नेपाली माटोमा ७५ थरीका रोग निको पार्ने गुण



Download our app to get more features

आयु र वेद शब्दको योगले आयुर्वेद बन्छ । शरीर इन्द्रिय मन र आत्माको संयोगलाई आयु भनिन्छ । आयु भनेको जीवन हो ।

हिन्दूशास्त्रअनुसार सामाजिक, सांस्कृतिक तथा मानसिक रूपमा स्वस्थ आयुसम्बन्धी ज्ञान दिने शास्त्रलाई आयुर्वेद भनिन्छ । शरीरका सबै अंग सुन्दर, स्वस्थ र सबल रहेर व्यक्तिगत, पारिवारिक, सामाजिक र मानसिक सबै पक्षमा आनन्दसाथ जीवनयापन गर्नु स्वस्थ आयु हो । स्वस्थ मानिसको स्वास्थ्यको रक्षा गर्नु र रोग लागेको अवस्थामा रोगको निवारण गर्नु आयुर्वेदको उद्देश्य हो । समष्टिगत रूपमा आयुर्वेदले मानवजातिको आयुमा बाधा पु¥याउने रोगका कारण, लक्षण र उपचार विधिको विस्तृत रूपले विवेचना गरेकोे छ ।

आयुर्वेदको इतिहास आयुर्वेदको रचनाकाल ईशापूर्व तीन हजारदेखि पाँच हजार वर्षपहिले भएको मान्यता छ । प्राचीन समयमा ऋषि अत्रेयले आयुर्वेदको विद्या आफ्ना ६ शिष्यलाई बाँडेका थिए भन्ने कथन छ । ती ६ शिष्यहरूमा– अग्निभेष, भेल, अतुकर्ण, पराशर, हारित र क्षारपाणि थिए । सुश्रुतसंहिताअनुसार भगवान् इन्द्रले आफूले प्राप्त गरेको आयुर्वेदको ज्ञान धनवन्तरीलाई दिएका थिए । अन्त्यमा धनवन्तरीले आयुर्वेदको ज्ञान आफ्ना सात शिष्य औषधेनव, वैतरण, उरभ, गोप्ररक्षित, पौषकलावत, करविर्य र सुश्रुतलाई दिएका थिए । कश्यपसंहिताअनुसार इन्द्रले आफूले प्राप्त गरेको आयुर्वेदको ज्ञान कश्यप वशिष्ठ भृगु अत्रीलाई दिएका थिए । यसरी विभिन्न कालखण्डमा आयुर्वेदको ज्ञान एकबाट अर्कोमा हस्तान्तरण हुँदै आएको धर्मग्रन्थमा उल्लेख छ ।

नेपालमा आयुर्वेद परम्परागत चिकित्सा पद्धति आयुर्वेदले जडीबुटी प्रयोग गरी गाउँघरमै विभिन्न रोगमा उपचार गरी स्वास्थ्य सेवा प्रदान गर्ने प्रचलन प्राचीन परम्परा हो । संवत् १७९० को दशकमा राजा रणजित मल्लले पादरीमार्फत पश्चिमा संसारमा लोकप्रिय बन्दै गरेको औषधि तथा आधुनिक चिकित्सा विधि नेपाल भित्र्याको मानिन्छ । त्यसताका नेपालमा ८० प्रतिशतभन्दा बढी मानिसले प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा आयुर्वेद चिकित्सा पद्धतिमार्फत जडीबुटीद्वारा उपचार गर्ने गर्थे । नेपालमा चार हजारभन्दा बढी प्रभावशाली जडीबुटी पाइन्छ । नेपालको माटो दल्दामात्रै शरीरको ७५ थरीका रोग निको हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् । विभिन्न हरिया वनस्पतिको धुवाँ सुँघाएर मात्रै १३ वटा रोग निको पार्न सकिन्छ ।

काठमाडौंको अनामनगरस्थित सिंहदरबार वैद्यखाना मुलुकको एक मात्र सरकारी आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्योग हो । उसले आयुर्वेदसँग सम्बन्धित सम्पूर्ण परामर्श निःशुल्क दिने गर्छ । वैद्यखानालाई व्यवस्थित बनाउन औषधि व्यवस्था विभाग, आयुर्वेदिक विभाग तथा उत्पादक संस्थाको महत्वपूर्ण भूमिका रहन्छ । वैद्यखानाका आयुर्वेदिक औषधिको माग बजारमा अत्यधिक भए पनि वैद्यखानाले पूर्ति गर्न सकेको छैन । आयुर्वेद औषधि उद्योग बढ्दै आयुर्वेदिक औषधिको बढ्दो मागसँगै स्वदेसी कम्पनीको संख्या पनि बढिरहेको छ ।

नेपालमा ८० आयुर्वेदिक औषधि कम्पनी
नेपालमा करिब ८० वटा आयुर्वेदिक औषधि कम्पनी उत्पादनका लागि दर्ता गरिसकेका छन् । यसमध्ये ४२ कम्पनीले आफ्नो उत्पादन बजारमा पठाएका छन् । केही वर्षअघिसम्म अधिकांश आयुर्वेदिक औषधि भारतबाट आयात हुन्थ्यो । तर, अहिले कुल मागको २५ प्रतिशत औषधि नेपाली कम्पनीबाटै उत्पादन हुन थालेको आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले बताए । शास्त्रीय प्रणाली (आयुर्वेदिक प्राचीन ग्रन्थमा दिइएको) बाट उत्पादित आयुर्वेदिक औषधिको माग नेपालमा मात्र नभई विश्व बजारमा समेत उच्च छ । तर, नेपाली कम्पनीले ठूलो मात्रामा औषधि उत्पादन गर्न सकेका छैनन । 

अन्तर्राष्ट्रिय क्षेत्रमा पनि माग बढ्दो 
अहिले पनि हामी आयुर्वेदिक औषधिका लागि भारतकै भर पर्नुपरेको छ । त्यसैले लगानीका लागि आयुर्वेद औषधि उत्पादन ठूलो सम्भावना रहेको छ । एलोपेथिकको तुलनामा आयुर्वेदिक औषधिको ‘साइड इफेक्ट’ कम हुने भएकाले पछिल्लो समय युरोप तथा अमेरिकी मुलुकमा समेत आयुर्वेदिक औषधिको प्रयोग बढ्दै गएको डा. ज्ञवालीको भनाइ छ । परम्परागत ढंगबाट सञ्चालन हुँदै आएका आयुर्वेदिक औषधि कम्पनीले पछिल्लो समय आधुनिक प्रणाली अपनाउन थालेसँगै विदेश निर्यात पनि बढेको छ । नेपालबाट युरोपका विभिन्न देशमा ३० भन्दा बढी प्रकारका जडीबुटीजन्य सुगन्धित तेल र जडीबुटीजन्य उत्पादन निर्यात भइरहेको छ । कच्चा पदार्थको कठिनाइ आयुर्वेदको तीन स्रोत रहेको छ । वनस्पतिजन्य, प्राणीजन्य र खनिजजन्य । नेपालमा स्थापित कतिपय आयुर्वेदिक औषधि उद्योगले अहिले पनि भारतबाट कच्चा पदार्थ ल्याउने गरेका छन् । उता, नेपालबाट भने ठूलो परिमाणमा जडीबुटी विदेश निर्यात भइरहेको छ । नेपालबाट सबैभन्दा बढी चीनमा जडीबुटी निर्यात हुने गरेको छ । नेपालमा आयुर्वेदिक औषधि उत्पादनका लागि आन्तरिक कच्चा पदार्थ जडीबुटी कति खपत हुन्छ भन्ने कुनै तथ्यांक न सरकारसँग छ न निजी क्षेत्रसँगै छ । नेपालमा जति जडीबुटी संकलन हुन्छ, त्यसको ९० प्रतिशत विदेश निर्यात हुने र बाँकी १० प्रतिशत मात्र नेपालमा खपत हुन्छ । नेपालबाट विदेश खासगरी भारत र चीनमा वार्षिक करिब सात हजार पाँच सय मेट्रिक टन निर्यात हुने गर्छ । निर्यात हुने जडीबुटी ६५ देखि ७० प्रकारका छन् । जसमध्ये २० प्रकारको जडीबुटी माग उच्च छ । स्वदेशी गुणस्तरीय जडीबुटी विदेश निर्यात हुने र विदेशी कमसल जडीबुटी स्वदेश भित्रने क्रम बढिरहेको छ ।

कच्चा पदार्थका लागि सरकारले के ग¥यो ?
आर्थिक वर्ष ०७३÷७४ को बजेटमा जडीबुटी एवं गैरकाष्ठ प्रजातिको उत्पादन, प्रशोधन र बजारीकरणका लागि पकेट क्षेत्र निर्धारण गरिने, कर्णालीलगायत विभिन्न भौगोलिक क्षेत्रमा पाइने टिमुर, लप्सी, लौठसल्ला, बोधिचित्त, रुद्राक्ष, तेजपात, अर्गेली, च्युरी, चिराइतो, श्रीखण्ड र मेन्थाजस्ता विशेष प्रकारका जडीबुटीको व्यावसायिक उत्पादन वृद्धि गर्न किसानलाई ज्ञान, सीप, प्रविधि र अनुदान उपलब्ध गराइने उल्लेख थियो । यी सबै कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन गरेको अर्थमन्त्रीले घोषणा गरेका थिए । तर, अझैसम्म कर्णालीमा जडीबुटी कुहिरहेका छन् । प्राकृतिक जडीबुटीको अत्यधिक दोहन भइरहेको छ । उदाहरणकै लागि हेर्ने हो भने यार्सागुम्बाको चोरी निकासी तथा अव्यवस्थित संकलनलाई हेर्न सकिन्छ । 

आयुर्वेदको विकासका लागि भन्दै सरकारले यस वर्ष योगमाया विदुषी आयुर्वेद विश्वविद्यलाय स्थापनाकोे काम अगाडि बढाउने, सातै प्रदेशमा केन्द्रीय स्तरको आयुर्वेद अस्पताल स्थापना गर्ने, सातै प्रदेशमा आयुर्वेद औषधालय अनुसन्धान केन्द्र स्थापना गर्नेलगायत कार्यक्रम समावेश गरेको छ । तर, काम भने कुनै पनि अघि बढेको छैन । आयुर्वेदको विकास र जडीबुटीको प्रवद्र्धन कागज र भाषणमा मात्र सीमित भइरहेको छ । जसबाट आयुर्वेद चिकित्सा क्षेत्रमा काम गरिरहेका निजी क्षेत्र समेतमा नैराश्य छाएको छ । देशबाट जडीबुटी अवैध रूपमा सस्तोमा बिदेसिन्छ र ती जडीबुटीबाटै बनेका औषधि महँगोमा विदेशबाट आयात गरी सेवन गर्न हामी बाध्य छौँ । सर्वसाधारणको आयुर्वेदप्रति चासो छ, तर सरकार, आयुर्वेद स्वास्थकर्मी, आयुर्वेदका क्षेत्रमा काम गर्ने संघसंस्था नागरिकको चाहनाबमोजिम आयुर्वेदको क्षेत्रलाई फराकिलो बनाउन सकिरहेका छैनन् । 

अन्त्यमा, आयुर्वेद उपचार आधुनिक चिकित्सा विज्ञानभन्दा फरक छ । सबै औषधि जडीबुटीबाट बनाइन्छ । हरेक रोगको उपचारमा प्रयोग हुने औषधि, रोगका कारण र बिरामीको अवस्थाअनुसार फरक–फरक हुन्छन् । त्यसैले कुनै पनि आयुर्वेदिक उपचारका लागि आयुर्वेदका डाक्टरलाई जचाएर मात्र उपचार गर्नुपर्ने द्रव्यगुण विज्ञान विशेषज्ञ प्रा.डा. श्याममणि अधिकारीले बताए । बजारमा पाइने तयारी आयुर्वेदिक औषधि आफूखुसी सेवन गर्नु हानिकारक हुने अधिकारीको जिकिर छ । त्यसैले जथाभावी आयुर्वेदिक नाम सुन्नेबित्तिकै औषधि सेवन नगरौँ । चिकित्सकको सल्लाहमा मात्र आयुर्वेदिक औषधि सेवन आयोग्य जीवनका लागि लाभदायक हुने प्रा.डा. अधिकारीको ठहर छ ।
 

Hamro Doctor
Last modified on 2019-12-31 13:17:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts