के कारणले दुख्यो छाती ? यसरी जानौं



Download our app to get more features

छाती दुख्दा अधिकांशको दिमागले सीधै मुटुबारे सोच्न थाल्छ ।

छाती दुख्नु मुटुकै समस्याले हो भन्ने धेरैको बुझाइ पाइन्छ । तर, यो बुझाइ गलत हो भन्छन् चिकित्सक । मुटुबाहेक फोक्सो, हड्डी, मांसपेशी, नसा र छालाका कारणले पनि छाती दुख्ने गर्छ । तर, मुख्यतः मुटु, फोक्सो, हड्डी तथा मांसपेशीले छाती दुख्ने बढी हुन्छन् । छाती के कारणले दुख्यो भनेर कसरी थाहा पाउने ? मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले दिएका छन्, जवाफः

मुटुको दुखाइ
छातीको बीच भाग वा दायाँ बायाँ एकनासले दुख्ने, दबाब महसुस हुने तथा पोल्ने गर्छ भने यो मुटुको दुखाइले हुने गर्छ । मुटुको दुखाइले छातीमा निम्तिने पीडाको तीव्रता कम या बढी हुन सक्छ । दुखाइसँगै पसिना आउने, बान्ता होलाजस्तो हुने, धड्कन बढ्ने, डर लाग्ने र कमजोर महसुस हुने लक्षण देखिएमा हृदयाघात नै हुन सक्छ । हृदयाघातमा छातीको दुखाइ देब्रेहात, घाँटी, दाँत वा पिठ्युँतिर पनि सर्न सक्छ । मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल भएकाहरूले यस्तो दुखाइमा बढी सावधानी अपनाउनुपर्छ ।

फोक्सोको दुखाइ
फोक्सोमा समस्या हुँदा छातीमा निम्तिने दुखाइ मुटुको समस्यामा भन्दा फरक खालको हुन्छ । यो अवस्थामा लामो श्वास लिँदा वा फेर्दा छातीको एकातिर (दायाँ वा बायाँ भाग) करङमा चसक्क दुख्ने गर्छ । दुब्लो व्यक्तिमा यो समस्या बढी देखिन्छ । फोक्सोको समस्याले छाती दुख्दा स्वाँ–स्वाँ हुने र ज्वरो आउने पनि हुन सक्छ । फोक्सोमा निमोनिया भएर पनि छाती दुखेको हुन सक्छ । यस्ता लक्षण देखिए जतिसक्दो छिटो जनरल फिजिसियन वा छातीरोग विशेषज्ञलाई देखाउनुपर्छ ।

मांसपेशी वा हड्डीको दुखाइ
छातीको दायाँ भाग, पछाडिपट्टि वा छेउतिर करङमा दुख्यो भने त्यो मांसपेशी वा हड्डीको दुखाइले हुन सक्छ । यो भागमा दुख्दा मुटुमा समस्या भएको सम्भावना भने कम हुन्छ । मांसपेशी वा हड्डीको दुखाइले छातीमा पीडा भएको वेला हातले छाती छाम्दा, श्वास फेर्दा पनि दुख्ने हुन्छ । छातीलाई घुमाउँदा दुखाइमा परिवर्तन आए मांसपेशी र हड्डीको दुखाइ हुनसक्छ । यो अवस्थामा हाडजोर्नी विशेषज्ञकहाँ जानु राम्रो हुन्छ ।

Last modified on 2019-12-08 08:28:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts