ढाडको दुखाईलाई वेवास्ता नगरौ, गम्भीर रोगको लक्षण पनि हुनसक्छ



Download our app to get more features

हाम्राका लागि ढाड दुख्ने समस्या नौलो होइन । कमै मात्र मानिस होलान् जसको जीवनमा कहिलै पनि ढाड नदुखेको होस् । यसकारण पनि ढाड दुख्नुलाई हामी त्यतिधेरै ध्यान दिदैनौं । तर, ढाडको दुखाईलाई सामान्य समस्याका रुपमा लिनु हुँदैन । यो कुनै गम्भीर रोगको लक्षण पनि हुनसक्ने मेरुदण्ड विशेषज्ञ डा. गौरवराज ढकालको भनाइ छ । ढाड दुख्नुको कारण र यसबाट जोगिने उपाय बारे डा. ढकालको सुझाब यस्तो छ ।

ढाड दुख्ने समस्या अधिकांश मानिसलाई हुनेगर्छ । यो प्रायः सबै पेशामा आबद्ध व्यक्तिको समस्या हो । पहिले पहिले उमेर ढल्कदै जाँदा वा बुढेसकाल लागेपछि मात्रै ढाड दुख्छ भन्ने थियो । तर, अहिले कलिलै उमेर देखि नै ढाड दुख्ने समस्या भएका धेरै बिरामी आउन थालेका छन् । ढाड दुख्ने समस्या सामान्य पनि हुनसक्छ तर सधै सामान्य मात्रै नहुन सक्छ । दुखाई धेरै छ की थोरै, सधैं दुख्छ की कहिलेकाहीँं, कुनै काम गर्दा दुख्छ की सामान्य अवस्थामा पनि दुख्छ, यी सबै कुराको एकिन गरेर मात्र समस्याको पहिचान हुन्छ । 

ढाड दुखाईका लक्षण व्यक्ति अनुसार फरक फरक हुन्छ । ढाड के कारणले दुखेको सोही अनुसार लक्षण देखा पर्छ । कसै कसैलाई कहिले काही मात्र दुख्ने, कुनै काम गर्दा मात्रै दुख्ने हुन्छ । यो सबै दुखेको कारणमा भर पर्छ । 

ढाड दुख्ने मुख्य कारण 

  • पोस्चर नमिल्नु ।
  • हड्डी खिइनु 
  • मेरुदण्डमा चोटपटक लाग्नु ।
  • ढाडको मांशपेशीमा समस्या आउनु ।
  • लामो समय एकै स्थानमा बस्दा, उभिदा वा निहुँरिएर काम गर्दा ।
  • मेरुदण्डको हड्डीभित्र मुख्य नशा, वरपर हुने लिगामेन्ट तथा दुई हड्डीबीचमा रहेको डिक्स फुट्दा । 
  • ढल्कदो उमेर ।
  • गह्रो सामान उचाल्दा ।
  • सुताई नमिल्दा ।
  • मेरुदण्डमा संक्रमण ।
  • पित्तथैली, मिर्गाैलामा पत्थरी, कब्जियत, ठुलो आन्द्राको समस्याले पनि ढाड दुख्न सक्छ ।
  • वंशाणुगत गुण ।

यस्तो प्रकृतिको दुखाई गम्भीर

धेरै जसोको ढाड दुख्ने समस्या सामान्य प्रकृतिको हुन्छ । पोस्चर नमिल्दा, लामो समय एकै स्थानमा काम गर्दा या सुतेको नमिल्दा दुखेको ढाड आफैले सुधार्न सकिन्छ । यस्तो खाले दुखाई आफै निको पनि हुन्छ । 

तर, सहनै नसक्ने गरि ढाड दुख्छ, लामो समयसम्म लगातार दुखिरहन्छ, ढाड वरीपरी सरी सरी दुख्छ भने यस्तो अवस्थामा तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ । अन्य रोगको कारणले दुखेको रहेछ भने त्यो रोगको निदान गर्नुपर्छ । 

ढाड दुखाईबाट बच्ने उपाय 

  • एकै आसनमा बसेर लामो समय काम नगर्ने ।
  • ‘टेबल वर्क’ गर्ने व्यक्तिले समय समयमा उठेर एकै छिन भए पनि आराम गर्ने । 
  • धेरै लचकदार ओच्छयानमा नसुत्ने ।
  • धेरै निहँुरिएर काम नगर्ने ।
  • गह्रो सामान एकै चोटी उचाल्नु हँुदैन् । 
  • लामो समय गाडी वा बाइक चलाउँदा बेला बेलामा आराम गर्ने ।
  • तौल नियन्त्रणमा राख्ने ।
  • पौष्टिक आहारयुक्त खाना खाने ।
Last modified on 2019-11-28 06:06:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts