भारतमा एक सय बालबालिकाको मृत्युः के लिची घातक हुन सक्छ ?



Download our app to get more features

बीबीसी, ४ असार । लिचीसँग सम्भावित सम्बन्ध रहेको ठानिएको भाइरल सङ्क्रमणका कारण भारतको बिहार राज्यमा एक सय बालबालिकाको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

ती मृत्यु अक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) को प्रकोपका कारण भएका हुन् ।

केही अमेरिकी अनुसन्धानकर्ताहरूले सो भाइरस तथा लिचीमा पाइने एक किसिमको विषालु तत्वबीच सम्बन्ध हुनसक्ने जनाएका छन् ।

के हो घटनाको कारण ?
बिहारको मुजफ्फरपुर शहरमा गएको १५ दिनमा मस्तिष्कज्वरोको साथ एइएसको कारण ९३ जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आइतवार उक्त क्षेत्रको अस्पतालको भ्रमण गरेका थिए ।

ती घटनाका कारण के हुन् भन्ने बारे विशेषज्ञहरूका माझ एक मत छैन ।

कतिपय विशेषज्ञ भन्छन् कि खाली पेटमा लिची खाँदा शरीरमा ग्लुकोजको कमी हुन जान्छ जसले गर्दा बालबालिका यो रोगको चपेटामा पर्न सक्छन् ।

सन् २०१४ मा पनि मुजफ्फरपुरमा १२२ बालबालिकाको ज्यान गएको थियो ।

भारत तथा अमेरिकाका वैज्ञानिकहरूले मिलेर यी मृत्युका कारण पत्ता लगाउने कोसिस गरेका थिए ।

उनीहरूको संयुक्त शोधमा खाली पेट धेरै लिची खाँदा यो बिमारी भएको भन्ने उल्लेख छ ।

वैज्ञानिकहरूका अनुसार लिचीमा हाइपोग्लिसीन ए र मिथाइल एन्साइक्लोप्रोपाइल्गिसीन नामको विषालु तत्व पनि पाइन्छ ।

अस्पतालमा भर्ना भएका अधिकांश बालबालिकाको रगत र पिसाबको जाँच गर्दा तिनमा ती तत्व पाइएको थियो ।

अधिकांश बालबालिकाले राति केही नखाएको र बिहानै धेरै लिची खाएको पाइएको थियो। त्यस्तो अवस्थामा उक्त तत्वले ज्यादा घातक असर गर्ने ठानिन्छ ।

पहिलेदेखि नै कुपोषणले ग्रस्त वा बिरामी बालबालिकामा लिची खाँदा यो रोग लाग्ने धेरै खतरा हुन्छ ।

चिकित्सकहरूले सो क्षेत्रका बालबालिकालाई सीमित मात्रामा मात्र लिची खान तथा त्योभन्दा अगाडि सन्तुलित भोजन गर्न सल्लाह दिएका छन् ।

भारत सरकारले पनि यसबारे एउटा निर्देशिका जारी गरेको छ ।
 

Last modified on 2019-06-20 06:58:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts