गाउँगाउँमा नागरिक आरोग्य कार्यक्रम



Download our app to get more features

काठमाडौं, १५ पुस । नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि एलोपेथिक चिकित्सकहरूले सर्वसाधारणलाई आग्रह गरिरहेका छन् । उनीहरूको आग्रहसँगै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले नागरिक आरोग्य कार्यक्रमसम्बन्धी निर्देशिका जारी गरेको छ । हुन त यो कार्यक्रम अघिल्लो वर्षदेखि नै लागू भइरहेको विभागले जनाएको छ । 

नसर्ने रोगबारे जनचेतना जगाउने तथा नसर्ने रोगबाट कसरी जोगिने भन्ने जानकारी आमनागरिकलाई दिन आरोग्य कार्यक्रम केन्द्रित रहेको विभागका वरिष्ठ कन्सल्टेन्ट आयुर्वेदविज्ञ डा. श्यामबाबु यादवले बताए । ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने मन्त्रका साथ कार्यक्रम अगाडि सारेको उनको भनाइ छ । यस कार्यक्रमअन्तर्गत नागरिकलाई स्थानीय तहमा रहेका जडीबुटीको प्रयोग कसरी गर्ने र जडीबुटी कसरी चिन्ने भनेर सिकाइन्छ । यादवका अनुसार सरसफाइ, आयुर्वेदिक जीवनशैली र खानपान, योग, ध्यानलगायत जानकारी पनि दिइनेछ । तालिमको माध्यमबाट यस्ता कुराको प्रचार गरिनेछ ।

कार्यक्रम प्रभावकारी बनाउन संघदेखि स्थानीय तह र आमा समूहसमेतलाई समावेश गरिएको छ । संघमा संघीय नागरिक आरोग्य समिति रहेको छ । यस्तै, प्रदेश, जिल्ला, पालिका र वडासम्म नागरिक आरोग्य समिति गठन भएका छन् । संघमा रहेको आरोग्य समितिमा विभागका महानिर्देशकको संयोजकत्व रहन्छ ।

कार्यक्रमका लागि संघमा पाँच लाख बजेट छुट्याइएको छ । स्थानीय तहमा यस कार्यक्रम सञ्चालनका लागि सम्बन्धित निकायले नै बजेटको व्यवस्था गर्ने विभागले जनाएको छ । संघले सातै प्रदेशमा कार्यक्रम सञ्चालन गरिसकेको छ । अब प्रदेशले जिल्ला जिल्लामा, जिल्लाले पालिका र पालिकाले वडावडामा कार्यक्रम सञ्चालन गर्दै जानेछन् । 

नागरिकलाई कसरी आरोग्य प्रदान गर्ने भनेर वा नसर्ने रोगबाट जोगिन सरकारले कार्यक्रम अघि सारेको हो । व्यक्तिलाई स्वस्थ राख्न कसरी खाने, कसरी सुत्ने, कुन बेला के खाने जस्ता जानकारी प्रदान गर्न सके उनीहरू निरोगी हुने डा. यादवले बताए । गाउँगाउँका, टोलटोलका नागरिकलाई कार्यक्रमले समेट्ने लक्ष्य लिएको छ । 

स्थानीय तहदेखि संघसम्म सहकार्य गर्दै सबै नागरिकलाई आरोग्य प्रदान गर्न समिति गठन गरेर कार्यक्रम लागू गरिएको हो । कार्यक्रमले होर्डिङ बोर्ड, पत्रपत्रिका, रेडियो, टेलिभिजनमा सूचना प्रवाह गरेर जानकारी गराउने जनाइएको छ । 
 

Last modified on 2020-01-13 12:10:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts