भारतमा भेप प्रतिबन्धित, नेपालमा पनि नियन्त्रणको माग



Download our app to get more features

बिबिसि / दक्षिणी छिमेक भारतमा इलेक्ट्रोनिक सिगरेट तथा भेपमाथि प्रतिबन्ध लगाइएपछि नेपाल सरकारले पनि त्यस्तो नीति अवलम्बन गर्नुपर्ने चिकित्सकहरूले बताएका छन्। कागजमा बेरेको सुर्तीमा आगो बालेर धुँवा तान्ने परम्परागत चुरोटभन्दा फरक ब्याट्रीको सहायताले एउटा सानो उपकरणमा राखिएको सम्मिश्रणबाट निकोटिनयुक्त धुवाँ तान्नुलाई भेपिङ भिन्छ।

धूमपानको विकल्पका रूपमा अघि सारिएको भए पनि त्यसले कुनै न कुनै रूपमा स्वास्थ्यमा असर पार्ने विज्ञहरूको भनाइ छ। हालसम्म भेप वा इलेक्ट्रोनिक चुरोटको प्रयोगका कारण सर्वसाधारणको स्वास्थ्यमा के कस्तो असर परेको छ भन्ने कुनै अध्ययन भएको छैन।

तर भेप र ई-सिगरेट अस्वस्थकर भएकाले विभिन्न समृद्ध मुलुकले तिनको प्रयोग रोक्न थालेको औँल्याउँदै नेपालले पनि तत्काल उपयुक्त निर्णय गर्नुपर्ने धारणा श्वासप्रश्वासको विशेषज्ञता भएकी चिकित्सक डा. रक्षा पाण्डेको छ।

"भेपको प्रयोग युवाहरूले गर्ने र उनीहरूको प्रतिरोधात्मक क्षमता तुलनात्मक रूपमा धेरै हुने हुँदा यसको प्रयोगकै कारण उत्पन्न समस्याबारे तत्काल थाहा पाउन गाह्रो पर्छ। यसको असरबारे थाहा पाउन कम्तीमा पाँचदश वर्ष लाग्छ," पाण्डेले बीबीसी न्यूज नेपालीसँग भनिन्। सरकारले यस्ता किसिमका वस्तुको प्रयोगले स्वास्थ्यमा पार्न सक्ने प्रभावबारे चेतना फैलाउनुपर्ने विज्ञहरूको भनाइ छ।

सरकारी धारणा
सरकारी अधिकारीहरूले भने भेपको विषयमा हालसम्म कुनै किसिमको छलफल नभएको बीबीसीलाई जानकारी दिए। भेपकै विषयमा ठोस छलफल नभए पनि सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्नका लागि २०६८ मा छुट्टै ऐन बनाएको मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठ स्मरण गर्छन्।

ऐनले सार्वजनिक स्थलमा धूमपान तथा सूर्ति सेवन गर्न नहुने व्यवस्था गर्नुका साथै त्यस्तो गरेको पाइएमा दण्डको व्यवस्था पनि गरेको छ। "कानुनी रूपमै धूमपान वा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गरिने भनिएकाले यस्ता वस्तुको प्रयोगको नियमन भने कडाइका साथ गर्नुपर्छ," श्रेष्ठले भने। तर अहिलेसम्म उक्त ऐनका प्रावधानहरू पूरै कार्यान्वयन नभएको उनी स्वीकार्छन्।

नेपालमा कस्तो छ बजार?
नेपालमा भेप व्यापारीहरू केही समययता चीनबाट आयात गरिएका सस्ता सामानको माग र बिक्री उल्लेख्य रहेको बताउँछन्। द भेप नेपालका सञ्चालक सागर श्रेष्ठका अनुसार नेपालमा भेपको बजारीकरण करिब चार वर्षअघि सुरु भएको हो। अहिलेको अवस्थामा भने आफूहरूले बिक्री गर्ने ब्रान्डेड सामानको बजार त्यति राम्रो नरहेको उनले बताए। "एकै दिनमा २५ देखि ३० हजार रुपैयाँ सम्मको कारोबार हुन्थ्यो। अहिले १० हजारको हाराहारीमा झरेको छ," श्रेष्ठले भने।
आफूहरूले १८ वर्षभन्दा मुनिका किशोरकिशोरीलाई भेप नबेच्ने हुँदा पनि बजार पहिलेको जस्तो नभएको उनको निष्कर्ष छ। अठार वर्षभन्दा माथिका धेरैले मानिसले केही समय भेप प्रयोग गरे पनि लामो समय प्रयोग नगरेको र त्यसैले बजार नफैलिएको उनको बुझाइ छ।

किन लगाएको भारतले प्रतिबन्ध?

भारत सरकारले इलेक्ट्रोनिक चुरोट अर्थात् ई-सिगरेट माथि पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। स्वास्थ्यलाई नराम्रो असर पुर्‍याएको भन्दै मन्त्रिपरिषद्को निर्णयबाट ई-सिगरेट उत्पादन, आयात तथा बेचबिखनमा रोक लगाइएको हो। भारतकी अर्थमन्त्री निर्मला सीतारमणका अनुसार भेपिङका लागि प्रयोग हुने सामग्रीले युवामाथि पारेको प्रभावका कारण त्यसमाथि प्रतिबन्ध लगाउनका एउटा अध्यादेश पारित गरिएको हो।
तर उक्त निर्णयले भेपिङ उपकरणको प्रयोगमा पनि रोक लगाउँछ वा लगाउँदैन भन्ने कुरा भने स्पष्ट छैन। भारतमा १० करोडभन्दा बढी युवा धूमपान गर्छन् र विद्युतीय चुरोट निर्माताहरूका लागि भारत लोभलाग्दो बजार बनेको छ।

के हो भेपिङ?
भेपलाई धूमपानका विकल्पका रूपमा हेरिए पनि स्वास्थ्यमा यसले कस्तो असर पार्छ भन्ने विषयमा भने पर्याप्त जानकारी छैन।  निकोटिन, पानी र सुगन्धको सम्मिश्रण रहेको पदार्थ भेपिङमा प्रयोग हुन्छ।

Last modified on 2019-09-20 07:35:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts