अपरेसन पछि घाउको स्याहार कसरी गर्ने ?



Download our app to get more features

शरीरको कुनै पनि भागको अपरेसन गरेपछि बन्ने घाउको स्याहार गर्नु एकदमै जरुरी हुन्छ । त्यस्तो घाउको राम्रोसंग हेरविचार नगरेमा घाउ पाक्ने, संक्रमित हुने, ढिलो जोडिने आदि समस्याहरु देखिन सक्छ ।

ड्रेसिङ्ग कहिले गर्ने ?
सामान्यतया घाउको प्रकृति हेरेर त्यसको ड्रेसिङ्ग कहिले गर्ने भनेर निर्धारण गरिन्छ । संक्रमित र फोहोर घाउहरु छन् भने त्यसलाई दैनिक रुपमा सफा गरिरहनुपर्ने आवश्यक हुनसक्छ । अपरेसनबाट बनेको घाउलाई भने केहि दिन बिराएर पनि ड्रेसिङ्ग गर्न सकिन्छ । यी कुराहरु बिरामी भर्ना भएको अस्पतालको प्रोटोकल र उपचार गर्ने चिकित्सकहरुले गर्ने घाउको जाँचहरुमा पनि भर पर्छ ।

टाँका कहिले खोल्ने ?
टाँका कहिले खोल्ने भन्ने कुरा घाउको अवस्था, रहेको भाग र सिलाउनको निम्ती के प्रयोग गरिएको छ आदि कुराहरुमा भर पर्छ । सामान्यतया अनुहार, पेट आदिको अप्रेसनमा लगाएको टाँका  ७ देखि १० दिनमा निकाल्न सकिन्छ भने, हात वा खुट्टाको चाहिँ २ हप्तासम्म लाग्न सक्छ । हात खुट्टाको तुलनामा अनुहारमा रक्तसञ्चार बढी हुने भएकाले घाउ चाडो निको हुने गर्छ र टाँका चाडो निकाल्न सकिन्छ । यसमा पनि अस्पताल र चिकित्सक अनुसार र घाउको अवस्था हेरेर टाँका खोल्ने वा नखोल्ने निर्णय लिनुपर्ने हुँदा, सम्बन्धित चिकित्सकको सल्लाह र घाउको अवस्थाको राम्रो पहिचान गरेर मात्र टाँका खोल्नु बुद्धिमानी हुन्छ ।

घाउको टाँका खोलेपछि भने ड्रेसिङ्ग गरिरहनुपर्ने जरुरी हुँदैन तर घाउको सरसफाईमा भने विशेष ध्यान पुर्याउनुपर्छ ।

कसले सावधानी अपनाउने ?
मधुमेह, एच आई भी एड्स, क्यान्सर लगायत अन्य रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीहरुमा भने घाउ जोडिने वा पहिलेको अवस्थामा आउन समय लाग्ने गर्छ । यी बिरामीहरुले घाउको सरसफाई र हेरचाहमा थप ध्यान पुराउनुपर्ने हुन्छ ।
धुम्रपान गर्नेहरुमा पनि घाउ सन्चो हुन धेरै समय लाग्ने गर्दछ ।

कतिबेला अस्पताल जाने ?
    घाउबाट पानी वा पिप बगेमा
    लामो समयसम्म पनि घाउ नजोडिएमा
    अपरेसन गरेको केहि दिनभित्र ज्वरो आउने, काम्ने भएमा 

केहि भ्रमः
अप्रेसन गरेपछि गेडागुडी, माछामासु खायो भने घाउ पाक्छ भन्ने भ्रम धेरै मानिसहरुमा रहेको पाइन्छ । तर खानेकुरा सँग घाउ पाक्ने वा नपाक्नेको तस्तो कुनै सम्बन्ध हुँदैन । घाउको संक्रमण र पाक्ने भन्ने कुरा घाउको सरसफाई र हेरचाहमा भर पर्ने गर्छ । साथसाथै घाउ चाँडो सन्चो हुन प्रोटिनयुक्त खानेकुराहरु जस्तै गेडागुडी, माछामासु, अण्डा आदि यथेस्ट मात्रामा खानुपर्ने हुन्छ । 

Last modified on 2019-10-18 07:23:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts