डोटीमा पञ्चकर्म विधिद्वारा बाथरोगको उपचार सुरु



Download our app to get more features

डोटी, २ पुस । डोटीको दिपायलमा पहिलो पटक बाथरोगीका लागि नयाँँ उपचार प्रविधि शुरु गरिएको छ। जिल्ला आयुर्वेद कार्यालय दिपायलले स्वधन चिकित्सा प्रविधि अर्थात् पञ्चकर्म–पूर्णकर्म विधिद्वारा उपचार गर्न शुरु गरिएको छ।

लामो समयदेखि उपचार नपाएर घरैमा बस्न बाध्य बिरामी तथा उपचारका लागि जिल्लाबाहिर तथा छिमेकी मुलुक जान बाध्य भएका बाथ रोगीका लागि जिल्ला आयुर्वेदले यो प्रविधिबाट उपचार गर्न शुरु गरेपछि अहिले आयुर्वेद कार्यालयमा उपचार गराउन आउने बिरामीको भीड हुने गरेको छ।

जिल्ला आयुर्वेदका कविराज विद्या घिमिरे देउवाका अनुसार डोटीमा सबैभन्दा बढी पत्थरी तथा त्यसपछि बाथरोगका बिरामी बढी भएको आफूले पाएको बताए। उनले भने, “हामी कहाँ परीक्षण गराउन आउने अधिकांशमा पत्थरी तथा करीब ३५ देखि ४० प्रतिशत बाथरोगका बिरामी भेटिन्छन्।”  पञ्चकर्म–पूर्णकम प्रविधिबाट उपचार गराउँदा आफ्नो बाथरोग क्रमिक रुपमा सुधार हुँदै गएको दिपायल सिलगढी नगरपालिका–२ दिपायलस्थित कठायत टोलकी ७० वर्षीया हिरादेवी कठायतले बताए।

कविराज देउवाका अनुसार स्वधन चिकित्सा प्रविधि अर्थात् पञ्चकर्म–पूर्णकर्म विधि भनेको तेल, विभिन्न जडीबुडी, घृत तथा मह पकाएर बाफद्वारा शरीरमा भएको खराब रगत हटाउने प्रविधि हो। यो प्रविधि डोटीमा पहिलो पटक लागू भएको आयुर्वेद हो।    

यो प्रविधि लागू भएपछि अहिले बाथरोगीहरुको उक्त कार्यालयमा दैनिक १५ देखि २० जनासम्मको भीड लाग्ने गरेको बताइएको छ।

Last modified on 2019-12-18 17:03:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts