दशैंमा लगाइने 'जमरा' खादा स्वास्थ्यमा पनि हुन्छ फाइदा !



Download our app to get more features

आज बडा दशैंको दशौं दिन, विजया दशमी । मान्यजनबाट रातो टिका र पहेँलो जमरा लगाएर आर्र्शिवाद लिने दिन हो । दशैंमा लगाईने जमरा लगाउनेसँगै त्यसको स्वास्थ्य सम्बन्धी फाइदा पनि अनेक हुन्छ ।

धेरैलाई थाहा नहुन सक्छ, जमरा दशैँमा टीकासँगै लगाउने मात्र होइन, स्वास्थ्यको लागि खान पनि निकै फाइदाजनक छ । घटस्थापनामा राखिएको जमरा दशैँको टीकामा लगाउनुबाहेक खानु पनि स्वास्थ्यको दृष्टिकोणले निकै फाइदाजनक रहेको अध्ययनहरूले देखाएका छन् । नेपालमा दशैँमा टीका लगाउने बेला प्रयोग गरिने जमरा अन्य देशमा खानामा सलादको रुपमा, जूसको रुपमा पनि प्रयोग गर्ने गरेको पाइन्छ । 

सामान्यतया जौ, गहुँ, मकै आदि मिसाएपछि चोखो माटोमा बाक्लै हुने गरी छरेर प्रकाश नपर्ने गरी जमरा राखिन्छ । यसरी छोपेर राखिएको जमरामा घामको प्रकाश नपर्ने हुँदा पहेलो रंगको हुन्छ । यसको औषधीय महत्व छ । आयुर्वेद चिकित्सामा जौको जमरा राम्रो मानिन्छ ।

वैज्ञानिकहरूले जमरालाई क्यान्सर रोग उपचारको लागि प्रभावकारी औषधि बताउँदै आएका छन् । यसको रस नियमित सेवन गर्दा क्यान्सर, रक्तअल्पता, चिनीरोगलगायत विभिन्न समस्यामा राहत मिल्ने उनीहरूको भनाइ छ । 

फ्लोरिडाको हिपोक्रेट्स हेल्थ इन्स्टिच्यूटका प्राध्यापक डा.बे्रन क्लेमेन्टका अनुसार जमरामा पोलिफिनोल नामक सक्रिय तत्व पाइन्छ । उक्त तत्वले शरीरका विशेष प्रकारका प्रोटिनहरूको कामलाई बढाई इन्सुलिन निष्कासन गराउन खबर गर्ने काम गर्छ । 

उनका अनुसार जमराले रगतमा रहेको ग्लुकोजलाई एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने र ग्लुकोजलाई टुक्र्याउन पनि सहयोग गर्ने गर्छ । जसले गर्दा रगतमा चिनीको मात्रा कम गर्ने अध्यनबाट देखिएको छ । यसै गरी जमरामा भिटामिन ए, के, सी, ईका साथै थायमिन, कोलिन, लौहतत्वलगायत विभिन्न खनिज तत्व र एमिनो एसिड पाइन्छ । एक ग्राम जौको जमरामा ७ सय ७५ मि.ग्रा. अर्गानिक सोडियम पाइन्छ ।

पूर्वीय चिकित्सा पद्धतिका आयुर्वेद ग्रन्थहरूमा जौ र जौको अंकुरमा भएका रसायन गुणले रक्तअल्पता, चिनीरोग, उच्च रक्तचापको समस्यामा विशेष राहत मिल्ने उल्लेख गरेको पाइन्छ । गाउँघरमा पेट र हाडसम्बन्धी समस्यामा जमरा खान दिने गरेको पाइन्छ र यसको प्रभावकारिता पनि देखिएको छ । यसले कलेजोको विषाक्त हटाउन र आन्द्रा सफा गर्न मद्दत गर्छ । 

तर याद राख्नुहोस् ! विभिन्न रोगविरुद्ध प्रभावकारी छ भनेर बजारमा राखिएका जमराको रस लगायत अन्य मिसावट रसादि वस्तुको भने जथाभावी प्रयोग गर्नुहुन्न । केमिकल मिसाइएका जूस जथाभावी सेवन गर्दा त्यसले झन् रगतमा चिनी र बोसोको मात्रा बढ्न सक्छ । त्यस्तै गरी विभिन्न रोगको उपचारको लागि प्रभावकारी हुन्छ भन्ने अध्ययनले देखाएको भन्दैमा लिइरहेको औषधि पनि छोड्नु हँुदैन । जुनसुकै औषधि पनि छोड्नुप¥यो भने चिकित्सकको परामर्श र सल्लाहमा मात्र छोड्नुहोला । 

औषधियुक्त वनस्पति उपयोग सम्बन्धी विषयमा अध्ययन गरेका डा.अच्यूत अधिकारीका अनुसार जमराको जुसको केहीलाई एलर्जी हुने बाहेक अरु कुनै असर देखिएको कुरा प्रकाशित छैन । १ सय ग्राम जमरा २३ किलोग्राम हरियो सागको बराबर हुन्छ । त्यसैले हरियो जमरा पिउनु स्वास्थ्यको लागि राम्रो हुन्छ । कति पिउने भनेर अहिलेसम्म मात्रा तोकिएको छैन तर पनि दिनको ५–१० ग्राम जमराको जुस पिउनु राम्रो हुन्छ । एकैचोटी धेरै पिउनु पनि ठीक हुँदैन । जमराको जुसले लागिसकेको रोगलाई पूर्ण निको गर्ने भन्दा पनि रोग लाग्न नदिने गुण देखिएको छ । भनिन्छ औषधि गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो हो त्यसैले हरियो जमराको जुस बहुउपयोगी भएकोमा शंका छैन । 

Last modified on 2019-10-08 16:50:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts