सप्ताहव्यापी योग दिवस सुरु, यस्ता छन् नियमित योगका फाइदा 



Download our app to get more features

काठमाडौं, २७ पुस । सरकारले पाचौं राष्ट्रिय योग दिवसको तयारी पुरा गरेको छ । हरेक वर्ष १ माघमा राष्ट्रिय योग दिवस मनाउदै आएको छ । यो वर्ष पनि ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइदै छ । यो वर्ष आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुले योग दिवसलाई सप्ताहाव्यापी रुपमा मनाउने भएको हो ।

आइतबार पत्रकार सम्मेलन गर्दै विभागका महानिर्देशक वासुदेव उपाध्ययले आइतबारबाटै योग दिवस सप्ताह सुरु भएको जानकारी दिए । उनले भने, ‘पहिलो दिन आज पत्रकारसँग योगका बारेमा छलफल गरिएको छ । यस्तै भोलिदेखि विभागका कर्मचारीलाई योग सिकाइने र जानकारीमूलक गतिविधि गरिनेछ ।

दीर्घरोग रोकथाममा महत्वपूर्ण योग
सन् २०३० सम्म प्रत्येक घरमा एक जना मानसिक रोगी हुने भन्दै त्यसको रोगथामका लागि योग आवश्यक रहेको उनले बताए । नेपालमा हाल नसर्ने रोगबाट ६२ प्रतिशतको मृत्यु हुन्छ भने सर्ने रोगबाट ३८ प्रतिशतको मृत्यु हुने उनले जानकारी दिए । सर्ने रोगबाट हुने मृत्युको कमी नियमित खोप तथा उपचारबाट सम्भव भयो । तर, नसर्ने रोगबाट हुने मृत्यु तथा समस्याको समाधानका लागि योग आवश्यक रहेको उनले बताए ।
 

योग गर्दा ध्यान दिनुपर्ने कुरा 
योग गर्दा आफ्नो शारीरिक अवस्थामा ध्यान दिन जरुरी छ । जो कसैले योग गर्दा सुरुमा आयुर्वेद चिकित्सक वा प्रशिक्षकसँग सल्लाह लिनु आवश्यक हुन्छ । शारीरिक रुपमा अशक्त, गर्भवती, उच्च रक्तचाप, मधुमेह, जोर्नी दुखाई जस्ता दीर्घरोग भएकाले योग गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । यस्ता मानिसले धेरै परिश्रम लगाएर गरिने योग, शरीर तात्ने खालका योग अभ्यासहरू गर्नु हँुदैन । यसले गर्दा मुटुमा प्रेसर पर्न जान्छ । तनाव लिएर योग गर्नु हुँदैन, किनभने तनावपूर्ण अवस्थामा योग अभ्यास गर्दा मासंपेशी दुख्ने, टाउको दुख्ने समस्या पनि देखा पर्न सक्छ । 

नियमित योगका फाइदा 

  • विभिन्न प्रकारका स्वास्थ्य समस्याहरुको दीर्घकालीन निराकरण र शरीर सन्तुलन हुने गर्छ । 
  • शरीरमा रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढाउँछ । 
  • शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । 
  • योगका आसन र ध्यानले जोर्नीको समस्या कम गर्छ 
  • तनावलाई हटाउँछ, राम्रो निन्द्रा लाग्ने र पाचन प्रक्रिया ठिक हुन्छ । 
  • ससाना बालबालिकालाई योग गराउँदा उनीहरूको दिमाग तिक्ष्ण हुने र शारीरिक रुपमा पनि स्वस्थ रहन्छन् । 
  • नियमित अभ्यासबाट कार्यक्षमतामा वृद्धि तथा शान्ति प्राप्ति हुन्छ ।
  • प्राणायाम गर्दा श्वासप्रश्वासको गति नियन्त्रण हुन्छ । 
  • ध्यानले एकाग्रता बढाउँछ, तनाव कम गराउँछ, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति गराउँछ । 
  • शरीर, मन र आत्माबीचको समन्वय, उर्जा प्राप्ति, आत्मज्ञान प्राप्ति लगायत सकारात्मक गुणको विकास हुन्छ । 
     
Last modified on 2020-01-13 12:03:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts