कर्मचारी समायोजनको गुनासो छानवीनसँगै सकियो समायोजनको औपचारिक प्रक्रिया

स्वास्थ्य तर्फ गुनासो दर्ता भएकामध्ये ८ हजारको गुनासो सम्बोधन



Download our app to get more features

काठमाडौं, २५ असार । संघीय संरचनामा मुलुक गएपछि सरकारले गरेको कर्मचारी समायोजनको काम औपचारिक रुपमा सकिएको छ ।

समायोजनको क्रममा असन्तुष्टि जनाउँदै गुनासो दर्ता भएको कर्मचारीको गुनासो छानवीनसँगै समायोजनको काम औपचारिक रूपमा सम्पन्न भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ९९ हजार ५७२ कर्मचारीको समायोजनको काम औपचारिक रूपमा सम्पन्न भएको हो । समायोजनप्रति असन्तुष्टि जनाउँदै २४ हजार ९२० जना कर्मचारीले गुनासो दर्ता गराएका थिए । मन्त्रालयले यस सम्बन्धमा छानवीन गरी १५ हजार ६ सय ५९ को गुनासो सम्बोधन गरिएको बताएको छ । ९ हजार २६१ को गुनासो भने सम्बोधन गर्न नसकिएको मन्त्रालयले जनाएको छ । गुनासो सम्बोधनसँगै समायोजनको सम्पूर्ण प्रक्रिया टुंगिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता भुपाल बरालका अनुसार मन्त्रालयका तर्फबाट समायोजनका सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेका छन् ।

मुख्य सचिवदेखि सम्पूर्ण कर्मचारीको समायोजन सम्पन्न भएको बरालले बताए । बरालले  स्वास्थ्यतर्फका कर्मचारीको समायोजन पत्र वितरण स्वास्थ्य मन्त्रालयबाट भइरहेको जानकारी दिए ।

उनका अनुसार स्वास्थ्यतर्फ समायोजनमा परेकामध्ये १२ हजार ३ सय ६ ले गुनासो दर्ता गराएका थिए । जसमध्ये ८ हजार ७ सय ५४ गुनासो सम्बोधन भएको र बाँकी ३ हजार ५ सय ५ को गुनासो सम्बोधन गर्नुपर्ने प्रकृतिको छैन ।

स्वास्थ्यतर्फका २६ हजार ३ सय २ कर्मचारी समायोजनमा परेका छन् ।
 

Last modified on 2019-07-11 06:30:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts