एक वर्ष मुनिको बच्चालाई जुस दिँदै हुनुहुन्छ भने आजैबाट बन्द गर्नुहोस्



Download our app to get more features

फलफूल मानव स्वास्थ्यको लागि फलदायी खानेकुरा हो । हामी सबैलाई फलफूल खानुपर्छ भनेर सल्लाह दिने गर्छौ । उपलब्ध भएसम्म फलफूल सेवन गर्न मन पनि पराउछौं । शरीरका विभिन्न कार्यको नियमित संचालन र प्रतिरक्षाको लागि अवश्यक भिटामिनलगायत सुक्ष्म पोषक तत्वहरू पाउन सबै उमेर समूहका व्यक्तिलाई फलफूल र सागसब्जी राम्रो हो । त्यो बाहेक यस्ता खानेकुरामा पर्याप्त रेशादार कुरा हुने भएकाले कब्जियत हुनबाट बचाउछ ।

तर एक वर्ष मुनिका शिशुहरूलाई फलफूलको जुस खुवाउँदा कुनै पौष्टिक फाइदा नहुने भएकाले नियमित खानेकुरामा जुस नदिन सिफारिस गरिएको छ । अमेरिकन एकाडेमी अफ पेडीयाट्रिक्स नामको बालरोग बिशेषज्ञहरूको संस्थाले हालै यस्तो रिपोर्ट सार्बजनिक गरेको हो । त्यो भन्दा अगाडिको सिफारिस अनुसार बच्चा ६ महिनाको हुँदासम्म मात्र फलफूलको जुस दिनु हुँदैन भनेको थियो । यसलाई बढाएर १२ महिनासम्म नदिने भनिएको हो ।

एक वर्षपछि पनि जुस भन्दा फल नै राम्रो
यसको अर्थ फलफूल नदिनु भनेको हैन । ६ महिनासम्म आमाको दुध बाहेक अरु केहि दिनु पर्दैंन र दिन हुँदैन पनि । तेसपछी थप ठोस आहार दिन थालेपछि क्रमशः ताजा फलफूल दिन फलफूल पर्छ । पाकेको केरालई मिचेर दिनु उपयुक्त सुरुवात हुन सक्छ । तेस्तै स्याउ उसिनेर अनि मिचेर दिए पनि राम्रो हुन्छ । उमेर बढ्दै जादा ठोस फलफूलको मात्रा र प्रकार बढाउदै लैजानु पर्छ । 

हामीलाई ताजा फलफूलको जुस त फाइदाजनक नै हुनुपर्ने जस्तो लाग्छ । तर शिशुहरूलाई फलफूलको जुस दिदा भने कुनै थप फाइदा नहुने रहेछ । आजकल ग्रेपवाटर भन्ने पेयपदार्थ बजारमा पाइने रहेछ र कतिपय अभिभावकले यसको बिज्ञापन वा कसैको गलत सल्लाहमा आफ्ना शिशुलाई ग्रेपवाटर दिने गरेको देखिन्छ । यो अनाबश्यक मात्र हैन, हानिकारक पनि छ । 
बच्चा एक वर्ष पुरा भैसकेपछि फलफूलको जुस दिनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ तर यसको मात्रा भने नियन्त्रण  गर्नुपर्छ । कोकाकोला, फ्यान्टा जस्ता पेय पदार्थ त दिनै हुँदैन । विभिन्न नाममा आउने फलफूलको स्वाद र रङ्गका कृतिम जुसहरुले पनि बच्चाको स्वास्थ्यमा कुनै फाइदा पुर्याउदैन । बरु जोखिम बढाउन सक्छ । 

फलफूलको जुसमा चिनीको मात्रा अत्यधिक हुन्छ । जसले तुरुन्त शक्ति दिन्छ । अनि बच्चा तुरुन्तै अघाए जस्तो हुन्छ र अरु खानेकुरा खान मान्दैन । त्यसैले पनि एक बर्ष मुनिका बच्चालाई कत्ति पनि नदिन र त्येसपछी पनि निश्चित परिमाण मात्र दिन भनिएको हो । अर्काे कुरा चिनीको मात्रा संग्रहित हुँदै जादा मोटोपन बढाउने पनि हुन्छ । जुन दीर्घकालिन रुपमा मुटुरोग, मधुमेह जस्ता दीर्घ रोगको मुहान बन्न सक्छ । गुलियो जुसले बच्चाको दुधे दात पनि बिगार्छ ।

एक बर्ष कटेपछि सन्तुलित आहारको यौटा सानो अंगको रुपमा केहि मात्रामा फलफूलको जुस दिन सकिन्छ । तीन बर्षको उमेरसम्म दिनभरिमा चार औँस अर्थात १२० मिलिलिटरसम्म फलफूलको जुस दिन सकिन्छ भने चार देखि छ वर्षसम्म चार देखि ६ औँस र ६ बर्षमाथि आठ औँस सम्म दिन सकिन्छ । तर सकेसम्म जुस भन्दा ठोस फलफूलको मात्रा बढाएको राम्रो । बच्चालाई जुसले भन्दा ठोस फलफूलले फाइदा हुन्छ । 

बोतलबाट जुस चुसाउनु हुँदैन
सानो उमेरमा जुस दिदा बोतलबाट चुसेर खान दिन हुँदैन । यसले बच्चाको दाँत किराले खाने हुन्छ र उसले खाने जुसको मात्रा नियमित गर्न पनि गाह्रो हुन्छ । सुत्ने बेलामा त झन जुस दिनै हँुदैन । जुसको नाममा बेचिने अस्वस्थ पेयपदार्थ बच्चालाइ दिनु हुँदैन । पानीको मात्रा पुरा गर्न भनेर जुस दिन हुँदैन । झाडा पखाला लागेर जलबियोजन हुँदा जुस दिनु त झनै उल्टो काम हो । किनकि यसले झन पखाला बढाउँछ । ६ महिनासम्म शिशुहरुले आमाको दुधबाट पर्याप्त मात्रामा पानी पाउँछन भने त्येसपछी पनि आमाको दुध, गाइभैसीको दुध, दाल, अतिरिक्त पानी आदिबाट शरीरलाई चाहिने पानीको मात्रा पुरा गरिदिनुपर्छ । 

हाम्रो प्राथमिकता कसरी बच्चालाई उमेर अनुसारको सन्तुलित भोजन खुवाउने भन्नेमा हुनुपर्छ । ठोस फलफूलको मात्रा साबिकको भोजनमा बढाउन प्रयास गरौँ । फलफूल राम्रो कुरा हो तर त्यसको जुस सधै सबैको लागि राम्रो हुन्छ भन्ने हुँदैन ।

Last modified on 2019-08-14 09:08:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts