूलाई भुलाउने उपाय खोज्नु पर्छ l

२. सुर्ती सेवन गर्ने निर्णयलाई केही मिनेट पर सार्दै लाने:

“दस मिनेट पछि खान्छु, एकै छिन त हो” भनेर आफुलाई हरेक पल्ट सम्झाउँदै जाने हो भने त्यस्ता दस- दस मिनेट मिलेर थुप्रो घण्टा हुन जान्छ र बिस्तारै शरीरले सुर्तीको माग पनि घटाउन थाल्छ l बिच-बिचमा आफूलाई भुलाउने अन्य क्रियाकलाप भएमा यो प्रक्रिया अझ सहज हुन जान्छ l

३.चपाउनको लागि अन्य स्वस्थकर खानेकुरा छेऊमा राख्ने र तलतल लागेको बेला सेवन गर्ने:

गाँजर, बदाम, ल्वाङ-सुकमेल, छुर्पी, जडीबुटी आदिको सहयोगले आफूलाई केही समयको लागि सुर्तीजन्य वस्तुको सेवन गर्नबाट रोक्न मदत पुर्याउँछ l तर सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहन अस्वस्थ खानेकुरा खाने बानी गर्नु चाहिँ हुँदैन l

 ४.“केवल एकचोटी अन्तिम” भन्दै नभन्ने:

सुर्तीजन्य पदार्थको लत लागेका हरु यसबाट छुटकारा पाउन नसक्नु मुख्य कारण भनेको “अन्तिममा एकचोटी चाहिँ लिन्छु” भन्ने ढिपी हो l यसबाटआफुलाई टाढा राख्न गाह्रो छ तर मनमा आफूमाथि विश्वास भएमा यसलाई आफ्नो वसमा बार्न सकिन्छ l

५. शारीरिक व्यायाम गर्ने र खेलकुदमा ब्यस्त रहने:

नियमित व्यायामले शरीरमा रक्तसंचारमा सुधार आउनुका साथै मनमा नयाँ उमङ्ग र इच्छाशक्ति को विकास हुन्छ l साथै आफू ब्यस्त भइने हुँदा सुर्तीजन्य पदार्थहरुबाट बिस्तारै टाढा पनि भइन्छ l

६. परिवार र साथीको सहयोग लिने:

यदि आफूलाई निकै अप्ठेरो भइरहेको छ भने आफ्नो परिवार वा मिल्ने साथीलाई सेयर गरेमा उनीहरुको सहयोग मिल्न सक्छl l उनीहरुले आफुलाई लतबाट टाढा हुन खोज्दा देखिने लक्षणको बेला (जसलाई अंग्रेजीमा withdrawal symtoms भनिन्छ) सहज महसूस गराउन सक्छन् र त्यो साथले धेरै नै सहयोग पुर्याउन सक्दछ; तर यसको लागि दोहोरो विश्वास, हिम्मत र इमान्दारिताको खाँचो पर्दछ l

७.लतबाट छुटेपछि मिल्ने फाइदाको जानकारी लिने र आफुलाई सम्झाइरहने:

सूर्तिजन्य पदार्थ छोड्दाका फाइदाको राम्रो जानकारी लिएर त्यसलाई कुनै कागजमा टिपी नियमित अवलोकन-अध्ययन गरिराख्यो भने यसले लतबाट मुक्ति पाउन धेरै प्रेरणा मिल्दछ l केही मनोवैज्ञानिकहरुका अनुसार जसरी नियमित रुपमा कुनै सामग्रीको विज्ञापन हेर्दा त्यसले बिस्तारै ग्राहकलाई आकर्षित गर्दछ, त्यसैगरी नियमित रुपमा कुनै स्वास्थ्य जानकारी हेर्यो या पढ्यो भने त्यसले पनि राम्रो व्यवहार गर्न प्रेरित गर्दछ l

८. योग गर्ने :

योगले शरीरलाई निरोगी राख्न मदत गर्दछ र यसका फाइदा अनेक छन्; जस्तै: मांसपेसीलाई बलियो बनाउनु, शरीरको बनावट राम्रो पार्नु, रक्तसंचार सहज पार्नु, मुटु निरोगी पार्नु, रक्तचाप नियंत्रण गर्नु, हर्ष बढाउनु, ध्यान केन्द्रित पार्न सहयोग गर्नु, मस्तिस्क तेज बनाउनु, निन्द्रा राम्रो पार्नु, आत्मविश्वास बढाउनु, यौन-क्षमतामा सुधार ल्याउनु, परिवार-साथीसँगको सम्बन्धमा सुधार ल्याउनु, कुलत बाट छुटकारा पाउनु आदि l) तसर्थ सुर्तीजन्य पदार्थको लतबाट छुटकारा पाउन योगले अत्यन्त सहयोगी भूमिका खेल्दछ l 

९.स्वास्थ्यकर्मी तथा परामर्शकर्ता को सल्लाह-सहयोग लिनु :

आफ्नै पहलमा सूर्तिजन्य पदार्थको लतबाट छुटकारा पाउन नसकेमा स्वास्थ्यकर्मी तथा परामर्शकर्ताको समयमै सहयोग लिनु पर्दछ l

माथि उल्लिखित उपायहरु कुनै अचुक औषधी अवश्य होइनन् तर सूर्तिजन्य पदार्थको लतबाट छुटकारा पाउन खोज्ने इमान्दार व्यक्तिको निम्ति यी उपायहरुले अवश्य सहयोग पुर्याउछन् l

Last modified on 2019-05-31 13:14:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts